‘अमेरिका र चीनले चाहे मात्रै तेस्रो विश्वयुद्ध रोकिन सक्छ’ (भाग-३)
‘हामी अभूतपूर्व चुनौती र महान् अवसरको समयमा छौं। हामी चुनौतीको शुरूआतमा छौं, अझै चुनौतीले घेरिइसकेका छैनौं।’
हेनरी किसिन्जरले १००औं जन्मोत्सव मनाएका छन्। अन्तर्राष्ट्रिय राजनीतिका जिज्ञासुका लागि यो नाम नौलो होइन। संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री एवं राष्ट्रिय सुरक्षा सल्लाहकार किसिन्जर शीतयुद्धकालमा अमेरिकी विदेश नीतिका दुई परिघटनाका कारण चर्चित छन्।
पहिलो, सन् १९६९ मा तत्कालीन सोभियत संघ र अमेरिकाबीच तनाव कम गराउने प्रक्रिया। क्युबाली मिसाइल सङ्कटसँगै शुरू भएको भनिएको उक्त प्रक्रियालाई परिणाममूलक बनाउन किसिन्जरले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। फलस्वरूप आणविक प्रतिस्पर्धारत दुई महाशक्ति टकरावले ‘परस्पर विनाशको सुनिश्चितता’ (म्युचुअल एज्युम्ड डिस्ट्रक्सशनः म्याड) हुनेमा सहमत भए र नि:शस्त्रीकरण एवं गतिरोधतर्फ लम्किए।
दोस्रो, सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएसँगै भङ्ग भएको चीन-अमेरिका सम्बन्धले पुनर्जीवन पायो। सन् १९७१ को जुलाई र अक्टोबरमा चीनको गोप्य भ्रमण गरेर किसिन्जरले त्यो सम्बन्ध पुनर्निर्माणको शुरूआत गरे, जुन सन् १९७२ मा राष्ट्रपति रिचार्ड निक्सनको चीन भ्रमण र चिनियाँ राष्ट्रपति माओत्सेतुङसँगको वार्तासँगै मुखर भयो। त्यसैले चिनियाँ नेताले उनलाई ‘चिनियाँ जनताको पुरानो मित्र’ भन्ने गर्छन्।
सन् १९७३ मा भियतनाममा शान्ति स्थापनामा पुर्याएको योगदानका लागि भियतनामका ‘ली डक थो’ सँगै संयुक्त रूपमा किसिन्जरले नोबल शान्ति पुरस्कार प्राप्त गरे। खासमा जर्मनीको यहुदी परिवारमा २७ मे १९२३ मा जन्मिएका थिए, किसिन्जर। हिटलरको यहुदी सफायाबाट जोगिन उनको परिवार भागेर सन् १९३८ मा अमेरिका पुगेको थियो। सन् १९४३ मा अमेरिकी नागरिकता पाएका किसिन्जरले हार्वर्ड विश्वविद्यालयबाट सन् १९५२ मा स्नातकोत्तर र सन् १९५४ मा विद्यावारिधि गरे।
यथार्थवादी अन्तर्राष्ट्रिय राजनीतिका पक्षधर एवं अभ्यासकर्ता उनी विवादित पनि छन्, अमेरिका संलग्न विभिन्न युद्धका कारण। तथापि, उनका विचार त्याज्य छैनन्। अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने व्यक्तिमध्ये सम्भवतः सबैभन्दा लामो समय बाँचेका किसिन्जर अझै पनि सक्रिय जीवन बिताइरहेछन्। उनीसँग द इकोनोमिस्टका पत्रकारहरूले गत अप्रिलको अन्त्यतिर दुई दिन गरेर आठ घन्टा लामो कुराकानी गरेका थिए। प्रस्तुत छ, उक्त कुराकानीको भावानुवाद:
हाम्रो कुराकानी शुरूमा अलि बढी निराशाजनक भइरहेको थियो। तपाईंले बील बर्न्स, सत्य नडेला र विन्स्टन लर्ड जस्ता मानिसहरू सम्मिलित समिति मार्फत चीन-अमेरिकाबीच निरन्तर संवाद गर्न सकिने आशा जगाउनुभयो।
