सलमान रुश्दीलाई प्रसिद्ध जर्मन पुरस्कार
जर्मन बूक ट्रेडले प्रदान गर्ने यस वर्षको प्रसिद्ध शान्ति पुरस्कार लेखक सलमान रुश्दीले पाउने भएका छन्।
मिडनाइट्स चिल्ड्रेनका लेखक रुश्दीलाई यस वर्षको साहित्यिक पुरस्कार प्रदान गर्ने निर्णय भएको बूक ट्रेडले जनाएको छ। लेखक रुश्दी निरन्तर खतराको सामना गर्ने दृढ सङ्कल्प सहित साहित्यिक कर्म र सकारात्मक मनोवृत्तिको उत्थानमा क्रियाशील भएकाले पुरस्कार प्रदान गरिने लागेको जनाइएको छ।
‘द पीस प्राइज’ प्रदान गर्ने जर्मन बूक ट्रेडले अमेरिकामा बस्दै आएका बेलायती उपन्यासकार रुश्दीलाई आउँदो अक्टोबरमा एक समारोहबीच पुरस्कार प्रदान गर्नेछ।
रुश्दीको लेखनमा ‘कथानक दृष्टिकोणलाई साहित्यिक नवीनता, हास्य र ज्ञानको सम्मिश्रण’ गर्ने क्षमता भएको पुरस्कारका निर्णयकर्ताले उल्लेख गरेका छन्।
उनको लेखनमा ‘क्रूर शासनले समाजलाई नष्टभ्रष्ट गर्ने शक्तिका साथै व्यक्तिको अक्षयी प्रतिरोधको भावनाको पनि वर्णन’ हुने गरेको जनाइएको छ। सन् २०२२ को अगस्टमा न्यूयोर्कमा आयोजित साहित्यिक मञ्चमा सहभागी भइरहँदा रुश्दीमाथि आक्रमण भएको थियो।
“यत्रो मानसिक र मनोवैज्ञानिक दबाबका बावजूत उनले काल्पनिक र मानवीय ढङ्गमा अझै पनि लेखनलाई जारी राखेका छन्,” पुरस्कारको निर्णायक मण्डलले भनेको छ, “हामी सलमान रुश्दीलाई उनको दृढ सङ्कल्प, जीवनप्रतिको सकारात्मक मनोवृत्ति र आनन्ददायी लेखन मार्फत संसारलाई समृद्ध बनाएको योगदानका लागि सम्मान गर्दै छौं।”
इरानका धार्मिक नेता आयोतोल्लाह खोमेनीले सन् १९८८ मा प्रकाशित रुश्दीको उपन्यास द सेटानिक भर्सेजमा पैगम्बर मोहम्मदको निन्दापूर्ण वर्णन भएको आरोप लगाउँदै विरोध गरेका थिए। खोमेनीले अर्को वर्ष रुश्दीलाई मृत्युदण्ड दिने आदेश जारी गरेपछि उनी भूमिगत हुनुपरेको थियो।
पछिल्ला केही वर्ष लेखक रुश्दीले स्वतन्त्र रूपमा घुमफिर गर्न थालेका थिए। सन् १९५० देखि दिइँदै आइएको जर्मन पुरस्कारको राशि २५ हजार यूरो रहेको छ।