‘अमेरिका र चीनले चाहे मात्रै तेस्रो विश्वयुद्ध रोकिन सक्छ’ (भाग-२)
‘आउँदा पाँच वर्षमा अरू विभिन्न पक्षसँग जोडिएर प्रविधि झन् भन्दा झन् खतरनाक हुनेछ।’
हेनरी किसिन्जरले १००औं जन्मोत्सव मनाएका छन्। अन्तर्राष्ट्रिय राजनीतिका जिज्ञासुका लागि यो नाम नौलो होइन। संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री एवं राष्ट्रिय सुरक्षा सल्लाहकार किसिन्जर शीतयुद्धकालमा अमेरिकी विदेश नीतिका दुई परिघटनाका कारण चर्चित छन्।
पहिलो, सन् १९६९ मा तत्कालीन सोभियत संघ र अमेरिकाबीच तनाव कम गराउने प्रक्रिया। क्युबाली मिसाइल सङ्कटसँगै शुरू भएको भनिएको उक्त प्रक्रियालाई परिणाममूलक बनाउन किसिन्जरले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। फलस्वरूप आणविक प्रतिस्पर्धारत दुई महाशक्ति टकरावले ‘परस्पर विनाशको सुनिश्चितता’ (म्युचुअल एज्युम्ड डिस्ट्रक्सशनः म्याड) हुनेमा सहमत भए र नि:शस्त्रीकरण एवं गतिरोधतर्फ लम्किए।
दोस्रो, सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएसँगै भङ्ग भएको चीन-अमेरिका सम्बन्धले पुनर्जीवन पायो। सन् १९७१ को जुलाई र अक्टोबरमा चीनको गोप्य भ्रमण गरेर किसिन्जरले त्यो सम्बन्ध पुनर्निर्माणको शुरूआत गरे, जुन सन् १९७२ मा राष्ट्रपति रिचार्ड निक्सनको चीन भ्रमण र चिनियाँ राष्ट्रपति माओत्सेतुङसँगको वार्तासँगै मुखर भयो। त्यसैले चिनियाँ नेताले उनलाई ‘चिनियाँ जनताको पुरानो मित्र’ भन्ने गर्छन्।
सन् १९७३ मा भियतनाममा शान्ति स्थापनामा पुर्याएको योगदानका लागि भियतनामका ‘ली डक थो’ सँगै संयुक्त रूपमा किसिन्जरले नोबल शान्ति पुरस्कार प्राप्त गरे। खासमा जर्मनीको यहुदी परिवारमा २७ मे १९२३ मा जन्मिएका थिए, किसिन्जर। हिटलरको यहुदी सफायाबाट जोगिन उनको परिवार भागेर सन् १९३८ मा अमेरिका पुगेको थियो। सन् १९४३ मा अमेरिकी नागरिकता पाएका किसिन्जरले हार्वर्ड विश्वविद्यालयबाट सन् १९५२ मा स्नातकोत्तर र सन् १९५४ मा विद्यावारिधि गरे।
यथार्थवादी अन्तर्राष्ट्रिय राजनीतिका पक्षधर एवं अभ्यासकर्ता उनी विवादित पनि छन्, अमेरिका संलग्न विभिन्न युद्धका कारण। तथापि, उनका विचार त्याज्य छैनन्। अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने व्यक्तिमध्ये सम्भवतः सबैभन्दा लामो समय बाँचेका किसिन्जर अझै पनि सक्रिय जीवन बिताइरहेछन्। उनीसँग द इकोनोमिस्टका पत्रकारहरूले गत अप्रिलको अन्त्यतिर दुई दिन गरेर आठ घन्टा लामो कुराकानी गरेका थिए। प्रस्तुत छ, उक्त कुराकानीको भावानुवाद:
मानौं, तपाईंका सुझाव अमेरिका र चीनका नेताहरूले स्वीकार गरे। उनीहरू कूटनीतिक अभ्यासहरू शुरू गर्ने निर्णयमा पुगे। तपाईंले भने जस्तै जलवायु परिवर्तनको मुद्दामा त यो शुरू हुन सक्दैन। यसको साटो अर्को आधार के हुन सक्छ? दुई देशका राष्ट्रपतिहरू वार्ताका लागि बस्न सक्ने क्षेत्रहरू के हुन सक्छन्?
म भए सम्भवतः दुई कामबाट शुरू गर्ने थिएँ। मैले भन्ने थिएँ, सबैभन्दा पहिला ताइवानबारे चर्काचर्की कम गरौं। त्यसका लागि हामीले कुनै घोषणा गरिरहन पर्दैन, काम गरे पुग्छ। ताइवानमा हाम्रो उद्देश्य सुनिश्चित हुनेगरी सेना तैनाथ गराउन सक्छौं। यथार्थ के हो भने, ताइवानलाई वर्तमान अवस्थामै युद्ध मार्फत व्यवस्थापन गर्न सकिँदैन। त्यसैले कूटनीतिक माध्यमबाटै टुङ्गो लगाउने उद्देश्य सम्भव नहुन सक्छ, यदि हामीले यसको घोषणा गरेनौं भने।
दोस्रो, दुवै देशले प्रविधिका प्रभाव सम्बन्धी अनुभवहरू एकअर्कासँग आदानप्रदान गर्नुपर्छ। हतियार नियन्त्रण सम्बन्धमा हामीले बिस्तारै कदम चाल्नुपर्छ जसमा एक पक्षले अर्कोलाई नयाँ सम्भावना सहितका साधन नियन्त्रण गर्न सकिने उपायहरू सुझाउनुपर्छ।
यसबारे रूससँग जोडिएको मेरो अनुभव छ। त्यति वेला मैले ब्रेजनेभसँग हतियार नियन्त्रणबारे वार्ता गरेको थिएँ। हामी प्राविधिक क्षमताबारे छलफल गरिरहेका थियौं। ब्रेजनेभनले भने, “म यी सबै कामका लागि उत्पादन मन्त्रीलाई नियुक्त गर्दै छु।”
ती मन्त्री त्यति वेला बैठकमै थिए। त्यसैले मैले उनीसँग हतियारका क्षमताबारे छलफल थालें। उनलाई हिस्टेरियाको समस्या थियो। मैले बोल्न थालेपछि उनलाई हिस्टेरियाले हान्यो। उनले एकदमै हल्लाखल्ला गर्न थालेपछि उनीहरूले नै कोठा बाहिर लगे। केही बेरपछि फेरि भित्र ल्याए। मैले बोल्ने थालें। उनलाई फेरि हिस्टेरियाले आक्रमण गर्यो। त्यसैले हामीले वार्ता बढाउन सकेनौं।
