घोराही सिमेन्टको क्रेडिट रेटिङमा धितोपत्र बोर्डको आशङ्का, केयर रेटिङसँग माग्यो स्पष्टीकरण
नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट कम्पनीको क्रेडिट रेटिङको स्वच्छतामा प्रश्न उठाएको छ।
घोराही सिमेन्टमा केयर रेटिङ नेपालले गरेको मूल्याङ्कनमा स्वार्थको द्वन्द्व भएपछि बोर्डले यसको प्राथमिक शेयर निष्कासन (आईपीओ) को प्रक्रिया नै रोकेको छ। धितोपत्र बजारको नियामक निकाय बोर्डले जेठ ३० मा केयर रेटिङ नेपाललाई घोराही सिमेन्टको क्रेडिट रेटिङमा स्वार्थको द्वन्द्व भए/नभएको विषयमा स्पष्टीकरण पेश गर्न भनेको थियो।
तीन दिनभित्र यसको जवाफ पेश गर्न भनिए पनि जवाफ प्राप्त नभएको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए। क्रेडिट रेटिङमा स्वार्थको द्वन्द्व देखिएपछि सर्वसाधारणको लगानी सुरक्षाका लागि आईपीओको प्रक्रिया स्थगन गरिएको प्रवक्ता श्रेष्ठको भनाइ छ। उनले भने, “यसको क्रेडिट रेटिङमा प्रश्न उठेको, स्पष्टीकरण पेश नभएको तथा प्राथमिक शेयरमा शङ्कास्पद आवेदन परेकाले आईपीओको प्रक्रिया रोकिएको हो।”
केयर रेटिङ नेपालले घोराही सिमेन्ट इन्ड्रस्ट्रिजलाई प्रदान गरेको इस्युअर रेटिङ क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) बमोजिम भए/नभएको बारेमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न बोर्डले पत्र पठाएको थियो। तर, तीन दिन बित्दा समेत त्यसको जवाफ नआइपुगेको बोर्डले जनाएको छ।
क्रेडिट रेटिङ नियमावलीको दफा ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक शेयरधनी, मुख्य शेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाको क्रेडिट रेटिङ गर्न नहुने व्यवस्था गरेको छ। त्यसैगरी, क्रेडिट रेटिङ संस्थाले आफ्नो मुख्य शेयरधनी वा मुख्य शेयरधनी कुनै कम्पनीमा आधारभूत शेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ गर्न नपाउने व्यवस्था गरेको छ।
घोराही सिमेन्टमा सीधै कानून विपरीत हुनेगरी केयर रेटिङ नेपालले क्रेडिट रेटिङ गरेको थियो। घोराही सिमेन्टका आधारभूत शेयरधनी केयर नेपाल सम्बद्ध व्यक्ति रहेको विषयमा हिमालखबरले समाचार प्रकाशित गरेको थियो। प्रिमियम मूल्यमा शेयर निष्कासनको अनुमति पाएको घोराही सिमेन्टका आधारभूत शेयरधनी र सो कम्पनीलाई मूल्याङ्कन गर्ने केयर रेटिङ नेपालमा विशाल समूहका सदस्यको लगानी छ।
कम्पनीले निष्कासन गर्ने साधारण शेयरका लागि धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ अनुसार कम्पनीको क्रेडिट रेटिङ गराउनुपर्ने कानूनी व्यवस्था छ। शेयर निष्कासनकर्ता वा ऋण लिन चाहने कम्पनीको साख मूल्याङ्कन गरी उक्त कम्पनीमा शेयर वा ऋण लगानीको जोखिमबारे देखाइने साङ्केतिक सूचकाङ्क क्रेडिट रेटिङ हो। यसले कम्पनीको वित्तीय हैसियत खुलस्त पारिदिन्छ। क्रेडिट रेटिङ स्वच्छ भएन भने वा बढाइचढाइ कृत्रिम साख देखाइयो भने ऋण वा सर्वसाधारणको धन जोखिममा पर्न सक्छ।
घोराही सिमेन्टमा विशाल समूह सम्बद्ध लगानीकर्ताको कुल २१.३४ प्रतिशत शेयर स्वामित्व छ। केयर रेटिङ नेपालमा पनि सोही व्यावसायिक घरानाका सदस्यको लगानी छ। यो संस्थाका मुख्य शेयर लगानीकर्तामा विशाल ग्रूप लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्सुरेन्स तथा लाइफ इन्सुरेन्स कर्पोरेशन छन्। यी सबै विशाल समूहले नै प्रवर्द्धन गरेका वा उनीहरूको लगानीका कम्पनी हुन्।
धितोपत्र बोर्डले असार ४ मा घोराही सिमेन्टको प्राथमिक शेयर निष्कासनको प्रक्रिया रोकेको छ। घोराही सिमेन्टको क्रेडिट रेटिङको स्वच्छतामा आशङ्का रहेको, स्पष्टीकरणको जवाफ प्राप्त नभएको तथा शेयर बिकाउन नक्कली आवेदन देखाइएको भेटिएपछि बार्डले शेयर निष्कासन रोकेको हो।
खातामा पर्याप्त रकम नहुँदानहुँदै पनि धितोपत्रको सार्वजनिक निष्कासनमा आवेदनको संख्या र परिमाणलाई प्रभावित पार्नेगरी घोराही सिमेन्टमा आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले विज्ञप्ति निकालेर जनाएको थियो।