घोराही सिमेन्टको आईपीओमा जालसाजीको आशङ्का, सीडीएसले भन्यो- कारबाही गरिनेछ
सर्वसाधारणलाई प्रिमियम मूल्यमा शेयर निष्कासन गरेको घोराही सिमेन्टको शेयर बिकाउन जालसाजी भएको आशङ्का गरिएको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सोमबार विज्ञप्ति निकालेर धितोपत्रको सार्वजनिक निष्कासनमा आकर्षण देखाउन फर्जी आवेदन विरुद्ध कारबाही गरिने चेतावनी दिएको छ। लिमिटेडले आफ्नो खातामा पर्याप्त रकम नहुँदानहुँदै पनि धितोपत्रको सार्वजनिक निष्कासनमा आवेदनको संख्या र परिमाणलाई प्रभावित पार्ने गरी आवेदन दिने कार्यलाई झूटो एवं जालसाजीयुक्त कारोबार हुने उल्लेख गरेको छ। “त्यस्तो कार्य गर्ने व्यक्ति र संस्थालाई धितोपत्र ऐन २०६३ बमोजिम झूटा र जालसाजीयुक्त कारोबार मानेर कारबाही गरिनेछ,” विज्ञप्तिमा भनिएको छ।
घोराही सिमेन्टले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्ता शेयर बिक्रीका लागि निष्कासन गरिरहेको छ। १०० रुपैयाँ अङ्कित मूल्यको यी शेयर ३३५ सहित प्रिमियममा बिक्रीमा राखिएको छ। स्थानीय बासिन्दा, कर्मचारी र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि पहिलो चरणमा निष्कासन गरिएको शेयर माग अनुसार बिक्री भएको थिएन।
त्यसैकारण सर्वसाधारणका लागि जारी गरिएको शेयर पनि सबै परिमाणमा बिक्री नहुने आशङ्का थियो। तर, यसको शेयरमा आकर्षण रहेको देखाउन फर्जी तरीकाले आवेदन दिइएको सीडीएसले आशङ्का गरेको हो।
यो कम्पनीमा एक करोड कित्ताभन्दा बढीको आवेदन फर्जी रहेको सीडीएसले आशङ्का गरेको छ। ब्यांक खातामा पर्याप्त रकम नभएपछि यो परिमाणको आवेदन रद्द भइसकेको छ। फर्जी आवेदन योभन्दा पनि थप परिमाणमा हुन सक्ने आशङ्का छ।
घोराही सिमेन्टले यसअघि असार ४ गतेसम्म तोकेको आवेदन दिन सक्ने म्यादलाई लम्ब्याएर असार १४ गतेसम्म पुर्याएको छ। निष्कासित शेयरको परिमाणभन्दा बढी आवेदन पर्दा समेत समय लम्ब्याउनाले आशङ्का जन्माएको हो।
रद्द भएको आवेदन बाहेक नै घोराही सिमेन्टमा मागको तुलनामा दोब्बर आवेदन परिसकेको छ। यो कम्पनीमा पाँच लाख ४४ हजार आवेदकबाट दुई करोड ३३ लाख कित्ता शेयरको आवेदन परेको छ। योमध्ये करीब एक करोड शेयर बराबरको आवेदन रद्द भएको छ।
घोराही सिमेन्टले कमजोर र त्रुटिपूर्ण वित्तीय विवरण हुँदाहुँदै पनि प्रिमियम मूल्यमा शेयर निष्कासनको अनुमति पाएको थियो। यसको क्रेडिट रेटिङमा समेत समस्या छ। स्वार्थ बाझिने गरी क्रेडिट रेटिङ गरेर सर्वसाधारणलाई झुक्याउन खोजेको आरोप लागेको छ।