पछि यसबारे विचार गर्दा रूसका तत्कालीन विदेशमन्त्री ग्रोम्क्यो हतियारको क्षमताबारे जान्दछन् भन्नेमा ढुक्क थिएनौं। किनभने उनी त्यति वेला विदेशमन्त्री मात्र थिए, पोलिटब्यूरो सदस्य पनि भइसकेका थिएनन्। सबैभन्दा ठूलो समस्या के थियो भने, उनीहरूको हतियारको प्रहार क्षमता बढी थियो। हाम्रोले भने सही निशाना लगाउन सक्थ्यो र हामीसँग धेरै प्रकारका हतियार थिए। हतियारमा अघि छौं भन्ने भावना भएकैले हाम्रोतिरका युद्ध पक्षधरले विषमतामा खेल्ने मौका पाए। तपाईंलाई थाहै छ, गलत मानिसहरू निर्णय गर्ने ठाउँमा छन् भन्ने के हुन्छ...।
हामी अहिले त्यो संसारमा छौं जहाँ विशाल र नवीन क्षमता सहितका प्रविधिको आविष्कार भएको छ। ‘के कस्ता परिणाम हुनेछन्’ भन्न त्यति सजिलो छैन।
हामी अहिले त्यो संसारमा छौं जहाँ विशाल र नवीन क्षमता सहितका प्रविधिको आविष्कार भएको छ। ‘के कस्ता परिणाम हुनेछन्’ भन्न त्यति सजिलो छैन। किनभने एलएलएम्स विकास गर्ने मानिसहरू कार्यालय पनि त्यसैगरी सञ्चालन गर्न चाहन्छन् (एलएलएम्स, लार्ज ल्यांग्वेज मोडल्सः एक प्रकारको आर्टिफिसियल इन्टिलिजेन्स अल्गोरिदम जसले नयाँ सामग्रीहरू बुझ्न, सार खिच्न र तयार पार्न विशाल डेटा र गहिरो सिकाइ प्रणाली प्रयोग गर्छ)। उनीहरू कम्प्युटरलाई अधुरा वाक्यहरू पूरा गर्ने तरीका सिकाउन चाहन्छन् र त्यसैगरी अमेरिकी व्यवसायका लागि ती अनिवार्य बनाउन चाहन्छन्। यी नयाँ यन्त्रले मानिसले भन्दा बढी बुझ्छन्। यो नयाँ आविष्कारले हामीलाई जति नै चिनियाँलाई पनि प्रभाव पार्नेछन्।
मलाई के लाग्छ भने, दुई देशका नेताहरूसँग बुद्धिमत्ता र त्यसलाई थेग्ने घरेलु संरचना पनि हुन जरुरी छ। किनभने ‘खतरा टरिसक्यो’ भन्नु पश्चिमा जगत्लाई झनै खतरनाक छ। त्यो नै ठूलो खतरा हो।
यहाँनेर समन्वयको उपाय पत्ता लगाउनु नै प्रश्न बनेको छ। इरान, मध्यपूर्व जस्ता विषयमा समन्वयको सम्भावना छ त? अथवा युक्रेन युद्धकै कुरा गरौं। यी सबै जोखिम लाग्छन्। के साँच्चै नै विश्वास सिर्जना गर्ने अवसरहरू छन् त?
के स्वीकार गर्नुपर्छ भने, हामी निकै नै नयाँ संसारमा छौं जहाँ कुनै पनि विषय सुनिश्चित छैन। चिनियाँ नेताहरूसँगको कुराकानीबाट मैले के बुझेको छु भने, हामी सही दिशामा छौं र उनीहरूले सही व्यवहार देखाए हामीले तिनलाई केही छूट दिनेछौं भन्ने हाम्रो मान्यताले उनीहरूलाई रुष्ट बनाउँछ। त्यस्तै, हामी विश्व व्यवस्था, नियममा आधारित प्रणालीको कुरा गर्छौं जुन नियम हामीले नै बनाएका हौं। उनीहरू जेजस्तो नयाँ नियम बने पनि त्यसको निर्माण प्रक्रियामा सहभागी हुन चाहन्छन्। त्यस्तै अर्को धारणा पनि छ। उनीहरू अमेरिकाले आफूलाई कहिल्यै पनि छूट दिनेछैन, त्यस्तो सोच्नु मूर्खता हो भन्ने ठान्छन्। यसबीचमा एउटा ठूलो परिवर्तन भएको छ, त्यो हो प्रविधिको विकास। यसअघि एलएलएम्सको अस्तित्व नै थिएन। यो प्रविधि कल्पनातीत थियो।
अहिले हामीसँग त्यस्तो प्रविधि छ। यस्तो सूचनासम्पन्न प्रविधि बनाउन अर्बौं डलर लाग्छ। त्यसैले त्यो संसारभर बढीमा १० वटा मात्र हुन सक्छ। यस्तो ज्ञानको एकाधिकार कायम गरेर अर्को देशसँग व्यवहार हुन्छ भने र कुनै देशले त्यस मार्फत शक्ति अभ्यास गर्ने सोच्छ भने पृथ्वीको विनाश सम्भावित हुन्छ। किनभने त्यसको प्रयोगकर्ता स्वयंलाई पनि त्यसका परिणामबारे पूर्ण जानकारी छैन। के नबिर्सौं भने, पहिलो विश्वयुद्ध शुरू गर्नेहरूले पनि ६ महीनामै युद्ध टुङ्गिन्छ भन्ने ठानेका थिए।
त्यसैले अहिलेका नेताहरू बलियो त हुनैपर्छ। तर, उनीहरूले प्रविधिको सीमा तय गर्न सक्दैनन्। अनि सहमति वा व्यवहार वा अप्रत्यक्ष रूपमा जसरी पनि तय गरिने सीमाहरू के हुन्छन् त?
तपाईंले यो विषय निकै स्पष्टसँग राखिदिनुभयो। हामी केही बेरमा यी निर्णय कस्ता परिस्थितिमा तय भए भन्ने पनि कुरा गर्नेछौं। तर, त्योभन्दा पहिला अरू कुरा गरौं। समकालीन संसार थप जटिल र खतरनाक हुनुका कारण अमेरिका र चीन मात्र होइनन्, अरू पनि उदाउँदा शक्तिहरू छन्। त्यस्तै, अस्ताउँदा खेलाडीहरू पनि छन्। तपाईंले रूसबारे कुरा गर्नुहोस् भन्ने चाहन्छौं। तपाईं त पुटिनलाई पनि राम्रोसँग चिन्नुहुन्छ। हामी कहाँ छौं भन्नेबाट शुरू गरौं। रूसले कुनै न कुनै हिसाबले यूरोपको जीवन नै खलबल्याइदिएको छ। छोटोमा भन्दा, ऊ चीनको कनिष्ठ मित्र बन्दै छ, भलै साम्राज्यवादी स्वप्नका साथ उसले युक्रेनमा आक्रमण गरेको किन नहोस्! आज हामी जहाँ छौं, के त्यो अवश्यम्भावी थियो? के यो पश्चिमा कूटनीतिको असफलता हो? वा, यो पुटिनको निर्णयको विध्वंसकारी असफलता हो?