साँच्चै त्यस्तो प्रेरक गुण त जोन एफ. केनेडीमा थियो। शुरूमा त त्यस्तो गुण नै चाहिन्छ। त्यसपछि विभिन्न क्षेत्रमा त्यो लागू गर्न सकिन्छ। हामीले त्यो गुण तत्कालै चीनको सम्बन्धमा लागू गर्नुपर्नेछ। साथै, प्रविधिको क्षेत्रमा पनि त्यसको आवश्यकता छ।
त्यस्तै, यो हतियारको क्षेत्रमा पनि चाहिन्छ। किनभने प्रविधि र हतियारका निर्माताले तिनको प्रयोगबारे जानेकै हुन्छन् भन्ने जरुरी छैन। व्यवस्थित तरीकाले काम गर्न जानिएन भने प्रविधि र हतियारमा नियन्त्रण गुमाउनेछौं।
पहिलो विश्वयुद्ध ताकाको कुरा गरौं। सन् १९१६ मा बेलायत, जर्मनी र फ्रान्सबीचका वार्ताहरू हेर्दा उनीहरूले विजयभन्दा पनि शान्तिको चाहना गरेको पाइन्छ। तर, आममानिसलाई कसरी भन्ने र कसरी शान्ति स्थापना गर्ने भन्ने उनीहरूलाई थाहा थिएन जबकि १० लाख मानिसको ज्यान त गइसकेको थियो।
त्यति नै वेला जर्मनहरूले ‘भर्डन लडाइँ’ को तयारी गरेका थिए र बेलायतीहरूले ‘साम लडाइँ’ को (पहिलो विश्वयुद्धका दुई ठूला र लामा लडाइँ)। दुवैले यी युद्धमा जितिन्छ भन्ने ठानेका थिए। त्यसैले दुवै लडाइँ भए। थप १५ लाख मानिसको मृत्यु भयो।
उनीहरूसँग रणनीति नै थिएन। हामी अहिले त्यस्तो स्थिति बेहोर्न सक्दैनौं। म सोच्छु, सन् १९१६ मा मानिसहरूले त्यो बुझेको भए र युद्ध टार्ने कुनै उपाय पत्ता लगाएको भए कस्तो उदाहरणीय हुन्थ्यो। मानव जातिको इतिहासमै एउटा ठूलो क्षतिको उदाहरण नै बन्ने थिएन। पक्कै पनि संसारमा असल मानिसहरू छन् जसलाई शान्ति कसरी स्थापना गर्न सकिन्छ भन्ने थाहा छ।
अहिले एउटा समयसीमाको कुरा गरिरहेका छौं, पाँच वा १० वर्ष। आउने पाँच वर्षमा त सन् २०२८ मा हुनेछौं, अमेरिकाको अर्को राष्ट्रपति चुनिने वर्ष। यस्तो देखिन्छ, अर्को चुनावमा बाइडेन र डोनल्ड ट्रम्पबीचको प्रतिस्पर्धा हुनेछ। कुनै केनेडी आउनेवाला छैनन् जसले केही फरक र नयाँबाट हामीलाई उत्प्रेरित गरून्। वर्तमानकै निरन्तरता हुनेछ।
बाइडेनले आशाको सञ्चार गर्छन् भन्ने त मलाई लाग्दैन। रिपब्लिकनहरूले ट्रम्पभन्दा उत्तम उम्मेदवार फेला पारून् भन्ने मेरा आकांक्षा छ। यो इतिहासको कुनै महान् क्षण त होइन, तर विकल्पको पूर्ण अभाव देखिन्छ।
अनि स्थायी अभाव पनि।
अहिले बनेका नयाँ यन्त्रहरूलाई कसरी सञ्चालन गर्ने भन्ने छलफल अस्वाभाविक छैन। अझ यी त त्यस्ता यन्त्र हुन् जसबारे हामीलाई पूर्ण जानकारी छैन। त्यसैले यी छलफलका नयाँ विषय हुन सक्छन्।
यी विषय त सन् १९१६ वा १९३० मा हुनुपर्ने जस्तै छलफलका लागि उत्प्रेरक पनि हुन सक्छन् र यी सबै मानिसलाई जगाउन उत्प्रेरक हुन सक्छन्।
मलाई लाग्छ- केही अवधारणाबाट शुरू गर्नुपर्छ। अहिले भइरहेका धेरै बहस मलाई खासै मन पर्दैन। तर, मलाई लाग्छ- यी पनि सार्थक बहससम्म पुग्ने चरण हुन्।
