कारबाही थन्क्याएर स्वार्थको द्वन्द्व देखिने ‘क्रेडिट रेटिङ’ लाई धितोपत्र बोर्डको अनुमोदन
नियामक निकाय धितोपत्र बोर्डले स्वार्थको द्वन्द्व देखिने क्रेडिट रेटिङको छानबिन गरिरहँदा उस्तै प्रकृतिको व्यावसायिक स्वार्थलाई भने अनुमोदन गरेको छ।
नियम विपरीत ‘क्रेडिट रेटिङ’ गरेको भन्दै नेपाल धितोपत्र बोर्डले गत पुसको अन्तिम साता केयर रेटिङ नेपाललाई स्पष्टीकरण सोध्यो। केयर रेटिङका लगानीकर्ताहरू सम्बद्ध कम्पनीकै ‘क्रेडिट रेटिङ’ गरेको भेटिएपछि बोर्डले ‘किन कारबाही नगर्ने?’ भनी पत्र पठाएको थियो। तर, बोर्डले यो कम्पनीलाई कस्तो कारबाही गर्यो भनेर सार्वजनिक रूपमा जानकारी दिएको छैन।
बोर्डको नियमन विभाग प्रमुख विनयदेव आचार्य यो कम्पनीको कारबाहीको विषयमा निर्णय भइनसकेको बताउँछन्। सम्बन्धित शाखाबाट कारबाहीको प्रक्रियाबारे अद्यावधिक जानकारी लिन बाँकी नै रहेको पनि उनको भनाइ छ।
बोर्ड स्रोतका अनुसार उक्त कम्पनीले बोर्डमा पठाएको जवाफ चित्तबुझ्दो नदेखिएपछि कारबाही अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको थियो। यद्यपि, कारबाही गर्न भने आनाकानी गरिएको छ।
बोर्डले केयर रेटिङलाई कारबाही गर्ने निर्णय गर्नुको कारण थियो- यो कम्पनीले स्वार्थको द्वन्द्व ठहरिने गरी आफ्ना प्रवर्द्धकहरू संलग्न कम्पनीकै क्रेडिट रेटिङ गर्नु। तर, बोर्डले कारबाही प्रक्रिया सक्दानसक्दै केयर रेटिङसँगै सम्बन्धित उस्तै प्रकृतिको स्वार्थको द्वन्द्व हुने क्रेडिट रेटिङ भने सदर भएको छ।
बोर्डले प्राथमिक शेयर निष्कासन (आईपीओ) अनुमोदन गरेको एक सिमेन्ट कम्पनीमा स्वार्थको द्वन्द्व देखिने गरी केयर रेटिङले क्रेडिट रेटिङ गरेको छ। प्रिमियम मूल्यमा शेयर निष्कासनको अनुमति पाएको घोराही सिमेन्टका आधारभूत शेयरधनी र सो कम्पनीलाई मूल्याङ्कन गर्ने केयर रेटिङ नेपाल एकअर्कामा सम्बद्ध छन्।
घोराही सिमेन्टको आह्वानपत्रका अनुसार यो कम्पनीमा विशाल समूह सम्बद्ध लगानीकर्ताको कुल २१.३४ प्रतिशत शेयर स्वामित्व छ।
अर्थात्, केयर रेटिङ र यसले ‘रेट’ गरेको कम्पनी घोराही सिमेन्ट दुवैतिर व्यावसायिक घराना विशाल समूहको लगानी छ।
आफ्नै कम्पनीको मूल्याङ्कन
धितोपत्र बोर्डले वैशाख ६ गते घोराही सिमेन्टलाई तीन अर्ब ४४ करोड १६ लाख रुपैयाँ बराबरको रकम सर्वसाधारणबाट सङ्कलन गर्न सक्ने गरी प्राथमिक शेयर निष्कासनको अनुमति दियो। रु.१०० अङ्कित मूल्यको शेयर महँगो मूल्य रु.४३५ का दरमा बेच्न (स्थानीयका हकमा रु.४००) बोर्डले अनुमति दिएको थियो।
घोराही सिमेन्टले सार्वजनिक गरेको आह्वानपत्रमा केयर रेटिङ नेपालले कम्पनीको क्रेडिट रेटिङ गरेको उल्लेख छ।
