शरणार्थी प्रकरण: गम्भीर विषयमा हाँसोका फोहरा
नक्कली भूटानी शरणार्थी मुद्दामा काठमाडौं जिल्ला अदालतमा १० दिनदेखि जारी बहसका पछिल्ला तीन दिनमा वकीलका तर्कवितर्कले न्यायाधीश हैरान भए भने अभियुक्तहरू हाँसिरहे।
नक्कली भूटानी शरणार्थी मुद्दामाथि काठमाडौं जिल्ला अदालतमा चलिरहेको थुनछेकको बहसमा जेठ ३० गतेको सिङ्गो दिन पूर्व गृहमन्त्री बालकृष्ण खाणका वकीलले लिए। नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गर्दा इजलासको माहोल फरक बन्यो।
शुरूमै वरिष्ठ अधिवक्ता केसीले भने, “पूरा मिडिया, राज्य बालकृष्ण खाणको विरुद्ध लागेको छ।”
केसीलाई रोक्दै न्यायाधीश प्रेमप्रसाद न्यौपानेले व्यङ्ग्यमिश्रित जिज्ञासा राखे, “नेपाल सरकारको जाहेरी परेको छ जस्तो त लाग्दैन? राज्य विरुद्धको अपराधको कसूर छ अनि राज्य लाग्नु परेन?”
“हो, म त्यही भन्दै छु। राज्य लागेको छ,” तर्कसङ्गत जवाफ फर्काउन नसकेका केसी यति मात्रै बोले।
वरिष्ठ अधिवक्ता केसीले जाहेरीमा खाणलाई किटानी नगरेको सुनाएपछि न्यायाधीश न्यौपानेले फेरि भने, “त्यो त मलाई पनि थाहा छ, भनिसकें त। जहाँ आरोप लाग्यो, त्यहाँनेर प्रतिरक्षा गर्नोस् न।”
भूटानी शरणार्थी समस्याको स्थायी समाधान पहिल्याउन गठित कार्यदलको प्रतिवेदन कीर्ते गरेको सम्बन्धमा खाणको संलग्नता नरहेको जिकिर गर्दागर्दै केसीले केही कर्मचारीलाई ‘मुख्य मानिस’ भनेर दोष लगाए। गृहका शाखा अधिकृत यान्तोष प्रधान, सहसचिव सागरमणि पाठक, फणीन्द्रमणि पोखरेलको नाम लिंदै केसीले उनीहरू नै कीर्तेको मुख्य मानिस भएको आरोप लगाए।
“अरूका पक्षमा नजाऔं,” न्यायाधीश न्यौपानेले रिसाउँदै भने, “कृपया, आफ्नो पक्षको हितमा बहस केन्द्रित गरौं। आक्षेप लगाउने अमर्यादित काम नगरौं।”
बहसकै एउटा सन्दर्भमा केसीले झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भनेर चोमेन्द्र न्यौपानेको नाम लिए।
“सहायक सीडीओ हो,” न्यायाधीश न्यौपानेले सच्याइदिएपछि इजलासमा केही बेर हाँसो चल्यो। आफ्ना तर्फबाट बहस गरिरहेका केसीको तर्क सुनेर खाण पनि बीचबीचमा मजाले हाँसिरहेका थिए भने यति वेला पनि हाँसे।
इजलासबाट बारम्बार ध्यानाकर्षण हुँदा पनि वरिष्ठ अधिवक्ता केसी भने अभियोग पत्र नै पढेर सुनाउन थाले। हुँदाहुँदा मिसिलमा लेखिएको ७६ जनाको नाम पढेर सुनाउन कस्सिए।
“मैले यति धेरै चोटि यो मिसिल पढिसकें कि तपाईंले नाम भन्दा मेरो दिमाग मिसिलको पाना-पानामा छिरिसक्छ,” केसीलाई बहकिनबाट रोक्न न्यायाधीश न्योपानेले सम्झाए, “यति धेरै चोटि त मैले जीवनमै कुनै पनि मिसिल पढेको थिइनँ। त्यसैले त तपाईंले मिसिलका नाम, पद मिस्टेक गर्दा सच्याइरहेछु।” यति भनेर न्यायाधीश पनि हाँसे।
तैपनि, न्यायाधीशको यो वचनले केसीलाई रोक्न सकेन। उनले ७६ जनाको नाम पढिछाडे। इजलासमा उपस्थितले भने दिक्दारी माने। खाण पनि हाई काढ्न थाले। न्यायाधीशले समयको सीमाभित्र बसिदिन फेरि आग्रह गर्नुपर्यो।
वरिष्ठ अधिवक्ता केसी र न्यायाधीश न्यौपानेबीच तारन्तार सवाल जवाफ पर्यो। विना प्रमाण, आधार प्रतिशोधको भावनाले खाणमाथि मुद्दा चलाएको भन्दै केसी केही बेरमै कुर्लिए, “राजनीतिक गर्ने मानिसको भविष्य सिध्याउन अभियोग लगाइएको छ। तथ्य प्रमाण छैन, कथा मात्रै रचिएको छ। अभियोगपत्रमा यो लेखेको श्रीमान्?”
