नेपाल साफ च्याम्पियनशिपबाट पनि बाहिरियो
एक खेल बाँकी छँदै नेपाल साफ च्याम्पियनशिप फूटबल प्रतियोगिताबाट बाहिरिएको छ।
शनिबार राति भारतसँग पराजित हुँदै नेपाल साफ च्याम्पियनशिपबाट पनि बाहिरिएको हो। भारतले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको छ।
ब्याङ्लोरस्थित श्री कान्तिरभा रङ्गशालामा पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको हो। खेलको ६१औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गरेका थिए।
त्यसको नौ मिनेटपछि नोरेम महेश सिंहले भारतका लागि गोल थपेका थिए। त्यससपछि नेपालले प्रयास गरे पनि गोल गर्न सकेन।
यो जितसँगै भारतको ६ अंक भएको छ। त्यस्तै, दुई खेल जितेको कुवेतको पनि ६ अंक छ। दुवै टोली सेमिफाइनलमा पुगेका छन्।
नेपाल र पाकिस्तानले दुवै खेल हारेका छन्। दुवै टोलीले अंक बटुल्न सकेका छैनन्। दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन्।
लिग चरणको अन्तिम खेलमा मंगलबार नेपाल र पाकिस्तान प्रतिस्पर्धा गर्नेछ।
यसअघि आजै भएको आईसीसी विश्वकप छनोट खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो। नेदरल्यान्डस्सँग सात विकेटले पराजित भएको थियो।