लाज पनि लजाउने सडककाे कथा
देशको राजधानीसम्म डोर्याउने नारायणगढ-मुग्लिन सडकमा वर्षात्सँगै आउने पहिरोले दैनिक हजारौं यात्रुलाई सास्ती मात्रै दिंदैन, लज्जित पनि बनाउँछ।
चार-पाँच दशकअघिसम्म पनि देशका अन्य भागबाट काठमाडौं जाँदा ‘नेपाल’ जाने भन्दै धूमधामसँग तयारी गर्थे। अहिले पनि देशको राजधानी जाने भन्दा उपत्यका बाहिरका बासिन्दा हुरुक्कै हुन्छन्।
पश्चिमी सीमान्त जिल्ला कञ्चनपुरको कृष्णपुरका इन्द्रबहादुर बोहरालाई पनि रात्रिबसमा चढ्दा काठमाडौं घुम्ने कौतूहलले उत्साहित बनाएको थियो। १८ घण्टाको यात्रापछि जसै दासढुंगा कटेर केही अघि बढेपछि एक्कासि रात्रिबस रोकियो। “पहिरो खसेर सडक बन्द भएछ, थप २० घण्टा त्यहीं रोकिएँ,” बोहरा गुनासो गर्छन्, “अहिले त बझाङ-बाजुरा, कर्णाली जाने सडकमा पनि यसरी रोकिनु पर्दैन, अस्ति सरर रारा ताल घुमेर आएँ। राजधानी जाने सडक त खत्तमै रहेछ।”
उनलाई मात्रै होइन, बर्दियाको भुरीगाउँका वीरेन्द्र शाहीलाई पनि त्यस्तै दिकदार लाग्यो। कतारका लागि भिसा लगाउन काठमाडौं आउँदै गरेका उनले १५ घण्टा नारायणगढ-मुग्लिन राजमार्गको केराबारी क्षेत्रमै बिताउनुपर्यो। “रातभर बसमै बस्दा त यतैबाट घर फर्कूं जस्तो लाग्यो। काठमाडौं जाने सडक पनि किन राम्रोसँग नबनाएका होलान?” उनी प्रश्न गर्छन्।
भरतपुर महानगरपालिका-२९, केराबारी क्षेत्रको मौरी खोलामा साउन १६ गते राति पहिरो जाँदा २२ घण्टा सडक अवरुद्ध भयो। इन्द्रबहादुर र वीरेन्द्र जस्तै हजारौं यात्रुले नारायणगढ-मुग्लिन सडकमै रात बिताउनुपर्यो। काठमाडौं बाहिरका नेपाली मात्रै होइन, विदेशी नागरिक पनि यहीं बाटो राजधानी पुग्छन्। भारतीयसँगै अन्य देशका पर्यटक पश्चिमी नाका भएर आउँदा काठमाडौं पुग्न यही बाटो रोज्छन्। उनीहरूले पनि सडकमै रात बिताए।
मौरी खोला क्षेत्रमा खसेको त्यस दिनको पहिरोले यस वर्ष अहिलेसम्म लामो समय सवारी आवागमन ठप्प भएको सडक डिभिजन कार्यालय, भरतपुरका इन्जिनीयर सागर कार्की बताउँछन्। त्यस राति पहिरोले मौरी खोलामा रहेका पुरानो र नयाँ दुवै पुल पुरेको थियो। “ठूलो पहिरो थियो, तलपट्टिको भागबाट खोलेर हटाउने काम भइरहँदा माथिबाट फेरि लेदो झर्थ्यो। पहिरो हटाउनै २२ घण्टा लाग्यो,” इन्जिनीयर कार्की भन्छन्।
मुश्किलले पहिरो पन्छाएर साउन १८ गते साँझबाट गाडी चल्न के थालेका थिए, फेरि राति २ बजे पहिरो खस्यो। काठमाडौं भित्रिने र बाहिरिने हजारौं यात्रुले पहिरोको वल्लो र पल्लो छेउमै रात बिताउनुपर्यो।