“अभियोगपत्र मैले लेखेको हो र?” न्यायाधीश न्यौपानेले जस्तालाई तस्तैको शैलीमा जवाफ फर्काए। संयमित बन्दै फेरि दोहोर्याए, “आफ्नो पक्षको हितमा कुरा राख्नोस्। विषयवस्तुबाहिर बहकिनुभयो कि भन्ने हो।”
यस्तै तर्कवितर्क सहित करीब डेढ घन्टा बहस गरेका केसीले अन्त्यमा देश बदल्न भनेर लडेका खाणलाई संगठित अपराध, राज्य विरुद्धको कसूर लगाउने भन्दै प्रश्न गरेर बिट मारे। केसीको बहस सकिएपछि खाण स्वयंले पनि राहत महसूस गरेको अनुहारमा झल्किन्थ्यो।
खाणकै पक्षमा बहस गरेका अर्का अधिवक्ता नृसिंहकुमार खत्रीले पनि इजलासको माहोलमा रमाइलो थपे। १७ जना अभियुक्त (बिरामी केशव दुलाल अनुपस्थित) वकील, अदालतका कर्मचारी र पत्रकारले भरिभराउ इजलास कक्षमा खत्रीले भने, “मैले त मुलुक नै यहाँ देखेको छु। हिमालको शेर्पादेखि तराईको चौधरी, पूर्व झापादेखि पश्चिमसम्मका यहाँ छन्।” अधिवक्ता खत्रीले अभियुक्तको भेगीय प्रतिनिधित्वलाई इङ्गित गरे।
खत्रीले थपे, “यो हेर्दा त अभियुक्तहरूलाई थुनामा पठाउने हो भने राष्ट्र नै थुनामा पर्न सक्छ।” यस्तो भावनात्मक तर्कले इजलासमा फेरि हाँसो गुन्जियो।
प्राध्यापक समेत रहेका खत्री बहस गर्दा विश्वविद्यालयको कक्षा लिएको शैलीमा इजलास वरिपरि नजर डुलाउँथे। अक्सर बहसकर्ता न्यायाधीशतिर फर्केर बहस गर्थे, तर खत्री भने पछाडि र दायाँबायाँ फर्कंदै तर्क गर्थे।
दिनभरि बहसकर्तालाई ट्र्याकमा ल्याउँदा ल्याउँदा हैरान न्यायाधीश न्यौपाने र खाणका वकीलबीच साँझपख केही बेर गलफत्ती चल्यो। १० जनाले बहस गर्दा पनि अझै वकील बाँकी रहेपछि न्यायाधीश न्यौपाने हैरान भइसकेका थिए।
नेपाली कांग्रेस निकट भनेर चिनिएका वरिष्ठ अधिवक्ताहरूले उठेरै आफ्नो पक्षको कुरा नसकिएको भन्दै समय मागे। शुरूमा त समय दिन नसकिने बताएका न्यायाधीश न्यौपाने निवर्तमान महान्यायाधिवक्ता खम्मबहादुर खाती, बारका अध्यक्ष गोपालकृष्ण घिमिरे सहित उठेर हठ गरेपछि अन्ततः गले र भने, “तपाईंहरूले इजलासलाई निरीह पार्नुभयो।”
जेठ ३१ गते अन्तिममा झन्डै डेढ घण्टा बहस गरेका वरिष्ठ अधिवक्ता खातीले पोडियममा उभिनासाथै न्यायाधीशसँगै मिडियाको पनि अनुमति लिएर बहस शुरू गरे। वरिष्ठ अधिवक्ता र निवर्तमान महान्यायाधिवक्ताहरू अभियुक्तको प्रतिरक्षामा जिल्ला अदालतमा लावालस्कर लागेको भन्दै समाचार आएकाले खातीले व्यङ्ग्यात्मक रूपमा पत्रकारसँग अनुमति मागेका थिए। “मिडियाले फलानो फलानो कसूर लगाउनुपर्छ भन्यो। त्यही लगाइयो,” खातीले थपे, “त्यसैले इजलासको आदेश नआउँदै मिडियाको आदेश आउला कि भनेर मैले यस्तो भन्नुपरेको हो।”
केही बेर मिडियाको आलोचनामा केन्द्रित भएपछि मात्र खाती मूल मुद्दामा छिरेका थिए। “टिकटकमा पूर्व महान्यायाधिवक्ताको फोटो सहित अपराधीलाई जगाउनेहरू भन्दै राखिएको रहेछ। कमेन्ट पढ्नै नसक्ने खालका थिए,” उनले भने, “मैले अरूको न्यायका लागि सम्मानित इजलासमा राख्छु, तर मलाई नै अन्याय पर्दा कहाँ राख्ने? भोलि यो समस्या सबैलाई पर्न सक्छ।”
यद्यपि खातीले खाण इजलासमा आफ्नो ‘क्लाइन्ट’ र बाहिर नेता भएको सुनाए। खाती २०७८ असारमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारका महान्यायाधिवक्ता थिए।
यसअघि जेठ २९ को बहसमा पनि केही वकीलले अनौठा तर्क गरेका थिए। जसले गर्दा अभियुक्त नै हैरान बनेका थिए।
“हैन यिनी कसको पक्षमा बहस गर्दै छन्?” पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले झल्याँस्स हुँदै पछाडि फर्किएर सोधे, “हाम्रो विरुद्ध पो कुरा गर्दै छन्। कस्तो वकील राखेको हो?”