पक्कै पनि पुटिनको यो निर्णय विध्वंसकारी त्रुटि हो। तपाईंले पढ्नुभएकै होला, मैले एउटा लेख लेखेको थिएँ जसमा घटनाक्रम यसरी जान्छ भनेर अनुमान गरेको थिएँ। म के सोच्थें भने, युक्रेनलाई नेटोको सदस्यताका लागि खुला छाडिदिनु गलत हो। त्यो बुद्धिमानी काम होइन किनभने रूसको कोणबाट हेर्दा सन् १९८९ मा उनीहरूले एल्ब नदीसम्मको यूरोप नियन्त्रण गरेका थिए। त्यसपछि उनीहरू त्यहाँबाट पछि हटे। उनीहरू आफ्नै आन्तरिक कारणले पछि हटेका थिए। (एल्ब नदीः मध्य यूरोपमा बहने प्रमुख नदीमध्ये एक। दोस्रो विश्वयुद्धको अन्त्यतिर २५ अप्रिल १९४५ मा पूर्वबाट बढ्दै गरेको रूसी सेना र पश्चिमबाट बढिरहेको अमेरिकी सेना जर्मनीको तोर्गाउ शहरमा यही नदीमा भेटेपछि एकै गठबन्धनबाट लडिरहेका दुवै सेना थामिएका थिए।)
त्यसपछि तिनीहरूले छोडेका हरेक इन्च भूभाग नेटोको हिस्सा बन्न पुग्यो। नेटोको हिस्सा हुन छुटेको भूभाग एउटा मात्रै देश थियो जसलाई उनीहरू प्राकृतिक र ऐतिहासिक रूपमा आफ्नो सानो भाइ ठान्थे। र अब यो पनि नेटोमा गइरहेछ। त्यसैले यो निकै ठूलो मोड, अन्तिम मोड बन्न पुग्यो।
त्यति वेला पुटिनले ‘युक्रेनलाई यूरोपको आर्थिक प्रणालीको हिस्सा हुन रोक्दिनँ, तर नेटोमा चाहिं हुँदैन’ भनिरहेका थिए। युद्धको एक वर्षअघि उनले नेटोको दीर्घकालीन विकासबारे प्रस्ताव पनि तयार पारे। तर, हामी कसैले पनि गम्भीरतापूर्वक लिएनौं। त्यो आफैंमा स्वीकार्य त थिएन, तर शुरूआती बिन्दु बन्न सक्थ्यो। हाम्री वार्ताकार निकै क्षमतावान् महिला हुन्। उनलाई पनि निकै मन पराउँछु, तर उनी पुटिनलाई एकदमै घृणा गर्छिन्। (यहाँनेर किसिन्जरले रूसका लागि अमेरिकी राजदूतलाई इङ्गित गरेका हुन्।)
बर्लिन अल्टिमेटमलाई पश्चिमा जगत्ले कसरी प्रतिक्रिया जनाएको थियो भन्ने तुलना गरौं। म्याकमिलन र आइजनहावरले यसलाई लामो वार्ताको शुरूका रूपमा लिए जुन निक्सन र ब्रेज्नेभले २० वर्षपछि नयाँ बर्लिन सम्झौताका पूर्वाधारहरू तय गर्न नसक्दासम्म जारी रह्यो। नयाँ बर्लिन सम्झौता शीतयुद्धकालभर रह्यो।
विडम्बना, हामीले युक्रेनको हकमा त्यसो गरेनौं। वास्तवमा हाम्रा वार्ताकारहरूले वार्ताका क्रममा ‘नेटोका लागि सदस्यता लिने योग्यता पुगेका जुनसुकै देशले सदस्यता लिन सक्छन्, त्यही नै अमेरिकाको आधारभूत सिद्धान्त हो’ भने। त्यसको अर्थ त रूस नेटो देशहरूबाट पूर्णतः घेरिन्छ भन्ने नै थियो। ल भन्नुस् त, नेटोमा जर्जिया के गर्दै छ? नेटोको प्रतिरक्षा गर्ने सबै अधिकार हामीसँग छ, तर किन बहुपक्षीय संस्थाका रूपमा त?