(पहिलो दिनको कुराकानी यहीं सकिन्छ। दोस्रो दिनको कुराकानी किसिन्जरले आफैं शुरू गरेका छन्।)
थाहा पाउनुभयो होला, चिनियाँहरूले युक्रेनीहरूलाई सम्पर्क गरेर रूस-युक्रेन युद्धमा मध्यस्थताका लागि रुचि देखाएका छन्।
हो त।
चिनियाँबारे हामीले बनाएका धारणा हेर्दा त, उठ, जाग र ‘रूसी अतिक्रमण’ का विरोध गर भने जस्तो देखिन्छ। युक्रेनमाथि रूसको आक्रमण हो पनि भनेनन् भन्ने हाम्रो गुनासो हुन्छ। तर, चिनियाँ त्यसरी सोच्दैनन्। उनीहरू नैतिकताको कोणबाट होइन, राष्ट्रिय हितको कोणबाट सोच्छन्।
अहिले युक्रेन विश्व राजनीतिमै चासोको देश भएको छ। त्यसैले चिनियाँले सहकार्यको प्रस्ताव गरे। चीन र कम्युनिस्ट दर्शनका हिसाबले सहकार्य गर्नु भनेको नेटोमा आबद्ध हुनु होइन। उनीहरू आफूले सक्ने जति आफ्नै खाले विश्व व्यवस्था बनाइरहेछन्।
तपाईंले शुरूमा चीनलाई एउटा प्रभुत्वशाली शक्तिका रूपमा व्याख्या गर्नुभयो। अहिले तपाईंले चीनको आफ्नै खाले विश्व व्यवस्थाको परिकल्पना छ भन्नुभयो। के चीन विश्वव्यापी रणनीतिक भूमिका खेल्ने प्रयास गरिरहेछ? त्यसले अमेरिकाको हकमा के अर्थ राख्छ?
चीनले वैश्विक भूमिका खेल्ने प्रयास गरिरहेको छ। त्यसैले रणनीतिक भूमिका मिल्ने हकसम्मका हरेक बिन्दुमा सम्बन्ध राख्नुपर्छ। सिद्धान्ततः म चीनसँग दिगो वार्ता होस् भन्ने चाहन्छु जहाँ परिणामहरू टेबलमा हुन्। मेरो आशा के छ भने ती वार्ताबाट आउने परिणाम दुवै शक्तिलाई अनुकूल हुनेछन्। त्यो वार्ता असफल भयो भने दुवै पक्षले रणनीतिक निर्णयहरू गर्नुपर्ने हुन्छ। त्यसपछि प्रविधिको प्रश्न आउँछ। तपाईंले कस्तो खालको परिणाम हासिल गर्न सक्नुहुन्छ भन्ने सवाल उठ्छ। यी प्रश्नबारे सबै पक्षलाई जानकारी गराउनुपर्छ भन्ने मलाई लाग्छ।
चीन कहिलेदेखि यो युक्रेन-रूस मामिलामा संलग्न भयो भन्ने खालको तिथिमितिमा म अलमलिन चाहन्नँ। तर, पश्चिमा पक्षको दृष्टिकोण त्यस्तो छैन। उनीहरूको विज्ञप्ति हेर्दा ‘चीनले रूसी आक्रमण भन्यो कि भनेन’ भन्ने चिन्तामा अलमिलएको पाइन्छ। रूस र चीनबीच ‘सीमाहीन मित्रता’ को पृष्ठभूमि भएको परिप्रेक्ष्यमा चिनियाँले त्यस्तो भनिहाल्छन् भन्ने मलाई लाग्दैन। चीनले सिर्जनात्मक भूमिका खेल्यो भने सबैभन्दा पहिला आफ्ना सीमिततासँग अनुकूल हुने गरी काम गर्नेछ। त्यसपछि नेटोसँग अनुकूल हुन सकिन्छ/सकिंदैन भन्नेमा ध्यान दिनेछ।
(सन् २०२२ मा चीनमा आयोजित ओलम्पिक खेल समारोहको उद्घाटनमा पुटिन सहभागी भएका थिए। सी चिनफिङ र पुटिनबीचको वार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा दुई देशबीचको दौत्य सम्बन्ध परम्परागत गठबन्धनभन्दा फरक हुने र त्यो मित्रतालाई सीमाहीन सम्बन्धका रूपमा चिनिने उल्लेख गरिएको थियो।)
चीनले त अमेरिकालाई रणनीतिक प्रतिस्पर्धीका रूपमा हेर्छ!
