नेपालको विश्वकप यात्रा टुङ्गियो, नेदरल्यान्ड्सँग बिर्सनलायक प्रदर्शन
नेदरल्यान्ड्ससँग नराम्ररी पराजित भएसँगै नेपालको आईसीसी विश्वकपको यात्रा टुङ्गिएको छ।
जिम्बावेको हरारेमा भएको आईसीसी विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको छ। नेपालले दिएको १६८ रनको झिनो लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर सजिलै पूरा गरेको छ।
नेदरल्यान्ड्सका लागि म्याक्स उडले ९० रन प्रहार गरे। गुल्सन झाले बोल्ड गर्नुअघि उनले आठ चौका र चार छक्का प्रहार गरे। त्यस्तै, नेदरल्यान्ड्सका लागि बास डे लिडले ४१ र विक्रमजित सिंहले ३० रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले दुई र गुल्सन झाले एक विकेट लिए।
यसअघि टस हारे ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्रै बनाउन सक्यो। कुनै पनि ब्याटरले राम्रो साझेदारी गर्न सकेनन्।
आसिफ शेख शून्यमा आउट भए भने त्यसपछि २७ रन बनाएर कुशल भुर्तेल बाहिरिए। तेस्रो विकेटका रूपमा आरिफ शेख ६ रन बनाएर आउट हुँदा भीम सार्कीले २२ रन मात्रै जोड्न सके।
कुशल मल्ल १२ रनमा आउट भए भने दीपेन्द्रसिंह ऐरीले १४ रन जोडे। त्यसपछि कप्तान रोहित पौडेल ३३ रन बनाएर बाहिरिए भने गुल्सन झाले १५ रन जोडे। करण केसी एक रन बनाएर आउट भए भने सन्दीप लामिछानेले २७ रन जोडे।
नेदरल्यान्ड्सका लागि लगन भान बीकले चार, बास डे लीड र विक्रमजित सिंहले दुई-दुई तथा क्लिटन फ्लोयड र आर्यन दुत्तले एक-एक विकेट लिए।
समूह ‘ए’ बाट वेस्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्स ‘सुपर-६’ मा पुगेका छन्। नेपाल र अमेरिका लिग चरणबाटै बाहिरिएका छन्।