पुटिनका लागि त नेटोमा युक्रेनको सदस्यता पागलपन नै भइदियो। अब अहिले मानिसहरू मैले यसबारे आफ्नो धारणा परिवर्तन गरें भनेर व्यंग्य गर्छन्। मैले विचार परिवर्तन गर्नुका दुई कारण छन्। पहिलो, हाम्रा लागि अब रूस परम्परागत त्रास भएन। त्यसैले रूसको चुनौतीलाई हामीले फरक सन्दर्भमा हेर्नुपर्छ।
मैले चीनलाई राम्रो भन्ने कुनै पनि रूसी नेता भेटेको छैन। त्यस्तै, रूसप्रति राम्रो धारणा राख्ने कुनै चिनियाँ नेता पनि भेटेको छैन।
दोस्रो, हामीसँग एक हिसाबले शस्त्रअस्त्र सुसज्जित युक्रेन छ जोसँग उत्कृष्ट सेना र यूरोपमै रणनीतिक रूपमा कम अनुभव भएको नेतृत्व छ। यही हिसाबले युद्ध सकियो भने रूसले धेरै थोक गुमाए पनि सेभास्तोपोल कायम राख्नेछ। त्यति वेला रूस र युक्रेन दुवै असन्तुष्ट रहनेछन्। अर्को शब्दमा भन्दा असन्तुष्टिको सन्तुलन बन्नेछ।
त्यसैले यूरोपको सुरक्षाका लागि युक्रेन नेटोमा हुनुपर्छ किनभने उसले भौगोलिक दाबीका लागि राष्ट्रिय निर्णयहरू गर्न सक्दैन।
अर्थात् तपाईं के तर्क गरिरहनुभएको छ भने युक्रेन नेटोमा सहभागी हुने तर्क युक्रेनकै रक्षा गर्नुभन्दा पनि यूरोपका लागि युक्रेनको जोखिम घटाउने हो।
हामीले अहिले युक्रेनलाई जोगाउने क्षमता प्रमाणित गरिसकेका छौं। मेरो विचारमा यूरोपेलीहरूले भनिरहेको कुरा चाहिं निकै खतरनाक छ। किनभने यूरोपेलीहरू अहिले ‘हामी उनीहरूलाई (युक्रेनलाई) नेटोमा राख्न चाहन्नौं किनभने त्यो निकै जोखिम हुन्छ, बरु उनीहरूलाई शक्तिशाली हतियार दिन्छौं’ भनिरहेका छन्। त्यसले कसरी काम गर्न सक्छ त? हामीले यो युद्धलाई गलत तरीकाले टुङ्ग्याउन हुँदैन। यसको परिणाम २४ फेब्रुअरी २०२२ भन्दा अघिको यथास्थिति जस्तो हुनु हुँदैन। अब आउने परिणाममा युक्रेनलाई यूरोपले संरक्षण गरेको र ऊ नितान्त एक्लो राज्य नभएको अवस्था हुनुपर्छ।
पहिला म युक्रेन एक तटस्थ राज्य होस् भन्ने चाहन्थें। म रूसले सन् २०१४ मा जितेभन्दा बढी दिन चाहन्छु। फेरि शान्ति सम्झौताका लागि वार्ता गर्ने मेरो काम होइन। म तपाईंलाई सिद्धान्त बताइरहेछु। त्यो हो, यूरोपसँग बलियो सम्बन्धमा गाँसिएको स्वतन्त्र युक्रेन। चाहे त्यो नेटोको संरक्षणामा होस् वा नेटोको अङ्गका रूपमा। यो आदर्श परिणाम होइन। यो त यस्तो होला भन्ने मेरा दृष्टिकोण हो।
अनि रूसबारे नि? के अब रूस चीनको सानो साझेदार वा अधीनस्थ राज्य हुन बाध्य हो त? त्यसो हुँदाका परिणामहरू के हुन सक्छन्?
इतिहासका हरेक विद्यार्थीलाई थाहा छ, रूस कम्तीमा १५औं शताब्दीदेखि नै यूरोपसँग जोडिएको छ। त्यसैले नै यूरोपको इतिहासमा रूस संलग्न भएको पाइन्छ। त्यस्तै, रूसमा सधैं यूरोपबाट बेग्लै खालको खतरा महसूस गरेको र यूरोपसँग विशिष्ट खालको सम्बन्ध भएको परस्पर बाझिने अनुभूति पाइन्छ। एकातर्फ, उसले यूरोपेली संस्कृति आत्मसात् गर्न खोजेको छ। यूरोपलाई परिभाषित गर्न सघाउने तेस्रो रोमका रूपमा आफूलाई हेर्छ। त्यसैले पुटिनलाई हिटलरबाट प्रभावित नभई फ्योदोर दोस्तोयेव्स्कीका पात्रबाट प्रभावितका रूपमा लिनुपर्छ जसलाई आफ्नै जनताप्रति सन्देह र शङ्का छ। (‘क्राइम एन्ड पनिसमेन्ट’, ‘द इडियट’, ‘ब्रदर कारमाजोभ’ जस्ता कालजयी उपन्यासका रचनाकार रूसी उपन्यासकार दोस्तोयेव्स्कीका अधिकांश पात्र दुविधा र सन्देहले ग्रसित हुनेगर्छन्।)
रूसप्रति मेरो साधारण धारणा यही हो। मैले चीनलाई राम्रो भन्ने कुनै पनि रूसी नेता भेटेको छैन। त्यस्तै, रूसप्रति राम्रो धारणा राख्ने कुनै चिनियाँ नेता पनि भेटेको छैन। पुटिन चीन जाँदा पनि उनीहरूले म्याँक्रोलाई जति शिष्टाचार देखाएनन्। चिनियाँ नेताको इतिहाससँग जसरी फ्रान्सेलीहरू जोडिएका छन्, त्यसरी रूसी जोडिएका छैनन्। चीनमा सङ्केतहरूले ठूलो अर्थ राख्छन् त्यसैले त्यो स्वतःस्फूर्त भएको थिएन।
त्यसो भए अमेरिकी नीति र यूरोपेली नीति, खासगरी अमेरिकी नीतिले चीनलाई रूसबाट अलग्याउने उद्देश्य राख्नु ठीकै हो?
यूरोपमा रूसको पुनःप्रवेश महत्त्वपूर्ण छ। मध्यएशियामा रूस महाशक्तिका रूपमा नभएको भए सिरियाको जस्तो युद्ध शुरू हुन्थ्यो। अहिले सक्रिय राजनीतिक नेतामध्ये भारतका विदेशमन्त्री मेरो विचारको निकट छन्। त्यसैगरी नै उनले परिस्थितिको विश्लेषण गर्छन्। त्यसैले नै भारतले चीनलाई रोकिरहेछ। भारतको महत्त्वपूर्ण पक्ष यही नै हो। तर, एशियामा आफ्नो भूमिका खेल्न भारतलाई नेटो चाहिंदैन।
अर्थात् भारतले अहिले १९औं शताब्दीमा जस्तै शक्ति सन्तुलनको भूमिका खेलिरहेछ?
ब्लुमबर्गमा कार्यरत लिन्ड्से होवार्डले एउटा कार्यक्रम आयोजना गरेकी थिइन् जहाँ म पनि सहभागी थिएँ। त्यस कार्यक्रममा भारतका पूर्व सचिवले अन्तर्राष्ट्रिय प्रणाली अस्थायी गठबन्धनमा आधारित हुनुपर्छ भन्ने तर्क गरेका थिए। उनका अनुसार त्यस्तो गठबन्धन ठूलो बहुपक्षीय संरचना हुनुको साटो तत्काल र भविष्यको आवश्यकता हेरीकन हुनुपर्छ।
उदाहरणका लागि सिंगापुरलाई नै लिऔं। उनीहरू हामीले जस्तै दृष्टिकोण राख्छन्, तर पक्कै पनि स्थायी रूपमा पहिलो पंक्तिमा बस्नेछैनन्। जापान पनि त्यस्तै हो। उनीहरू कता जाँदै छन् भन्ने स्पष्ट छ। उनीहरू पाँच वर्षमा आणविक शक्तिसम्पन्न हुने बाटोमा गइरहेका छन्। र उनीहरू सधैं हामीसँग (पश्चिमा जगत्सँग) निकट हुन चाहन्छन्।
त्यसो त म उनीहरूले हामीलाई असहज हुनेगरी राखेको सम्बन्ध पनि छुटाउँदिनँ। तर, उनीहरू सधैं चीनबारे र आफूसँगको सम्बन्धबारे चिन्तित छन्। त्यसैगरी, मलाई लाग्दैन जापान पनि कुनै विश्वव्यापी बहुपक्षीय प्रणालीको स्थायी सदस्य हुने इच्छा राख्छ जसले उसलाई सीमित पार्छ।
त्यसबारे पछि कुरा गरौंला। तर, अहिले यूरोपबारे कुरा गरौं किनभने यो निकै नै जटिल देखिन्छ। सबैभन्दा पहिला तपाईंले युक्रेन नेटोमा हुनुपर्छ भन्नुभयो। दोस्रो, यूरोपेली ढाँचाको कुरा गर्नुभयो जसका लागि यूरोपेलीहरू नै चाहिन्छन्। के यूरोप रणनीतिक स्वायत्तताका लागि सक्षम छ? त्यस्तो खालको रणनीतिक चिन्तनका लागि ऊ सक्षम छ? छ भने यूरोपको कुन देशले सक्छ?