यसमा हामीले भरपूर योगदान गरेका छौं।
तपाईं युक्रेनको जवाफी हमलाबारे कुरा गर्दै हुनुहुन्थ्यो।
होइन, युक्रेनीहरू सम्बन्ध विस्तार गर्न चाहन्छन्। जेलेन्स्कीले आफूलाई प्रतिभाशाली नेता सावित गरेका छन्। उनले आफ्ना तर्फबाट बुद्धिको सही अभ्यास गरेका छन्। रूससँग ‘सीमाहीन मित्रता’ भएको अवस्थामा चीन कहिल्यै नेटोसँग समानान्तर हुनेगरी प्रवेश गर्नेछैन भन्ने उनीहरूले सोच्न सक्थे। तर, उनीहरूले चीनको उपस्थिति स्वीकार गरेका छन्। यसको अर्थ हो, कोही कसैले पनि शान्तिका लागि पहलकदमी लिन्छ भने रोक्न सकिंदैन। मैले डाभोस सम्मेलनमा भनेको कुरा पनि यही हो। युद्धका पनि केही राजनीतिक सीमा हुन जरुरी छ।
जहाँसम्म चिनियाँ संलग्नताको कुरा छ, उनीहरूको दृष्टिकोणलाई हामीले केही हदसम्म सम्मान गर्नुपर्छ। उनीहरूको दृष्टिकोण हाम्रो जस्तो छैन। त्यसो त उनीहरूले अहिलेसम्म आफ्ना दृष्टिकोण सार्वजनिक गरिसकेका छैनन्। उनीहरू संलग्न हुने प्रस्ताव नै आफैंमा ठूलो कदम हो। रूसलाई सीमामा राख्न यो निकै महत्त्वपूर्ण छ। हुन त म भएको भए यो हदसम्म जान्नथें बरु राजनीतिक कदमहरू चालेरै नेटो मार्फत नै यो मुद्दा सल्टाउने थिएँ।
यस हिसाबले चिनियाँ सहभागिता नयाँ चुनौती हो। तर, हामीले चीन पनि हामीसँग जोडिन आइपुग्यो भनेर हर्षोल्लास गर्न हुँदैन किनभने यो निकै जटिल र महत्त्वपूर्ण छ। चीन अमेरिकासँग जुध्न चाहँदैन त्यसैले ऊ यस्तो मामिलामा संलग्न हुन्छ। दुई वर्षदेखि चीन र रूसबीच जुन खालको सम्बन्ध विकास भएको छ त्यसले पनि चीनलाई आफ्नो मौनसम्मतिमा रूसको पराजय हेर्न स्वीकृति दिंदैन।
यो नयाँ परिस्थितिमा चीन स्वतन्त्र युक्रेन चाहन्छ। म यो मामिलामा चाहिं युक्रेनीहरूको बुद्धिमत्ताबाट प्रभावित छु। उनीहरू हामीभन्दा एक कदम अगाडि छन्। उनीहरू चीन पनि नेटोको सदस्य बन्ने आशा त गर्दैनन्। तर, चीनको समर्थनले बलियो र स्वतन्त्र युक्रेन बन्नेछ।
तपाईं त युक्रेन नेटोको सदस्य हुनुपर्छ भन्ने तर्क गर्नुहुन्छ।
मेरो आधारभूत अडान चाहिं युक्रेनलाई नेटोको सदस्यता दिन हुँदैन र नेटोको विस्तारको बहस नै ठूलो गल्ती हो भन्ने हो किनभने यसले रूसीहरूको आधारभूत धारणालाई नै चुनौती दिन्छ। सोभियत प्रणालीका ठूला आलोचक मानिएका सोल्जेनित्सिन जस्ता उदार रूसीहरू समेत युक्रेन विशेष अवस्था हो भन्ने ठान्छन्। त्यस्तो धारणा नराख्ने कुनै पनि रूसी नेता मैले भेटेको छैन। खासमा नेटोले रूस शासित यूरोपको एउटा हिस्सा लियो र त्यहाँबाट कहिल्यै निस्केन। बरु त्यस भूभागलाई स्थायी सैन्य गठबन्धनमा लग्यो।
