गर्मीले धारा सुकेपछि ट्याङ्करबाट पानी वितरण
अत्यधिक गर्मीले धारा सुकेपछि जलेश्वर नगरपालिकाले ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ।
केही सातायता बढेको गर्मीले धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ। धारामा पानी आउन छाडेपछि नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको मेयर सुरेश साह सोनारले बताए।
१२ वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार ३८० घरधुरी छन्। प्रायः घरधुरीमा जडान रहेको धारा र चापाकल सुकेर पानी आउन बन्द भएको मेयर सोनारले जानकारी दिए।
मधेश प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको बताए। जलेश्वरमा यसअघि कहिल्यै पानीको अभाव नभएको उनको भनाइ छ।
जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बर्दिबास, गौशाला, भङ्गहा, औरही, बलवा, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाको समेत पानीको समस्या भएको बताइएको छ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले खानेपानीको अभाव हुन नदिन काम भइराखेको बताए।