सेनाको संख्या घटाउन आवश्यक छैन: रक्षामन्त्री खड्का
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या घटाउन आवश्यक नरहेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिंदै मन्त्री खड्काले सेनाको संख्या अहिलेको अवस्थामा ठीकै रहेको जिकिर गरे। नेपाली सेना संविधानप्रति प्रतिबद्ध रहेको र धेरै जिम्मेवारी निर्वाह गरिरहेको उनको भनाइ थियो।
“संविधानप्रति प्रतिबद्ध नेपाली सेनाको संगठन रहने हाम्रो संवैधानिक व्यवस्था र प्रावधान रहेको व्यहोरा अवगत नै छ,” मन्त्री खड्काले भने, “त्यसैले हाम्रो नेपाली सेनाको संख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहुप्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु।”
मन्त्री खड्काले बदलिंदो सुरक्षा परिवेशलाई हेरेर राष्ट्रिय सुरक्षा नीति बनाउनुपर्नेमा जोड दिए। “हाम्रो राष्ट्रिय सुरक्षा नीतिको विषयमा प्रश्न उठेको छ। त्यस सन्दर्भमा विश्वको बदलिंदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आआफ्नै किसिमका सुरक्षा चुनौती तथा खतराको सामना गर्नुपरिरहेको छ,” खड्काले भने, “बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतङ्कवाद, आर्थिक सङ्कट, महामारी लगायत सुरक्षा चुनौतीहरूले मानव जीवनमा नै कठिनाइ निम्त्याइरहेका अवस्थाहरू छन्।’
यसलाई ध्यानमा राखेर सुरक्षा नीति निर्माण गरिने उनले बताए।