प्रधानमन्त्रीलाई प्रश्न- ललिता निवासमा पूर्व प्रधानमन्त्रीलाई किन कारबाही भएन?
ललिता निवास काण्डमा पूर्व प्रधानमन्त्रीहरूलाई कारबाही नभएको विषयमा सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास काण्डमा प्रधानमन्त्री दाहाललाई प्रश्न गरेका हुन्। प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा बोल्दै ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने अभियुक्तलाई पक्राउ गर्न थालिएको बताएका थिए।
त्यसका सांसद सुवालले प्रश्न गरेका हुन्। उनले ललिता निवास काण्डमा ‘हाई प्रोफाइल’ व्यक्तिलाई बचाउन खोजिएको आरोप लगाए।
सांसद सुवालले प्रधानमन्त्रीलाई प्रश्न गरे, “ललिता निवास काण्डमा त्यति वेलाका तीन जना प्रधानमन्त्री र तीन जना अर्थमन्त्री जोडिएका छन्। उनीहरूलाई किन कारबाही भएन?”
ललिता निवास काण्डमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह लगायत ६ जनालाई पक्राउ गरेको छ।
प्रधानमन्त्री दाहालले भ्रष्टाचारमा संलग्न कुनै व्यक्तिलाई पनि नछोडिने बताएका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणबाट यसको शुरूआत भएको उनको भनाइ थियो।