त्यसपछि ट्राफिक प्रहरीको इशारामा गाडी ओहोरदोहार गर्न थालेको तीन दिन मात्रै के भएको थियो, साउन २३ गते साँझ फेरि पहिरो खस्यो। साँझ ५ बजे खसेको पहिरोले यात्रुलाई रातभर सडकमा बस्न बाध्य बनायो।
“यो वर्ष मौरी खोला क्षेत्रमै धेरै पहिरो झरिरहेको छ,” कार्की भन्छन्। पहिरो झर्नासाथ तत्काल पन्छाउन सकियोस् भनेर तीन वटा मशिन मौरी खोला पुल क्षेत्रमा तयारी अवस्थामा राखिएको उनी बताउँछन्।
यसअघि २०५७ सालमा पनि यो क्षेत्रमा यसै गरी पहिरो झरेको थियो। सडकको केही भाग समेत बगेको थियो। त्यति वेला गरिएको रोकथामको कार्यले यो वर्ष भने पहिरो रोक्न सकेन। वर्षासँगै माथिबाट पानी र हिलो बग्दै आउँदा ठूलो पहिरो खसेको उनी बताउँछन्। “माथिबाट अझै ठूलो हिस्सा बगेर आउने सम्भावना देखिन्छ। पानी परेसँगै पहिरोको समस्या आउने जस्तो छ,” इन्जिनीयर कार्की भन्छन्।
मौरी पुलसँगै मुग्लिनदेखि करीब चार किलोमिटर वरको नाम्सी पुलमा पनि पहिरो खसेको छ, अझै खस्ने क्रम रोकिएको छैन। नारायणगढ-मुग्लिन सडकका अन्य ठाउँमा पनि पहिरो खसेको छ।
यस वर्ष जेठबाटै पहिरो झर्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख धर्मराज अधिकारी बताउँछन्। “जेठमै पनि पहिरोले एक दिनजसो सवारी आवागमन रोकिएको थियो,” अधिकारी भन्छन्, “साउन १६ गते मौरी खोलाको पहिरोले २२ घण्टा बाटो अवरोध भयो। त्यसयता त्यही ठाउँमा चार पटक पहिरो खसेर बाटो अवरुद्ध भएको छ।”
पहिरोकै कारण नारायणगढ-मुग्लिन सडकखण्डको नौ किलोमा ट्राफिक पोस्ट थप गरिएको उनी बताउँछन्। यो सडक ३७ किलोमिटर छ। पहिरोले सडक अवरुद्ध हुने गरेका कारण ट्राफिक व्यवस्थापनका लागि नारायणगढदेखि मौवा खोलासम्म तीन ठाउँमा पोस्ट राखिएका थिए। अहिले नौ किलोमा पनि पोस्ट थपिएको छ।
कतै प्राकृतिक रूपमा पहिरो खसेको छ भने कतै कृत्रिम। जस्तो- मौरी खोलाको पहिरो प्राकृतिक कारणले गएको हो भने नाम्सी पुल क्षेत्रमा पुल विस्तारका क्रममा पहिरो गएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनीयर शिव खनाल बताउँछन्। “पुल विस्तारका लागि भित्ता काट्दा र खन्दा नाम्सी खोलामा पहिरो खसेको छ, खस्ने क्रममा जारी छ,” खनाल भन्छन्।
एउटै काम पटक पटक गर्दा पहिरो
चीन सरकारको सहयोगमा गोरखा-नारायणगढ सडकका रूपमा २०३६ सालमा नारायणगढ-मुग्लिन सडक बनाइएको थियो। बढ्दो सवारी चाप अनुसार, सडक साँघुरो भएपछि विस्तारको योजना आयो। दुई वर्षमा काम सक्ने गरी नारायणगढ-मुग्लिन सडक आयोजना मार्फत २०७१ चैतमा सडक विस्तारको सम्झौता भएको थियो। १५ महीना ढिलो गरी विस्तार भएको सडक नौ मिटरदेखि ११ मिटर फराकिलो बनाइएको छ।
