घोराही सिमेन्टको आईपीओ स्थगित गर्न धितोपत्र बोर्डको निर्देशन
नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्राथमिक शेयर निष्कासनको प्रक्रिया रोकेको छ।
घोराही सिमेन्टको प्राथमिक शेयरमा नक्कली आवेदन गरेर जालसाजी भएको आशङ्कापछि बोर्डले रोक्ने निर्णय गरेको हो। बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले तत्कालका लागि प्राथमिक शेयर निष्कासनको प्रक्रिया स्थगन गर्न निर्देशन दिएको बताए।
प्रवक्ता श्रेष्ठले हिमालखबरसँग भने, “यो कम्पनीको आईपीओमा केही समस्या देखियो। तत्कालका लागि प्रक्रिया रोकेका छौं। अब थप अनुसन्धान गरेर के गर्ने निर्णय गर्छौं।”
घोराही सिमेन्टले यसअघि असार ४ गतेसम्म तोकेको आवेदन दिन सक्ने म्यादलाई लम्ब्याएर असार १४ गतेसम्म पुर्याएको थियो।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सोमबार विज्ञप्ति निकालेर सर्वसाधारणलाई प्रिमियम मूल्यमा शेयर निष्कासन गरेको घोराही सिमेन्टको शेयर बिकाउन जालसाजी भएको आशङ्का गरेको थियो। धितोपत्रको सार्वजनिक निष्कासनमा आकर्षण देखाउन फर्जी आवेदन दिने विरुद्ध कारबाही गरिने चेतावनी पनि सीडीएसले दिएको थियो।
घोराही सिमेन्टले कमजोर र त्रुटिपूर्ण वित्तीय विवरण हुँदाहुँदै पनि प्रिमियम मूल्यमा शेयर निष्कासनको अनुमति पाएको थियो। यसको क्रेडिट रेटिङमा समेत स्वार्थ बाझिनेगरी क्रेडिट रेटिङ गरिएको थियो।