कम्पनीले निष्कासन गर्ने साधारण शेयरका लागि धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ अनुसार कम्पनीको क्रेडिट रेटिङ गराउनुपर्ने कानूनी व्यवस्था छ। शेयर निष्कासनकर्ता वा ऋण लिन चाहने कम्पनीको साख मूल्याङ्कन गरी उक्त कम्पनीमा शेयर वा ऋण लगानीको जोखिमबारे देखाइने साङ्केतिक सूचकाङ्क क्रेडिट रेटिङ हो। यसले कम्पनीको वित्तीय हैसियतलाई खुलस्त पारिदिन्छ।
क्रेडिट रेटिङ स्वच्छ भएन भने वा बढाइचढाइ कृत्रिम साख देखाइयो भने ऋण वा सर्वसाधारणको धन जोखिममा पर्न सक्छ। सर्वसाधारणलाई शेयर जारी गर्न लागेको घोराही सिमेन्टले ‘बीबीबी माइनस’ रेटिङ पाएको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने सुरक्षा क्षमताको मध्यम आधार रहेको देखाउँछ।
क्रेडिट रेटिङ गर्दा ‘एएए’ देखि ‘डी’ सम्मको वर्गीकरण गरिएको हुन्छ, जसमा ‘एएए’ ले सकारात्मक र ‘डी’ ले नकारात्मक आधारलाई जनाउँछ। आफ्नै प्रवर्द्धक समूहको लगानी रहेको क्रेडिट रेटिङ एजेन्सीले मूल्याङ्कन गरेका कारण घोराहीले पाएको क्रेडिट रेटिङ सही छ भन्नेमा प्रश्न उठ्छ।
घोराही सिमेन्टको आह्वानपत्रका अनुसार यो कम्पनीमा विशाल समूह सम्बद्ध लगानीकर्ताको कुल २१.३४ प्रतिशत शेयर स्वामित्व छ। विशाल समूहका अध्यक्ष जगदीशप्रसाद अग्रवाल, उपाध्यक्षद्वय त्रिलोकचन्द्र अग्रवाल, तुलसीराम अग्रवाल, प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल, निर्देशक अनुज अग्रवाल, निर्देशक निकुञ्ज अग्रवाल तथा निर्देशक विशाल अग्रवालको यो कम्पनीमा शेयर स्वामित्व छ। त्रिलोकचन्द्र अग्रवाल त सिमेन्ट कम्पनीको सञ्चालक समितिमै छन्।
केयर रेटिङ नेपालमा पनि सोही व्यावसायिक घरानाका सदस्यहरूको लगानी छ। कम्पनीको वेबसाइटमा उल्लेख भए अनुसार यो संस्थाका मुख्य शेयर लगानीकर्तामा विशाल ग्रूप लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्सुरेन्स तथा लाइफ इन्सुरेन्स कर्पोरेशन छन्।
यी सबै विशाल समूहले नै प्रवर्द्धन गरेको वा उनीहरूको लगानीको कम्पनी भएको विशाल समूहको वेबसाइटबाट खुल्छ।
घोराही सिमेन्टको आह्वानपत्रमा पनि अशोक अग्रवाललाई लाइफ इन्सुरेन्स कर्पोरेशनको सञ्चालक, इमर्जिङ नेपालको सञ्चालकका रूपमा चिनाइएको छ। त्यसैगरी, अनुज अग्रवाललाई विशाल ग्रूप लिमिटेडको सञ्चालकका रूपमा चिनाइएको छ।
विशाल अग्रवाललाई प्रुडेन्सियल इन्सुरेन्सको सञ्चालक र विशाल ग्रूप लिमिटेडको सञ्चालकका रूपमा चिनाइएको छ।
सुशासनको प्रश्न
क्रेडिट रेटिङ नियमावलीले कुनै पनि व्यावसायिक समूहलाई क्रेडिट रेटिङ संस्थामा लगानी गर्न रोक लगाएको छैन। तर, नियमावलीको दफा ३४ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो संस्थापक शेयरधनी, मुख्य शेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरूको क्रेडिट रेटिङ गर्न नमिल्ने उल्लेख छ।
