‘हाई प्रोफाइल’ लाई जेल पठाउने प्रक्रिया यतिमै रोकिनेछैन: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारमा संलग्न जुनसुकै व्यक्तिलाई पनि कानूनको कठघरामा ल्याउने प्रक्रिया नरोकिने बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री दाहालले ‘हाई प्रोफाइल’ लाई कारबाही हुँदैन भन्ने मनोविज्ञान चिर्न सरकारले काम गरिरहेको बताए। “जनतामा ‘हाई प्रोफाइल’ लाई केही हुँदैन भन्ने मनोविज्ञान बनिरहेको छ। यसले जनतामा आक्रोश जगाइरहेको थियो,” प्रधानमन्त्री दाहालले भने, “यसलाई चिर्न सरकारले काम गरिरहेको छ, नक्कली भूटानी शरणार्थी प्रकरण यसको उदाहरण हो।”
उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफल अनुसन्धान भएको जिकिर गरे। “नक्कली भूटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान भएको छ, ‘हाई प्रोफाइल’ जेल गएका छन्,” प्रधानमन्त्री दाहालले भने, “यो प्रक्रिया यतिमै रोकिनेछैन। निरन्तर अगाडि बढ्नेछ।”
यसैको अर्को प्रयासका रूपमा ललित निवास काण्डमा अभियुक्तहरू पक्राउ पर्न थालेको उनको भनाइ थियो। “ललिता निवास काण्डका अभियुक्त पक्राउ पर्न थालेका छन्,” प्रधानमन्त्री दाहालले भने, “मिटरब्याजीलाई पक्राउ गर्ने र मुद्दा चलाउने प्रक्रिया शुरू भएको छ।”
सुशासनका लागि सरकारले अघि बढाएका काम नरोकिने उनको भनाइ थियो। “कुनै पनि मूल्यमा विकृति विरुद्धको लडाइँ अगाडि बढाइनेछ,” प्रधानमन्त्री दाहालले भने, “लोकतन्त्रसँग आफ्ना कमजोरी सच्याउने तागत रहन्छ भन्ने पुष्टि गरिनेछ।”