म बेलायत र फ्रान्सले यसको नेतृत्व लिऊन् भन्ने चाहन्छु किनभने यी दुई देशले यसको अभ्यास पहिला पनि गरेका छन्। खासगरी मध्ययूरोपका सम्बन्धमा फ्रान्स र यूरोप एवं विश्वका सम्बन्धमा बेलायत। जर्मनीसँग विश्वव्यापी र ऐतिहासिक रूपमा सुसङ्गत अनुभव छैन। पक्कै पनि जर्मनीका नेता बिस्मार्क ठूला नेता थिए जसले २० वर्षसम्म यूरोपको नेतृत्व गरे। त्यसपछि भने जर्मनहरूले धेरै पटक सही निर्णय गर्न सकेका छैनन्। उनीहरूले अहिले यस्तो खालको रणनीतिक पुनर्मूल्याङ्कन गर्न थालेका छन्। त्यो किन आवश्यक भयो भने दोस्रो विश्वयुद्धपछि उनीहरूलाई पश्चिमा जगत्सँग जोडिनुपर्ने आवश्यकता पर्यो। अहिले उनीहरू नयाँ क्षमता र विकल्प सहित जोडिँदै पनि छन्।
युक्रेन युद्धपछिको विश्वमा यस्ता विषय त्यही दृष्टिकोणबाट व्यवस्थापन गर्नुपर्छ। अहिले जर्मनीको नयाँ पुस्ता आफ्ना बा र हजुरबाहरूको असफलताको इतिहास पढेर हुर्केको छ। जर्मनी पक्कै पनि अबको प्रक्रियाको महत्त्वपूर्ण भूमिकामा हुनेछ, तर मलाई लाग्छ, यसको बौद्धिक नेतृत्व भने बेलायत र फ्रान्स दुवैबाट आउन आवश्यक छ।
चीनका विभिन्न उद्देश्यमध्ये एउटा त यूरोप र अमेरिकाबीच विभाजन सिर्जना गर्ने पनि हो।
म रूसी र चिनियाँ उद्देश्य अमेरिकी स्वतन्त्रतालाई सीमित पार्ने हो भन्छु। अमेरिकी विचार पद्धतिमा यूरोपले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ। त्यसका लागि विशेष सम्बन्ध हुनुपर्छ। म सधैंभरि बेलायत र अमेरिकाबीचको विशेष सम्बन्धमा विश्वास राख्छु किनभने यो हाम्रो इतिहासको स्वाभाविक परिणाम हो। मानिसहरू त्यस्तै सोच्छन्। त्यसैले बेलायतले त्यो भूमिका खेल्न सक्छ यद्यपि पछिल्ला वर्षहरूमा उसले त्यही मात्रामा त्यो भूमिका खेलिरहेको छैन।
जहाँसम्म फ्रान्सको प्रसङ्ग छ, शार्ल द गुल फ्रान्स (दोस्रो विश्वयुद्धकालीन फ्रान्सेली नेता)ले आफैंलाई स्वायत्त ठानेर व्यवहार नगर्दासम्म आफूले गर्नुपर्ने भन्ने ठानिएको भूमिका पूरा गर्न सक्दैन भन्ठान्थे। म पनि अमेरिकी गठबन्धनले हरेक रणनीतिक बिन्दुमा अमेरिकालाई नै पछ्याउनुपर्छ भन्ने ठान्दिनँ। तर, हामीसँग रणनीतिक रूपमा एउटा समझदारी हुनुपर्छ। हामी के हासिल गर्न चाहिरहेछौं? र हामी के नहोस् भन्ने चाहन्छौं? यस्ता विषय स्पष्ट हुनुपर्छ। इराक जस्ता विशेष मुद्दामा ठूला विषमता हुन सक्छन्। तर, परिष्कृत बन्दोबस्तमा यूरोपले निश्चित क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। म स्वायत्ततालाई अस्वीकार गर्दिनँ।
त्यसो भए तपाईं फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याँक्रोको नेटोको मस्तिष्क मृत्यु भइसकेको भन्ने टिप्पणीप्रति रुष्ट हुनुहुन्न? के उनीहरूले आफ्नो स्वायत्तता अभिव्यक्त गरेका हुन्?
नेटो कायम नै रहनुपर्छ। तर, विश्वको भविष्यका सबै क्षेत्रबारे निर्धारण गर्ने ठाउँ होइन यो। नेटोका लागि प्रशस्त योगदान भइसकेको छ। धेरै असल मानिस यसमा विश्वास गर्छन् र देशहरूको यसप्रति झुकाव पनि छ। तर, तपाईंले अहिले मलाई सोधिरहनुभएका संसारका तमाम विषयबारे सिर्जनात्मक नीति विकास गर्ने ठाउँ नेटो हो भन्ने म ठान्दिनँ। यसको सबैभन्दा ठूलो उपयोगिता नै यूरोपको रक्षा हो। त्यही हदसम्म नै यूरोपेली देशहरूले यसमा भाग लिएका छन्। उदाहरणका लागि इराक युद्धमा यूरोपेली देशको सहभागिता अमेरिकी आडको सुनिश्चितताका लागि थियो। पूर्वी यूरोपेलीहरू भने फरक छन्, तर उनीहरूले तात्कालिक त्रास बढी महसूस गरिरहेछन्।
के हामी अमेरिकाबारे केन्द्रित हुन सक्छौं?