सडक विस्तारका क्रममा दुर्घटना न्यूनीकरण गर्न पुलका नजिक ‘रम्बल स्ट्रिप’, नदी किनारमा ‘सेफ्टी ब्यारिएर’, ‘डब्लू-बिम’, ‘मेटल क्य्रास ब्यारियर’, ‘न्यू जर्सी कंक्रिट क्य्रास ब्यारियर’ राखिएका थिए। सडक किनार तथा मध्य भागमा राखिएका ‘क्याट आइज’ले सुरक्षासँगै सडकको सौन्दर्य बढाएका थिए।
अझ बरन्डाभार क्षेत्रमा पर्ने सडकमा वन्यजन्तुलाई वारपार गर्न चार वटा ‘अन्डर पास’ निर्माण गरिएका छन्। विस्तारपछि सडकको स्वरूप मात्रै फेरिएको थिएन, यात्रा पनि सहज हुन थालेको थियो। घण्टौं लाग्ने यात्रा ४० मिनेटमा छोटिएको थियो।
सडक विस्तार त भयो, तर त्यही सडकखण्डमा रहेका पुल विस्तार गरिएन। अहिले पुल विस्तारको काम भइरहेको छ। सडक र पुल एकै पटक विस्तार नहुँदा पनि अहिले पहिरोको समस्या आएको इन्जिनीयर खनाल बताउँछन्। “सडक र पुल एउटै आयोजनामा हुन्थ्यो र एउटै समयमा बनाउन पाएको भए समस्या एकै पटक भोग्नुपर्थ्यो,” उनी भन्छन्।
सडक विस्तार शुरू हुँदा ऋण सम्झौता, बजेटको सीमा लगायतको कारणले पुलका लागि बजेटको व्यवस्था नभएको उनी बताउँछन्। जब सडक विस्तार भयो त्यसपछि विश्व ब्यांकले पुल विस्तारमा चासो देखायो र पुल विस्तार शुरू भयो।
यो सडकखण्डमा रहेका १९ पुलमध्ये दासढुंगा, खानी, मौरी र जलबिरे खोला गरी चार वटा विस्तारको काम सकिएको छ। अहिले १४ वटा पुल निर्माणका क्रममा छन्। बाँकी एउटा पुल निर्माण शुरू हुने प्रक्रियामा छ। कतिपय पुल भित्तामा जोडिएकाले पुल विस्तारका लागि पहाड काट्दा पहिरोको जोखिम बढेको हो।
हरेक वर्षात्मा नयाँ ठाउँमा जोखिम
मनसुन भित्रिएयता मौरी र नाम्सी खोलामा पहिरो धेरै खसेको छ। यी दुवै ठाउँमा नयाँ हुन्। “अघिल्लो वर्ष सेती दोभानमा पहिरो खसेको थियो, त्यहाँ पहिरो रोकथामका काम गर्यौं। त्यहाँ यो वर्ष देखिएन,” इन्जिनीयर खनाल भन्छन्, “हरेक वर्ष नयाँ नयाँ जस्तै ठाउँले दुःख दिइरहेको छ।”
तीन वर्षअघि चार किलो क्षेत्रमा पहिरोले दुःख दिएको थियो। लगातार दुई दिन जसो सडक ठप्प भएको थियो। अहिले पहिरोको जोखिम भएका मुख्य सात ठाउँ देखिएको उनी बताउँछन्। जसमा सेती दोभान, मौरी खोला, जलबिरे क्षेत्र, पाँच किलो, चार किलो, नाम्सी खोला र कालि खोला क्षेत्र हुन्।
यसअघि सडक विस्तारका क्रममा नारायणगढ-मुग्लिन सडक आयोजनाले पहिरोको जोखिम भएका ३२ वटा ठाउँ पहिचान गरेको थियो। विज्ञहरूले गरेको अध्ययनबाट प्राप्त सुझावका आधारमा ती स्थानमा पहिरो रोकथामको उपाय समेत अवलम्बन गरिएको थियो। ती ठाउँमा ‘रक एंकरिङ’, ‘रक नेटिङ’, ‘रक बोल्टिङ’, ‘जुट नेटिङ’ र ‘बायो इन्जिनीयरिङ’ को काम गरिएको थियो।