नेटोले यो सबै विचारधारात्मक रूपमा गर्यो किनभने हामीले हाम्रो घरेलु परिस्थिति (उदार अर्थव्यवस्था)सँग मिल्ने कुनै पनि देश नेटोको सदस्य हुन सक्छ भनेर आह्वान गरेका थियौं। ककेसियन क्षेत्र र मध्यएशियामा पर्ने कुनै पनि देश सदस्य हुन सक्ने आह्वान गरेका थियौं। त्यसले सुरक्षा मुद्दा खडा गरिदिएको थियो। यसो भन्दै गर्दा रूसले युक्रेनलाई आफू निर्भर देशको अवस्थामा फर्काउन अहिले जे गरिरहेको छ त्यो ठीक छ भनेर म भनिरहेको छैन। युक्रेन सङ्कट शुरू हुनुअघि मैले एउटा लेखमा ‘युक्रेन सुरक्षा चौकी नभई पुल हुनुपर्छ’ भनेर लेखेको थिएँ।
युद्धरत पक्षधरहरूको सहभागितामा मात्रै युद्ध सकिने भए मैले युक्रेन सुरक्षित छैन भन्ने थिएँ किनभने राष्ट्रवाद कहिल्यै शान्त हुँदैन। तर, युक्रेन अहिले नेटोमा सुरक्षित छ जहाँ उसले आफ्ना मित्रहरूको साथको सुनिश्चितता पाएको छ।
जेलेन्स्कीले पक्कै पनि चिनियाँ दृष्टिकोण आफ्नो अस्तित्वका लागि अनुकूल छैन भन्ने बुझेको हुनुपर्छ। तर, नेटोप्रतिको चीनको चासो पनि हामीसँग अनुकूल छैन। यसलाई पश्चिमा नेतृत्वले ध्यानमा राख्नुपर्छ।
युक्रेन नेटोमा सुरक्षित छ भने युक्रेन मामिलामा चीनले नेटोलाई उछिन्दा यूरोप कसरी सुरक्षित हुन सक्छ त?
बेइजिङ ओलम्पिकमा सी चिनफिङ र भ्लादिमिर पुटिनबीच सहमति भएपछि मात्र सी चिनफिङले नेटो विस्तारको विरोध गरेका थिए। त्यसअघि कुनै पनि चिनियाँ नेताले यूरोपको राजनीतिक विस्तारबारे धारणा राखेका छन् जस्तो मलाई लाग्दैन। पुटिनले युक्रेनमा आक्रमण गर्दै छन् भन्ने सीले थाहा पाएको हुनुपर्छ। त्यो चीनका तर्फबाट निकै गम्भीर प्रतिबद्धता थियो। तर, त्यत्तिकै आधारमा चीन युद्धमा जानेछैन।
उनीहरू हिटलरले जस्तो संसारको शासन गर्न चाहँदैनन्। उनीहरू त्यस्तो सोच्दैनन् न त कहिल्यै सोचेकै थिए। उनीहरूका लागि विश्व व्यवस्था भनेको उनीहरू निर्णयकर्ता हुने हो। उनीहरू संसारको नियम बनाउने प्रक्रियामा सहभागी हुन चाहन्छन्। नियम नमान्नुको अर्थ युद्ध नै हो भन्ने चाहिं होइन, तर त्यसको सम्भावना त रहन्छ नै।
सन् २०१४ मा मैले युक्रेन सुरक्षाचौकी नभएर पुल हुनुपर्छ भनेर लेखेको थिएँ। यो नेटोको पूर्वी चौकी भयो भने मस्कोबाट ३०० माइल (४८२.८३ किलोमिटर) भित्र पर्नेछ। पश्चिमी चौकी भयो भने वार्सा र बुडापेस्टबाट ३०० माइल र बर्लिनबाट ६०० माइल (९६५.६०) भित्र पर्नेछ। त्यसैले युक्रेन फिनल्यान्ड जस्तो तटस्थ देश हुनु उपयुक्त हुन्छ भन्ने मैले ठानेको थिएँ। तर, अहिले त फिनल्यान्ड र स्वीडेन समेत नेटोमा जोडिंदै छन्। त्यो सम्भव छैन। भौगोलिक रूपमा जोखिम भएकैले युक्रेनलाई नेटोको सदस्यता दिन हुँदैन भन्न मिल्दैन।