नियमावली अनुसार क्रेडिट रेटिङ गर्ने संस्थाको मुख्य शेयरधनी कुनै कम्पनीमा आधारभूत शेयरधनी भएमा त्यस्तो कम्पनीको पनि क्रेडिट रेटिङ गर्न मिल्दैन। नियमावलीले मुख्य शेयरधनी भन्नाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्रेडिट रेटिङ संस्थाको १० प्रतिशत शेयर स्वामित्व लिने व्यक्तिलाई जनाउँछ। अर्थात्, एक्लै वा आफ्नो एकाघर परिवारको सदस्य वा सहायक कम्पनी वा मुख्य कम्पनी सबैको मिलाएर क्रेडिट रेटिङ संस्थाको कुल चुक्ता पूँजीको कम्तीमा १० प्रतिशत शेयर ग्रहण गरेको व्यक्ति मुख्य शेयरधनी हो।
केयर रेटिङ नेपालमा विशाल समूह अन्तर्गतका लगानीकर्ताको सीधै १० प्रतिशत स्वामित्व देखिंदैन। तर, एकाघर परिवारको सदस्य, सहायक कम्पनी, प्रवर्द्धक जोड्दा भने त्योभन्दा बढी हुन्छ।
धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले यो विषयमा आफूलाई यकीन जानकारी नभए पनि नियमावली अनुसार स्वार्थको द्वन्द्व नदेखिएका कारण घोराहीलाई बोर्डले अनुमति दिएको हुन सक्ने बताए।
इन्फोमेरिक्समा अर्को व्यावसायिक घराना शंकर समूहको छद्म लगानी छ। यो कम्पनीले पनि आफ्ना छद्म लगानीकर्ताहरू सम्बद्ध कम्पनीहरूकै क्रेडिट रेटिङ गर्दै आएको छ।
केयर रेटिङले यसअघि पनि स्वार्थको द्वन्द्व हुने गरी आफ्ना लगानीकर्ताकै कम्पनीहरूले ब्यांकबाट कर्जा लिन लाग्दा क्रेडिट रेटिङ गर्दै आएको थियो। नेपालमा कानून अनुसार ब्यांक तथा वित्तीय संस्थाबाट ५० करोडभन्दा धेरै ऋण लिन चाहने कम्पनी तथा सर्वसाधारणलाई धितोपत्र निष्कासन गर्ने कम्पनीले क्रेडिट रेटिङ गराउनुपर्छ।
यसअघि विशाल समूह सम्बद्ध एनआईसी एशिया ब्यांक, युनाइटेड डिस्ट्रिब्युटर, कमला रोलिङ मिल, ग्रीन भेन्चर, मैनावत्ती स्टील, यती ब्रुअरी, पारामाउन्ट मोटर्स, ग्लोबल ट्रेडिङ, कन्सर्न जस्ता कम्पनीको क्रेडिट रेटिङ गर्दै आएको थियो।
यसअघि ब्यांकबाट ऋण लिने प्रयोजनका लागि क्रेडिट रेटिङ हुने गरेकोमा अहिले प्राथमिक शेयर निष्कासन मार्फत सर्वसाधारणबाट रकम उठाउने प्रयोजनमा रेटिङ गरिएको हो। जानकारहरूले क्रेडिट रेटिङ संस्थाको लगानीकर्ताकै आबद्धताको कम्पनीको क्रेडिट रेटिङ गरिंदा रेटिङको स्वच्छतामा प्रश्न उठ्ने बताउने गरेका छन्।
धितोपत्र बोर्डले नेपालमा इक्रा, केयर रेटिङ, र इन्फोमेरिक्स गरी तीन वटा क्रेडिट रेटिङ संस्थालाई अनुमति दिएको छ। इन्फोमेरिक्समा अर्को व्यावसायिक घराना शंकर समूहको छद्म लगानी छ। यो कम्पनीले पनि आफ्ना छद्म लगानीकर्ताहरू सम्बद्ध कम्पनीहरूकै क्रेडिट रेटिङ गर्दै आएको छ।