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानले जेठ २९ गतेको बहसमा टेकनाथ रिजालले पूर्व उपप्रधानमन्त्री रायमाझी मार्फत नक्कली भूटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाउने योजना अन्तर्गत शीर्ष दलका शीर्ष नेता भेटेको बताएपछि रायमाझी छटपटिएका थिए। रायमाझीले रिजाललाई तत्कालीन नेकपाका नेताद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटाएको भन्ने बयान नै अधिवक्ता नेउपानेले पढेरै सुनाएका थिए।
रायमाझी मात्र होइन, अन्य अभियुक्त पनि नेउपानेको बहस सुनेर छक्क परेका थिए। नेउपानेले जब निलम्बित सचिव टेकनारायण पाण्डेले हिरासतबाटै पूर्व गृहमन्त्री एवं कांग्रेसका नेता खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पठाएको पत्रकोे सन्दर्भ उप्काए, तब पाण्डे चलमलाए। “हिरासतबाट सचिवज्यूले चिठी लेख्नुभयो– यीभन्दा माथि अनुसन्धान नहोस्। भयो भने राजनीतिक रूपमा अप्ठेरो पर्छ। माथि अनुसन्धान रोक्न र पक्राउ परेकाको बयान फेराउन केपी बा, शेरबहादुर बालाई भेट भनियो,” नेउपानेले इजलासमा भनेका थिए, “प्रहरीले अनुसन्धान गरेर अभियोग त्यसरी नै ल्यायो। अनुसन्धान माथि गएन र जो होचो उसकै मुखमा घोचो भने झैं गिरोहका सदस्यको प्रलोभनमा परेर रकम बुझाउने रामशरण केसीहरू अभियुक्त बने।”
यो पत्रको प्रसङ्ग बहसमा उठ्दा निलम्बित सचिव पाण्डे र पूर्व गृहमन्त्री खाणले मुखामुख गरे। खाण छेउमै रहेका रायमाझीले लामो सास तान्दै दिक्दारी भाव पोखे भने न्यायाधीश न्यौपाने सधैं झैं यो प्रसङ्ग आउँदा मुस्कुराएका थिए।
साँझ ६ बजेसम्म इजलास चालू राखेर चाँडै थुनछेक सकाउने न्यायाधीशको लक्ष्य थियो। तर, जेठ २८ र २९ गते दुई दिन अपराह्न साढे ४ बजेपछि वकीलहरू तयार नभएकाले इजलास स्थगन भएको थियो।
खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीका अधिकांश वकील कांग्रेस निकट थिए, उनीहरूको चितवनमा कार्यक्रम भएकाले पनि बहसमा असर परेको थियो। “चितवनबाट वकीलहरू आउन ढिलो भयो,” केसीेले इजलासमा भनेका थिए।
पूर्व गृहमन्त्री खाणका पक्षमा सबैभन्दा धेरै वकीलले बहस गरे। साढे दुई दिन लगाएर १६ जना वकीलले खाणको प्रतिरक्षा गरे।
नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्तलाई तारेख वा धरौटीमा छोडेर वा थुनामा पठाएर सुनुवाइ गर्ने भन्नेबारे १० दिनदेखि बहस चलिरहेको छ।
नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका उडाउने प्रकरणमा संगठित गिरोह चलाएको आरोपमा प्रहरीले ३० जना विरुद्ध मुद्दा दायर गरेको छ। जसमध्ये १८ जना पक्राउ परेका छन् भने बाँकी फरार छन्। २८ करोड ८१ लाख ७४ हजार ५०० रुपैयाँ बिगो सहित ठगी, संगठित अपराध, लिखत कीर्ते, राष्ट्रहित प्रतिकूलको कसूर र एकीकृत कसूरमा मुद्दा लगाइएको छ।
अभियुक्तका वकीलहरूले लम्ब्याएनन् भने जेठ ३२ मा बहस सकिनेछ।