‘संसार सताउने लेखक’ को सत्य
सलमान रुश्दीको लेखनको भूगोलमा सबैजसो कुुराको अनुमति हुन्छ। आफू मृत्युदण्डको घोषणाबाट पीडित भएकाले लेखनको केन्द्रमा स्वतन्त्रतालाई राख्ने गरेका छन्।
भारतीय पत्रिका इन्डिया टुडेले लेखेको छ- ‘सलमान रुश्दीले जब शेम उपन्यास लेखे, तब पाकिस्तानलाई सताए। जब मिडनाइटस् चिल्ड्रेन लेखे, भारतलाई सताए। अन्ततः द सटानिक भर्सेज लेखे, संसारलाई सताए।’
यिनै विवादास्पद उपन्यासको बलमा लेखक रुश्दी विश्वविख्यात बने। उनको जन्म भारत स्वतन्त्र भएको वर्ष सन् १९४७ मा मुम्बईमा भएको हो। व्यापारिक परिवारका सदस्य रुश्दीको शिक्षा मुम्बई र बेलायतमा भयो। सन् १९८९ मा द सटानिक भर्सेज उपन्यासमा इस्लाम धर्म विरुद्ध लेखेको आरोपमा उनलाई इरानका धार्मिक नेता आयातोल्ला खोमेनीले मृत्युदण्ड दिने घोषणा गरे। हत्याका लागि पुरस्कारको घोषणा भएपछि लुक्दै आएका उनी हाल न्यूयोर्कमा बस्छन्।
बौद्धिकतामा प्रखर एवं राजनीतिक रूपमा सचेत रुश्दी बहुविषय र क्षमताका लेखक हुन्। उनको इम्याजिनरी होमल्यान्ड्स निबन्ध सङ्ग्रह उत्तर उपनिवेशवादमा आधारित थियो भने स्टेप एक्रस दिस लाइन राजनीतिक टिप्पणीहरूको सङ्ग्रह हो। यसै वर्ष उनको नयाँ निबन्ध कृति ल्याङ्ग्वेजेज् अफ ट्रूथ प्रकाशन भएको छ। चार भागमा बाँडिएको पुस्तक सन् २००३ देखि २०२० सम्म लेखिएका निबन्धहरूको सङ्कलन हो।
यथार्थवादी लेखक रुश्दी सत्यको भाषामा संसारका सत्यहरू भन्छन्। वर्तमान विश्वको ‘फेक न्यूज’ को प्रकोप र राजनीतिक दक्षिणपन्थको कटु आलोचना गर्छन्। डोनाल्ड ट्रम्पको शासनदेखि भारतमा नरेन्द्र मोदीको हिन्दुत्वको राजनीतिले अल्पसङ्ख्यकलाई गरेको दमन प्रति आक्रोश पोख्छन्।
पुस्तकको पहिलो खण्डमा ग्रीक दार्शनिक हेराक्लाइटस र गद्यको विषयमा चार वटा निबन्ध छन्। रुश्दी विश्व व्यक्तित्व हुन्। उनी बहुसांस्कृतिक संसारमा बाँच्छन् र त्यसैलाई लेख्छन्। उनको सङ्गत विश्वप्रसिद्ध लेखक र कलाकारहरूसँग छ।
त्यसैको विवरण यस पुस्तकमा छ। उनको अध्ययन प्राचीन ग्रीकदेखि अंग्रेजी, रुसी, अरबी, ल्याटिन अमेरिकी र भारतीय अंग्रेजी लेखनसम्म छ। आफू सानो छँदा हजुरआमाले अरेबियन नाइट्सका कथा सुनाउने गरेको स्मरण गर्दै कसरी उनी महाभारत, रामायण र बाइबलसम्म आइपुगे, त्यसको चर्चा गरेका छन्।
रुश्दी पारिवारिक कपडा व्यवसाय छोडेर लेखक बन्नतिर लागे। अध्ययन पश्चात् लन्डनमा विज्ञापन कम्पनीमा काम गर्दागर्दै उनले ग्रिमस (सन् १९७५) उपन्यास लेखे, तर यसले चर्चा पाएन। जब उनले स्वतन्त्र भारत र त्यसपछिको अवस्थाबारे मिडनाइटस् चिल्ड्रेन (१९८१) लेखे, प्रतिष्ठित बुकर पुरस्कार पाए। उनले बुकर पाउँदा भारतीय उपमहाद्वीपले विश्व साहित्यमा आफ्नो आवाज पुर्याएको टिप्पणी गरियो।