अमेरिकाले आफ्नो धारणा बनाउनै पर्छ। यूरोपेलीहरू युक्रेन नेटोमा नहोस् भन्ने नै चाहन्छन्। उनीहरू युक्रेनलाई आवश्यक पर्ने हतियार दिन तयार छन्, तर आफू चाहिं सुरक्षित राख्न चाहन्छन्। त्यसले त काम गर्दैन। त्यसैले अनिच्छापूर्वक पनि म युक्रेन नेटोको सदस्य हुनुपर्छ भन्ने बिन्दुमा आइपुगेको हुँ। तर, चीनले आफ्ना सीमा कहाँसम्म छ भन्ने आधारमा दृष्टिकोण बनाउँदैन।
युक्रेन मामिलामा मध्यस्थता गर्न चीनको अग्रसरता अमेरिका र चीन सम्बन्धको एउटा इँटा हुन सक्छ जस्तो तपाईंलाई लाग्छ?
मेरो विचारमा यो हुन सक्छ। मेरो साधारण सिद्धान्त के हो भने वर्तमान अभूतपूर्व परिस्थितिमा अमेरिका र चीनले संवाद गर्नुपर्छ। इतिहासको कोणबाट हेर्दा यस्ता दुई शक्तिबीचको टकराव हुँदा युद्ध अवश्यम्भावी हुन्थ्यो। तर, आपसी विनाशको सुनिश्चितता र कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिलिजेन्स-एआई)को यो समय सामान्य अवस्था होइन।
मशिनहरूले विश्वव्यापी सङ्कट ल्याउन सक्ने क्षमताको शुरूआततिर मात्र छौं हामी। त्यो सङ्कट आणविक मात्र होइन। मानव जातिको विध्वंस गर्ने जुनसुकै खालको पनि हुन सक्छ त्यो। यस्तो अवस्थामा जिम्मेवार नेताको आवश्यकता पर्छ जसले कम्तीमा द्वन्द्व पन्छाउने प्रयत्न त गरोस्।
के तपाईंले यसबारे आफ्ना उत्तराधिकारीसँग छलफल गर्नुभएको छ? खासगरी मिलनबिन्दु फेला पार्ने विषयबारे। हामीले वाशिङ्टनमा केही अधिकारीलाई भेट्यौं, तर त्यस्तो पाइएन।
उनीहरू के सोच्छन् भन्ने मलाई थाहा छ। उनीहरू चीनले संसारको शासन गर्न चाहन्छ भन्छन्। अहिले चाहिं उनीहरू संवादका लागि तयार भए जस्तो देखिन्छ। हामीले चीनलाई कुनै खालको अन्तर्राष्ट्रिय प्रणालीमा ल्याउने प्रयास गर्नै पर्छ। ऐतिहासिक अनुभव र आफ्नै जीवन अनुभवका आधारमा म लोकतान्त्रिक प्रणालीमा जोड दिन्छु। हाम्रो घरेलु प्रणालीले चाहिं आन्तरिक द्वन्द्व घटाउन फेरि सिक्नुपर्ने भएको छ।
तपाईंले बारम्बार चीन र अमेरिका एकै ठाउँमा बसेर आफ्ना स्वार्थबारे कुरा गर्नुपर्छ भन्नुभयो। त्यसो भए सिन्जियाङ प्रान्तमा रहेका उइगुरहरूको मानवअधिकारबारे के हुन्छ? अमेरिकी मूल्य प्रणालीले त मानव अधिकारका निम्ति युद्ध समेतको आह्वान गर्छ।
तपाईं यसबारे कसरी प्रस्तुत हुनुहुन्छ भन्नेले फरक पार्छ। तपाईं आफ्ना मान्यता लाद्नेगरी प्रस्तुत हुनुहुन्छ कि आफ्नो चासो देखाएर निर्णय उनीहरूकै हातमा छोडिदिनुहुन्छ?