रोकथामका यस्ता उपाय अपनाइएको केही स्थानमा पहिरो खसेको छैन। तर, नयाँ ठाउँमा पहिरो झर्न थालेको छ। हरेक वर्षजसो पहिरो खस्ने ठाउँ फेरिएको छ। एकदमै कमजोर किसिमको भौगोलिक बनावटका कारण यो सडकखण्डमा वर्षात्को समयमा पहिरोको धेरै जोखिम देखिएको छ। सडक छेउसँग जोडिएको पहाडमा सामान्य वर्षा हुँदा पनि पहिरो झर्छ।
पछिल्लो समय सडक विस्तारले पनि पहिरो निम्त्याइरहेको छ। यो सडकखण्डमा पहिरोको नियमित समस्या भए पनि सडक विस्तार गर्न भित्ता काटिंदा थप समस्या भएको इन्जिनीयर खनाल बताउँछन्। उनी भन्छन्, “पहिलेको तथ्याङ्क हेर्दा सधैं भोग्ने समस्या भए पनि सडक विस्तार गर्न भित्ताको भाग काटिंदा अलि धेरै समस्या भएको हो।”
सडक विस्तारका क्रममा आधाभन्दा बढी सडक पहाड फोडेरै फराकिलो बनाइएको थियो। यसले पनि थिग्रिएको जमीनलाई खलबल्याएको र पहिरोको जोखिम बढेको विज्ञहरूको भनाइ छ।
कसरी गर्ने रोकथाम?
फेरि पहिरोको जोखिम बढेपछि सडक डिभिजन कार्यालय, भरतपुरले पाँच वटा मशिन तयारी अवस्थामा राखेको छ। लोडर, एक्साभेटर सडकमै तैनाथ गरिएको डिभिजन कार्यालयका इन्जिनीयर कार्की बताउँछन्। “पहिरो पन्छाउने काम प्राथमिकतामा राखेका छौं। त्यसका लागि साधन पनि छन्। कहिलेकाहीं धेरै ठाउँमा पहिरो जाँदा व्यवसायीका साधन लिएर पनि काम गर्छौं,” उनी भन्छन्।
पहिरो पन्छाएर तत्काल समस्या समाधान गरिए पनि दीर्घकालीन रूपमा समाधान गर्न चुनौती रहेको नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनीयर खनालको अनुभव छ। कतिपय ठाउँमा रोकथामका उपाय अपनाइए पनि सबै ठाउँमा सम्भव नभएको उनी बताउँछन्। “मानवीय शक्ति र स्रोतसाधनले रोकथाम गर्नै नसक्ने ठाउँहरू छन्। कृष्णभीरमा जस्तो बायो-इन्जिनीयरिङ प्रविधि पनि प्रयोग गर्न नसकिने ठाउँ छन्,” उनी भन्छन्।
कतिपय ठाउँमा पहिरो पन्छाउनु बाहेक अर्को विकल्प नभएको इन्जिनीयर खनाल बताउँछन्। यसका लािग उनी मौरी पुलको उदाहरण दिन्छन्। खनाल भन्छन्, “मौरी पुल भएको ठाउँको माटो बगेर गएपछि ‘स्टेबल स्लोप’ बन्छ। त्यसपछि मात्र नापजाँच गरेर रोकथामका उपाय अपनाउन सकिन्छ,” उनी भन्छन्, “पहिरो पूरै नियन्त्रण गर्ने प्रविधि छैन।”
जति पहिरो खस्छ, त्यसलाई सफा गर्ने र जतिसक्दो छिटो सडक खुलाउने काम गर्नुपर्ने उनको भनाइ छ। यससँगै पहिरोबाट जोगाउन सडक नियमित मर्मतसम्भारका काम गरिराख्नुपर्ने उनको अनुभव छ।