सेनाको संख्यालाई निरपेक्षतामा नहेरौं: रक्षामन्त्री
रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाको संख्यालाई निरपेक्षतामा हेर्न नहुने धारणा राखेका छन्।
सांसदहरूले सेनाको संख्या घटाउन प्रस्ताव गरेपछि बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो धारणा राखेका हुन्।
मन्त्री खड्काले भने, “संविधान तथा अन्य कानूनले सुम्पिएको जिम्मेवारी, नेपाल सरकारले समय समयमा तोकिएका जिम्मेवारी, अन्तर्राष्ट्रिय रूपमा शान्ति स्थापना गर्ने कार्य लगायत विभिन्न कार्यजिम्मेवारीको आधारमा निर्धारण हुने भएकाले नेपाली सेनाको संख्यालाई उल्लिखित विषयको सापेक्षतामा हेरिनुपर्छ।”
कुनै पनि देशको सेनाको संख्या त्यस देशको भौगोलिक अवस्था, राष्ट्रिय आवश्यकता, अन्तर्राष्ट्रिय परिवेश र मुलुकको आवश्यकता अनुसार निर्धारण हुने उनको भनाइ थियो।
नेपाली सेनामा कुल ९६ हजार ४७७ दरबन्दी रहेकोमा ८१ हजार २७७ सेना कार्यरत छन्। शान्ति सेना, तालीम, आयोजना, विपद् आदिमा ४० हजार २०७ र अपरेशन, ड्युटी लगायतमा ४१ हजार ७० खटिएका छन्।