के अमेरिका चीनको आन्तरिक मामिलामा चासो राख्छ?
अमेरिकाले चीनको घरेलु परिस्थितिलाई प्रभाव पार्न सक्छ भन्ने धारणा हो त्यो, तर हामी हाम्रो मान्यता अनुसार संसारलाई पुनः संरचना गर्न सक्दैनौं। हामीले सुडानमा प्रयास गर्यौं, अहिले सुडानको हालत के छ, हेरौं। त्यस्तै, भियतनाम र इराक। हाम्रो दृष्टिकोण पश्चिमा अनुभवमा आधारित छ।
पक्कै पनि अधिनायकवादी व्यवस्थाभन्दा म लोकतन्त्रकै पैरवी गर्छु। तर, हामी अभूतपूर्व ध्वंसको सम्भावना भएको समयमा छौं। मशिनहरू त हाम्रो भावना ख्याल गर्दैनन्। चीनले हाम्रा प्राथमिकतालाई समायोजन गर्ने गरेको छ। माओकै युगमा पनि र तङ स्याओपिङको समयमा पनि।
‘अमेरिका यथार्थवाद र आदर्शवादको बीचमा अलमलिएको छ’ भनेर हाम्रो कुराकानीको सार झिक्न सकिन्छ।
हरेक पक्षलाई आफ्नो धारणा नै सही हो भन्ने विश्वास छ। शक्तिमा विश्वास गर्ने मानिसहरूले कुनै सीमा छ भन्ने ठान्दैनन्। अर्कातर्फ, प्रचारकहरूले पनि आफ्नो सीमा छ भन्ने ठान्दैनन्।
के वर्तमान विश्व अझ बढी यथार्थवादी हुनुपर्छ?
अहँ, त्यसो होइन। हामीले हरेक क्षेत्रमा कस्तो परिणाम आउन सक्छ भनेर सही आकलन गर्न थाल्नुपर्छ। हाम्रो सुरक्षा बन्दोबस्त बलियो हुनुपर्छ नभए हामी गैरजिम्मेवार समूहको निगाहमा पर्नेछौं। घेरा कहाँनेर कोर्ने हो, मलाई थाहा छैन। यो त अभ्यासले सिकाउने हो।
हाम्रो शैलीको कूटनीतिमा गोप्यतालाई निकै जोड दिइन्छ। तर, सामाजिक सञ्जालको आजको युगमा त्यो सम्भव देखिंदैन।
त्यो सही हो। मलाई लाग्दैन, आजका राष्ट्रपतिलाई त्यति वेला निक्सनले मलाई चीन पठाए जस्तो गोप्य रूपमा सम्पूर्ण अधिकार दिएर पठाउन त सक्छन्। तर, उपलब्धि त अहिले पनि हासिल गर्न सकिन्छ।
हामीले तपाईंको पुस्तक डिप्लोमेसीको अन्तिम अध्यायलाई वर्तमान सन्दर्भमा पुनःसिर्जना गर्ने कुरा पनि गरेका थियौं।
इमानुएल कान्ट (जर्मन दार्शनिक)ले भनेका थिए- शान्ति कि त मानवबोधबाट आउँछ कि त कुनै प्रलयबाट। उनले कारणहरूले शान्तिको सिर्जना गर्छन् भन्ठान्थे, तर त्यसको सुनिश्चितता गर्न सक्दैनथे। म पनि झन्डै झन्डै त्यस्तै सोच्छु। शान्तिका निम्ति काम गर्ने वर्तमान नेतृत्वले हो। हामी अभूतपूर्व चुनौती र महान् अवसरको समयमा छौं। हामी चुनौतीको शुरूआतमा छौं, अझै चुनौतीले घेरिइसकेका छैनौं।
(द इकोनोमिस्टको अनलाइन संस्करणमा प्रकाशित अन्तर्वार्ताको भावानुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)