क्रेडिट रेटिङबारे अनुसन्धान थाती राखेर घोराही सिमेन्टको आईपीओको प्रक्रिया खोलियो
नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्राथमिक शेयरको निष्कासन (आईपीओ) प्रक्रिया खोलेको छ।
बोर्डले बुधबार विज्ञप्ति जारी गरेर असार ४ मा रोकिएको घोराही सिमेन्टको आईपीओको प्रक्रियालाई खोल्ने निर्णय गरिएको जनाएको छ। घोराही सिमेन्टको आईपीओमा भएको चलखेलको अनुसन्धान टुङ्गोमा नपुर्याउँदै बोर्डले आईपीओको प्रक्रियालाई अघि बढाउन अनुमति दिएको हो।
यसअघि असार ४ मा बोर्डले क्रेडिट रेटिङमा स्वार्थको द्वन्द्व रहेको तथा शेयरमा आकर्षण देखाउन फर्जी आवेदन परेको भनी आईपीओको प्रक्रिया रोकेको थियो। तर, बोर्डले क्रेडिट रेटिङमा स्वार्थको द्वन्द्व भएको हो वा होइन भन्ने निर्क्योल नगरीकनै आईपीओको प्रक्रिया अघि बढाएको हो।
बोर्डका अध्यक्ष रमेशकुमार हमाल विदेश जानुअघि बोर्डले यस्तो निर्णय गरेको हो। हमाल बुधबार बिहान अमेरिकाका लागि उडेका छन्। उनी क्यानाडामा हुने सम्पत्ति शुद्धीकरण नियन्त्रण सम्बन्धी कार्यक्रममा भाग लिन अमेरिका हुँदै त्यता गएका हुन्।
बोर्डका प्रवक्ता मुक्तिनारायण श्रेष्ठले क्रेडिट रेटिङको विषय छानबिनको क्रममा रहेको बताए। “घोराही सिमेन्टको रेटिङका विषयमा बोर्डमा छुट्टै अनुसन्धान जारी रहेकाले अहिले निर्णयमा राख्नु परेन,” श्रेष्ठले भने।
बोर्डले घोराही सिमेन्टका लागि शेयर निष्कासनको समय पनि थपिदिएको छ। यसअघि असार ४ मा घोराही सिमेन्टको आवेदनको मिति समाप्त भए पनि सिमेन्टले आवेदनका लागि थप तीन दिनको समय माग गरेको थियो। धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ ले माग अनुसारको धितोपत्र बिक्री नभएमा बढीमा १५ दिनको समय दिन सक्ने व्यवस्था गरे अनुरूप आवेदन दिने समय तीन दिन थप गरिएको र यसमा पनि माग अनुसारको शेयरको आवेदन नपरेमा एक साता समय थप गरिदिने निर्णय भएको बोर्डले जनाएको छ।
बोर्डले घोराही सिमेन्टमा यसअघि सी-आस्वा प्रणालीबाट आवेदन गरेका आवेदकले दिएको आवेदन फिर्ता लिन, थपघट गर्न वा खारेज गर्न दिने व्यवस्था पनि गरिएको जनाएको छ। यो निर्णय अनुसार यसअघि आवेदन दिएका आवेदकले अब आफ्नो आवेदन फिर्ता गरेर रकम ब्यांक खातामा लिन पाउनेछन्। आवेदन थपघट वा फिर्ता गर्न तीन दिनको समय दिइने उल्लेख छ। आवेदकको तीन अर्ब ६१ करोड रुपैयाँ ब्यांकमा होल्ड भएको र २९ करोड ४६ लाख ७८ हजार रुपैयाँ सिमेन्ट कम्पनीको खातामा ट्रान्सफर भइसकेको छ।
बोर्डले ब्यांक खातामा पर्याप्त रकम नहुँदानहुँदै पनि सर्वसाधारणलाई भ्रमित पार्ने उद्देश्यले ठूलो कित्ता शेयर खरीद गर्ने आवेदकहरू घोराही सिमेन्ट, निष्कासक तथा बिक्री प्रबन्धकसँग सम्बन्धित नरहेको जनाएको छ। यस सम्बन्धमा छानबिन गर्न गठित समितिले यस्तो फर्जी आवेदन गर्नेहरू सिमेन्ट कम्पनी तथा अन्य सम्बन्धित संस्थासँग सम्बन्धित नरहेको फेला परेको दाबी गरिएको छ। यद्यपि, यस्ता आवेदकका विषयमा जालसाजी सम्बन्धी थप छानबिन गर्न नेपाल प्रहरीलाई सिफारिश गरिएको बोर्डले जनाएको छ।
त्यसैगरी, आईपीओका लागि मागेभन्दा पनि बढी आवेदन परिसक्दा समेत समय थप गरिएको विषयमा पनि थप छानबिन गर्ने बोर्डले जनाएको छ। एनआईसी एशिया ब्यांकले आवेदकको खातामा पर्याप्त रकम नहुँदानहुँदै पनि कसरी आवेदन स्वीकृत गरेको हो भन्ने विषयमा पनि छानबिन गरी आवश्यक कारबाही अघि बढाउने बोर्डले दाबी गरेको छ।