यो पुस्तक उनको चामत्कारिक भाषा-शैली र इतिहासमाथिको वक्तव्यका लागि चर्चित भयो। उनको तुलना ग्याब्रियल गार्सिया मार्खेज र गुन्टर ग्रास जस्ता लेखकहरूसँग भयो। उनी भारतीय चरित्र बेगरको आख्यान आफूले लेख्न नसक्ने बताउँछन्।
पुस्तकमा मार्खेजसँगको सम्बन्ध र सम्पर्कबारे एउटा निबन्ध छ। मार्खेजबारे उनी आफ्नो लेखनको प्रारम्भिक कालमा अनभिज्ञ थिए। पछि साथीले उनको लेखन मार्खेजको जादुमय यथार्थवादसँग मिल्छ भनेपछि उनले मार्खेजको लेखन पढेका थिए। तिनै मार्खेजसँग पछि उनको मित्रता भयो।
त्यस्तै, उनले मिगेल सेर्वान्तिस, शेक्सपियर, सामुयल बेकेट, कुर्त भोनिगट, ह्यारोल्ड पिन्टर, ह्यान्स क्रिश्चियन एन्डर्सन, फिलिप रोथ जस्ता लेखकहरूमाथि लेखेका छन्। उनीहरूको विषय र शैली मात्र होइन, कल्पना र सौन्दर्य चेतबारे विमर्श पनि गरेका छन्।
रुश्दी मानवीय स्वतन्त्रता र सौन्दर्यका गायक हुन्। उनको लेखनको भूगोलमा सबैजसो कुराको अनुमति हुन्छ। आफू मृत्युदण्डको घोषणाबाट पीडित भएकाले लेखनको केन्द्रमा स्वतन्त्रतालाई राख्ने गरेका छन्।
फिलिप रोथका आप्रवासी यहुदी चरित्रहरूको मनस्थिति केलाउँदै पिन्टरको नाटकका डार्क कमेडीहरूले कसरी मानवीय यथार्थलाई उजागर गर्छन्, उनले देखाएका छन्। शेक्सपियरको साहित्यिक गरिमा र मूल्यमाथि दुई वटा निबन्ध लेखेका छन्।
तेस्रो खण्डमा रुश्दी पेन अमेरिकाको अध्यक्ष हुँदा दिएका वक्तव्यहरू छन्। यस खण्डमा लेखकीय स्वतन्त्रता, राजनीति, लेखन र सत्ताले लेखकलाई दमन गर्ने प्रवृत्तिको विरोधी स्वर छन्। चिनियाँ कलाकार आई वेवेको प्रतिरोधी कलाकारिताको चर्चा गर्दै उनी राज्यले कुनै पनि बहानामा स्वतन्त्रता हनन गर्न नहुने वकालत गर्छन्।
रुश्दी मानवीय स्वतन्त्रता र सौन्दर्यका गायक हुन्। उनको लेखनको भूगोलमा सबैजसो कुराको अनुमति हुन्छ। आफू मृत्युदण्डको घोषणाबाट पीडित भएकाले लेखनको केन्द्रमा स्वतन्त्रतालाई राख्ने गरेका छन्। रुश्दीको क्यानभास फराकिलो छ। अनीश्वरवादी प्रतीत हुने उनी धार्मिक ग्रन्थ र कथाका पारखी हुन्। बीसौं शताब्दीको अन्त्यतिर उदाएर एक्काइसौं शताब्दीमाथि शब्द खर्चिरहेका उनी दुई शताब्दीका पुल हुन्।
चौथो खण्डमा फोटोग्राफी र चित्रकलाका समीक्षाहरू छन्। भारतकी प्रख्यात चित्रकार अमृता सेरगिलमाथि सुन्दर निबन्ध लेखेका छन्। त्यस्तै, अर्को निबन्ध भूपेन खखरमाथि छ। अन्तिम निबन्धमा भने कोभिड-१९ सङ्क्रमण महामारीको अवस्थामाथि चिन्तन गरेका छन्। समग्रमा, यो पुस्तकबाट रुश्दी साहित्यिक हस्तीहरू, कविता, चित्रकला, फोटोग्राफी आदि मार्फत पाठकलाई मनोरम साहित्यिक दुनियाँमा भ्रमण गराउँछन्।