अमेरिकामा केन्द्रित हुनभन्दा म के भन्न चाहन्छु भने, म चीनलाई आवश्यकताभन्दा बढी चुनौती दिन चाहन्नँ। त्यस्तै, म जर्मनहरूलाई पनि दुःखी बनाउन चाहन्नँ।
तपाईंको धारण बुझ्यौं, दीर्घकालसम्म रूस र चीन सँगै जान सक्दैनन् किनभने उनीहरूमा एकअर्काप्रति शङ्का र तिरस्कार छ। तर, अहिले त उनीहरू सँगै छन्। उनीहरूले सफलतापूर्वक सहकार्य गरे भने तत्कालै के हासिल गर्न सक्छन्? उनीहरूले सँगै काम गर्दा हामीले केबारे चिन्ता गर्नुपर्छ?
सैद्धान्तिक रूपमा तपाईं के भन्न सक्नुहुन्छ भने, विकासशील विश्वलाई आफैंबीच विभाजन गर्न सके भने त्यसले उनीहरूलाई ठूलो प्रभाव पार्नेछ। जबसम्म उनीहरू दुवैले अमेरिकालाई आफ्नो त्रासका रूपमा लिन्छन् र रूसलाई जस्तै चीनलाई पनि एक्ल्याउने प्रयास भइरहेको छ भन्ठान्छन् तबसम्म उनीहरू एकै ठाउँमा हुनेछन्।
तर, उनीहरू स्वाभाविक साझेदार होइनन्। इतिहास पल्टाउने हो भने दुवै देश अनेकौं सङ्कटबाट गुज्रिएको पाइन्छ, तर कुनै पनि सङ्कटमा एक देशको नेताले अर्को देशसँग गठबन्धनका लागि पैरवी गरेको पाइँदैन। पक्कै पनि इतिहासको ठूलो कालखण्डसम्म चीन त्यस्तो भूमिका पूरा गर्नेगरी बलियो पनि थिएन।
राष्ट्रपति फोर्डसँग म रूसको भ्लादिभोस्तोक पुगेपछि तुरुन्तै ‘त्यसबारे बताउन’ चीन गएँ। खासमा म रूसीहरूलाई हामीसँग चिनियाँ विकल्प पनि छ भन्ने देखाउन चाहन्थें। त्यति वेला चीनका नेता तङस्याओ फिङ थिए। उनले मलाई भ्लादिभोस्तोक कस्तो लाग्यो भनेर सोधे। मैले आफूलाई जे प्रभाव परेको थियो, त्यही भनें, “संसारमा त्यतिको चिसो ठाउँ मलाई थाहा थिएन।”
कुनै चलाखी विना मैले भनें, “अहिले मैले बुझें, तपाईं चिनियाँहरू किन अहिलेसम्म त्यहाँ जानुभएन।”
तङले भने, “हामी त्यहाँ कहिल्यै गएका छैनौं भनेर तपाईंले के भन्न खोज्नुभएको? त्यो हाम्रो हो।”
उनले त्यसको नाम चिनियाँ भाषामा लिँदै भने, “ती सबै शहर हाम्रा हुन्।” त्यसपछि उनले मलाई त्यस क्षेत्रमा रहेका सबै शहरको चिनियाँ नाम सुनाए।
खासमा अस्ति भर्खर मात्र, अमेरिका र चीनबीच सम्बन्ध स्थापना भएपछि मात्र चीनले १९औं शताब्दीका सीमाहरू स्वीकार गरेको हो। यी अधिकांश भूमि १९औं शताब्दीमा मात्र रूसमा गाभिएका हुन्। (मिङ वंशको शासनकालमा ती शहरहरू चीनतिर पर्थे।)
त्यसैले उनीहरूले सहकार्य गर्न सक्ने क्षेत्र के हुन् त? भारतले केही हदसम्म रूसी हातहतियार किनेर सहकार्य गर्न सक्छ। अनि मध्यपूर्वमा? त्यो पनि स्वाभाविक गठबन्धन होइन। अनि चीनमा नि? चिनियाँ जनताले रूससँग लिनुपर्ने के नै छ र?
तिरस्कार।
तिरस्कार। हो, आधारभूत दृष्टिकोण त त्यही हो। हाम्रा लागि बुद्धिमानी चाहिं हामी उनीहरूलाई चीनबाट अलग्याउँदै छौं नभन्नुमा नै हुन्छ। तर, यो हाम्रो मनमा भने हुनुपर्छ। यसका लागि पूर्व शर्त चाहिं हामीले युद्धमा रूसलाई पूर्णतः ध्वंस गर्न हुँदैन।
युद्धपछि हामीले यूरोपमा उसको आबद्धता महत्त्वपूर्ण उद्देश्य हो भनेर घोषणा गर्न सक्छौं। यद्यपि यो असम्भव छ। पश्चिमी यूरोपेलीहरूले यसलाई त्यति सजिलोसँग लिँदैनन्।
मलाई लाग्दैन, चीनले आफ्नो इतिहासभरमै संसारमा प्रभुत्व स्थापना गर्ने उद्देश्य राखेको छ। उनीहरूको उद्देश्य त्यो हदसम्म आफ्नो क्षमता विस्तार गर्ने हो जसका कारण अरू देशहरूले चीन अनुकूल नीति बनाऊन्।
के चीनका कुनै स्वाभाविक साझेदार छन्?
