ललिता निवास जग्गा कीर्तेमा थप तीन जना पक्राउ
नक्कली कागजात तयार गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप तीन जनालाई पक्राउ गरेको छ।
ललिता निवास प्रकरणमा बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई प्रक्राउ गरिएको सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिइन्। महर्जन नक्कली मोही हुन् भने भट्टराई काठमाडौं महानगरपालिकाको तत्कालीन वडा नम्बर ४ का सचिव हुन्। उनी अहिले महानगरको अधिकृत छन्। भट्टराईले कीर्ते सर्जमिन मुचुल्का तयार गर्न भूमिका खेलेको आरोप छ।
कार्की २०६७ सालमा नापी कार्यालयका कर्मचारी थिए। कार्कीले बालुवाटारको विशिष्ट व्यक्तिको निवास विस्तारका क्रममा सरकारी जग्गा नरहेको सिफारिश गरेका थिए। २०६६ र २०६७ सालमा बालुवाटार गुरुयोजना अन्तर्गत बाटो विस्तारको योजना पारित भएको थियो।
यसअघि असार १२ मा प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह सहित सात जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये तीन जना सर्वोच्च अदालतबाट पहिल्यै लिएको आदेशका कारण छुटेका थिए। बाँकीले पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका छन्।
ललिता निवासको १४३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिका नाममा पास गरिएको भन्दै सीआईबीले फेरि अनुसन्धान शुरू गरेको हो।