सैनिक संख्या घटाउन पूर्व परराष्ट्रमन्त्रीको प्रस्ताव
पूर्व परराष्ट्रमन्त्री एवं राष्ट्रिय सभाका सांसद विमला राई पौड्यालले नेपाली सेनाको संख्या पुनरावलोकन गर्दै खर्च कटौतीको प्रस्ताव राखेकी छन्।
सरकारले ल्याएको बजेटमाथि असार २६ मा राष्ट्रिय सभाको बैठकमा बोल्दै पौड्यालले मुलुकभित्र लडाइँ नभएको र बाह्य शक्तिसँग जुध्ने क्षमता पनि नभएको भन्दै सैनिक संख्या कटौती गरेर मुलुकको ढुकुटी बचाउनुपर्ने धारणा राखेकी हुन्।
“देशभित्र लडाइँ छैन, छिमेकीबाट लडाइँ हुने सम्भावना पनि देखिंदैन,” उनले भनिन्, “भइहाले पनि टिक्न सक्ने अवस्था देखिंदैन। ८०/९० हजार सेना चाहिने कि नचाहिने?”
सैनिक संख्यामा पुनरावलोकन गर्नुपर्ने विषय राजनीतिक तहबाट वेलावेला उठ्ने गरे पनि सेनाले असन्तुष्टि जनाएपछि बहसमा नआई सेलाउने गरेको छ। माओवादीको सशस्त्र विद्रोहको वेला सेनाको संख्या दोब्बरभन्दा बढीले बढोत्तरी भएर करीब एक लाख पुगेको छ। माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछिको एक दशक सैनिक संख्या कटौतीको विषय उठे पनि बिस्तारै साम्य भएको थियो।
यस्तो स्थितिमा पूर्व परराष्ट्रमन्त्रीले सैनिक संख्यामा समीक्षा गरेर खर्च कटौती गर्नुपर्ने बताएकी हुन्। संख्या ठूलो भए पनि हतियार लगायतका बन्दोबस्तीका सामान सोही अनुसार नहुँदा फौज चुस्त नभएको सैनिक अधिकारीहरूले नै बताउँदै आएका छन्।
सांसद पौड्यालले त रक्षा मन्त्रालयमा विदेशी स्वार्थमा तालीम, भ्रमण बाक्लो हुने गरेको गम्भीर आरोप समेत लगाइन्।
“रक्षा मन्त्रालयमा विदेशको सहयोगमा तालीम भ्रमण प्रशस्तै हुन्छ। विदेशको स्वार्थ कति पसेको छ भन्ने त मैले ४२ दिन मन्त्री हुँदा नै थाहा पाएकी हुँ,” उनले भनिन्, “आफ्नो देशको स्वार्थ रक्षा गर्न नसक्ने रक्षा मन्त्रालयलाई यति धेरै सेना चाहिन्छ कि चाहिंदैन, पुनरावलोकन गरौं।”