उनीहरूले आफूलाई साझेदार चाहिने देशका रूपमा लिँदैनन्। सन् १९७३ मा पहिलो पटक बेलायती राजदूत त्यहाँ पुग्दा उनलाई निकै सम्मान गरियो। तर, स्थायी दूतावास चाहिं सम्भव छैन भने। उनीहरूले भने, ‘तिमी बस्न चाहन्छौ भने चिनियाँले जस्तै लुगा लगाउनुपर्छ, तर कहिल्यै जान पाउने छैनौ।’
त्यो प्रवृत्ति अहिले पनि कायम छ। मलाई लाग्दैन, चिनियाँहरू आफूलाई लागू गरिएको सार्वभौमिकताको मान्यतासँग सहज छन्। चीनको स्वाभाविक साझेदार त्यति वेला मात्र हुन्छ जब दुवैको साझा गुनासा हुन्छन्। तर, यी त सब अनुमान मात्र हुन्।
त्यसो भए हामीले सम्बन्ध राखिरहेको चीन त्यस्तो देश हो जसले आफूप्रति सम्मानभन्दा पनि त्रास सिर्जना गर्न चाहन्छ वा ऊ आफूलाई केन्द्रमा राखिएको परम्परागत संरक्षण प्रणाली (ट्रिब्युटरी सिस्टम) पुन:सिर्जना गर्न चाहन्छ? त्यो त प्रभुत्वबारे पश्चिमा दृष्टिकोणभन्दा एकदमै फरक हो।
हामी सचेत हुनुपर्छ भन्न मलाई कुनै समस्या छैन। हामीले परस्पर प्रेमको पाठ सिकाउन सक्छौं पनि म भनिरहेको छैन। अमेरिकीहरूका लागि यो निकै गाह्रो काम हो। गठबन्धनबारे हाम्रो आजको धारणा १९औंं शताब्दीको भन्दा फरक छ। गठबन्धन सम्बन्धी हाम्रो धारणा भनेको अमेरिकाको महत्त्वपूर्ण योगदान सहितको समान चिन्तन भएको प्रणालीको स्थापना हो, तर त्यहाँ पूर्ण समानता भने हुँदैन। चीनसँग तुलना गर्दा, समस्या बाँड्ने कोणबाट हाम्रो प्रणाली बढी व्यावहारिक देखिन्छ।
अब अमेरिकामा केन्द्रित होऔं। हामीले छलफल गरिरहेको संसारलाई परिभाषित गर्ने मामिलामा अमेरिका केन्द्रीय भूमिकामा छ। सम्भवतः हाम्रो समीक्षा आज अमेरिका कहाँ छ भन्नेबाट शुरू हुन्छ। यो प्रश्नसँग भने पहिलेदेखिको सैद्धान्तिक तनाव जोडिएको छ। त्यो तनाव आदर्शवाद (आइडियलिज्म) र रियलिज्म (यथार्थवाद) बीचको हो। यो अलमलबीच अमेरिका कहाँ छ?
राजनीतिक रूपमा अमेरिका निकै अनौठो अवस्थितिमा छ। सामान्यतः डेमोक्रेटहरू शुद्ध आदर्शवादका पैरवीकर्ता हुन्छन् र रिपब्लिकनले यथार्थवादमा विश्वास गर्छन् भन्ने ठानिन्छ। तर, यसको ठ्याक्कै उल्टो भएको छ। आमजनमानसमा भने चिनियाँप्रति एकै खालको त्रास छ र व्यावहारिक रूपमा हामीले पहिलो र दोस्रो विश्वयुद्धमा जस्तै यस पटक पनि जित्नेछौं भन्ने विश्वास छ।
पक्कै पनि जर्मनीसँगको युद्ध अन्त्य गरेकोमा अमेरिकाले श्रेय पाउनुपर्छ। तर, दोस्रो विश्वयुद्धपछिको इतिहास हेर्ने हो भने, हामीले अन्य क्षेत्रमा भएको युद्धमा गडबड गरेका छौं। जसको शुरूआत कोरियाली युद्धबाट भएको हो। कोरियाली युद्धमा जानु निर्णय सही थियो। यो भियतनाम युद्धको उपोद्घात बन्न पुग्यो। त्यो के अर्थमा भने, चिनियाँहरूले शुरूमा हामीलाई हराउने प्रयत्न गरे, तर पछि अमेरिकी शक्तिको सीमा देखाउनेमा सीमित भए। हाम्रो प्रभुत्व यति प्रभावकारी थियो, त्यसैले नै चिनियाँहरू हामीलाई हराउन सकिँदैन भन्ने टुङ्गोमा पुगे। तर, भियतनाममा यूरोपेली कर्मचारितन्त्रको भूमिका पूरा गर्न सक्ने कुनै क्षेत्र थिएन जहाँ हामीले प्रजातान्त्रिक राज्य स्थापना गर्न सकौं।
त्यसैले अमेरिकामा यथार्थवादी र तथाकथित आदर्शवादीबीचको विभाजन सिर्जना हुन पुग्यो। तर, युद्धमा जाने र पाँच लाख ५० हजार सेना खटाउने कोही पनि यथार्थवादी थिएनन्। उनीहरू त विजय सम्भव छ भनेर विश्वास गर्ने आदर्शवादीहरू थिए। ‘राष्ट्रिय सुरक्षा सल्लाहकार’ हुँदा प्रकाशन गरेको एउटा लेखमा मैले यसबारे उल्लेख गरेको छु।
तर, तपाईंले भन्नुभयो, अहिले दुवै आदर्शवादी र यथार्थवादीको चीनप्रति चासो छ, जसका विभिन्न कारण छन्। के अहिले अमेरिका आदर्शवादी शक्ति रहेन?
विरोधाभास के हो भने, शक्तिको महत्त्वलाई ठूलो स्वरमा प्रस्तुत गर्नेहरू आदर्शवादी छन् र यथार्थवादीहरू त्यसैमा स्वभावतः जोडिएका छन्। फ्लोरिडाका गभर्नरले अमेरिका युक्रेन युद्धबाट बाहिरिनुपर्छ भनेको थाहै छ। परम्परागत यथार्थवादीले यस्तो कहिल्यै भन्दैनन्।
मुख्य प्रश्न के हो भने, के चीनको त्रास उचित छ त? यो उचित छ भने हाम्रो नीति पर्याप्त छ त? मलाई लाग्दैन, चीनले आफ्नो इतिहासभरमै संसारमा प्रभुत्व स्थापना गर्ने उद्देश्य राखेको छ। उनीहरूको उद्देश्य त्यो हदसम्म आफ्नो क्षमता विस्तार गर्ने हो जसका कारण अरू देशहरूले चीन अनुकूल नीति बनाऊन्। यूरोपेली सन्दर्भको प्रभुत्व भनेको अर्को देशमा भौतिक रूपमै उपस्थित हुने हो। यूरोपमा ससाना राज्यहरू हुने भएकाले यस्तो धारणा विकास भएको हो।
भारतमा चाहिं पहिलेदेखिको बेलायती शिक्षा प्रणालीका कारण हामी विभिन्न निजी संस्थालाई प्रोत्साहन गरेर प्रजातन्त्रको पक्षमा जोड दिन सक्छौं।
चीनको इतिहासमा भने उनीहरूको ठूलो त्रास घरेलु उलटफेरप्रति हुने गरेको छ। उनीहरूले सधैं विदेशीलाई बाहिरै राख्न चाहेका छन्। त्यसैका लागि उनीहरूले ग्रेट वाल बनाए। त्यसैले मेरो प्रश्न के छ भने, समयक्रममा उनीहरूले प्रभुत्व हासिल गरे नै भने पनि, के उनीहरूले चिनियाँ संस्कृति लाद्न त्यसको प्रयोग गर्छन् त? मलाई थाहा छैन। मेरो अन्तर्बोधले भन्छ, त्यसो गर्दैनन्। तर, म त्यसको परीक्षण हुने तहसम्म जान चाहन्नँ।
मलाई लाग्छ, त्यो बिन्दुसम्म पुग्नबाट रोक्ने क्षमता हामीमा छ। कूटनीति र शक्ति प्रयोग दुवैबाट हामीले त्यसो गर्न सक्छौं। तर, हामी त्यसमा असफल भयौं भने त्यसबाट हुने पहिलो परिणाम हो, संसारभरबाट हाम्रो प्रभाव खण्डित हुनेछ।
तपाईंले अमेरिकामा दुवै पक्ष चीनको त्रासबाट प्रेरित छन् भन्नुभयो। तर, एक पक्षले त विल्सनीयन सिद्धान्तहरूलाई नै जोड दिइरहेछ जुन आफैंमा प्रजातान्त्रिक र एकतन्त्रबीचको विवाद हो। (अमेरिकाका २८औं राष्ट्रपति विल्ड्रो विल्सन उदारवादी आदर्शवादको पैरवी गर्थे।)
फ्रान्सेली राज्यक्रान्ति शान्तिपूर्ण हुन सकेन। पक्कै पनि, प्रजातान्त्रिक व्यवस्थामा निर्णय प्रक्रियामा आमजनताको ठूलो प्रभाव हुन्छ जसले गर्दा अर्थपूर्ण तवरले निर्णय गरिन्छ। प्रजातान्त्रिक व्यवस्थामा बाँच्नुको विशेषता नै यही हो।
फरक के हो भने, प्रजातान्त्रिक शक्तिको सुरक्षा गर्नुपर्छ। यो सीमित रूपमा अरूको हितका लागि प्रयोग गर्नुपर्छ। यदि विपक्षीलाई पन्छाउन यसको प्रयोग गरिन्छ भने द्वन्द्व झनै पेचिलो हुन्छ। आणविक हतियारको हस्तक्षेपपछि अमेरिकी नीतिमा सैन्य र राजनीतिक उद्देश्यबीचको सम्बन्ध प्रमुख र गम्भीर उद्देश्य बन्न पुगेको छ।
मानिसहरू एकतन्त्रीय शासन विरोध गर्ने र प्रजातन्त्रको पक्षपोषण गर्ने विषयलाई सैन्य विषय बनाउने गर्छन्, म त्यसको विपक्षमा छु। यसबाट उदाउन सक्ने रणनीतिक खतराहरूको विश्लेषण गर्दा यसले हामीलाई पनि नोक्सान पुर्याउँछ। तथापि प्रजातान्त्रिक प्रक्रियामा सङ्कट आउँदा हामीले त्यसका निम्ति लड्ने निर्णय त गर्नैपर्छ। त्यो मामिलामा हामी यूरोपमा धेरै हदसम्म सफल भयौं। तर, यूरोप बाहिर यही प्रयोग गर्दा हाम्रो एकता अल्पकालीन हुन पुग्यो।
तपाईंको मतलब, इराकमा?
हो, इराकमा। इराकमा जाने र सद्दाम हुसेनलाई हटाउने अनि गल्फ युद्धपछि हामीले जे गरेका थियौं त्यही गर्ने अर्थात् स्वाभाविक विकास हुन दिने (हामीले अफगानिस्तानमा सोभियत संघलाई हटाएपछि पनि त्यही गरेका थियौं), यो सबैको म पक्षपाती थिएँ। मैले त्यति वेला ‘बेल्जियन शैलीको तटस्थीकरण’ को प्रस्ताव गर्दै एउटा लेख पनि लेखेको थिएँ जसमा आतङ्कवादका विरुद्ध सबै प्रभावित देशहरूले सहकार्य गर्नुपर्ने तर्क गरेको थिएँ। अफगानिस्तानको अभिशाप के भने, कुनै पनि अफगान सरकारले त्यहाँ बाह्य शक्तिको साथ विना शासन गर्न सक्दैन।
स्पष्ट हुनका लागि मात्रै, यो प्रजातान्त्रिक विरुद्ध एकतन्त्रवादी भन्ने अहिले वाशिङ्टनमा फेशन छ। के तपाईंलाई लाग्छ, यो विवादले अमेरिकाले चीनका सन्दर्भमा हासिल गर्नुपर्ने रणनीतिक उद्देश्यहरू प्राप्त गर्ने मामिलामा कमजोर बनाइरहेछ? के यसले साझेदारहरू घटाइरहेको र उदाउँदा अर्थतन्त्रको समर्थन कम गराइरहेको छ?
हामीले चाहे जस्तो बहुपक्षीय र स्थायी प्रकृतिको गठबन्धन बनाउने सम्भावना कम गरे पनि म अरू गठबन्धनमा बढी जोड दिन्छु, जस्तै- अस्ट्रेलियासँगको गठबन्धन। त्यस्तै, म भारतसँग पनि नजिकको सम्बन्ध राख्नेबारे एकदमै उत्साही छु। अमेरिकी नीतिलाई चीनविरोधी भनेर परिभाषित गर्ने मामिलामा म सावधान छु, तर म एशियाबाट निस्किहाल्ने पक्षमा पनि छैन।
के भारत सही छनोट हुन सक्छ? हुन त खासगरी चीनको सन्दर्भमा भारत र अमेरिकाका रुचिहरू मेल खान्छन्। तर, विल्सनवादी कोणबाट हेर्दा त नरेन्द्र मोदीको सरकारसँग मेल खाँदैन। मोदी सरकार झन् झन् दमनकारी र मुस्लिमविरोधी हुँदै गइरहेछ, प्रेसलाई कुण्ठित बनाइरहेछ, न्यायालयमा हस्तक्षेप गरिरहेछ। त्यसैले भारतमा एउटा महत्त्वपूर्ण परीक्षण भइरहेको छ। के अमेरिकाले विल्सनवादी सिद्धान्तहरू र हावी हुँदै गएको राष्ट्रिय हितबीचको तनावमाझबाट सोच्न सक्छ? तपाईं यसबारे के सोच्नुहुन्छ? अहिलेको भारतबारे तपाईंको धारणा के छ? भविष्यमा यो कस्तो हुनुपर्छ?
चीनसँगको द्वन्द्वका सन्दर्भमा भारतीय सेनालाई सुदृढ गराउनेमा म सहमत छु किनभने भारतमाथि चीनको सैन्य विजयले भारतमा सबैखाले गृहयुद्ध बढाइदिन सक्छ। त्यसैले त्यस विशेष उद्देश्यले म भारतलाई सहयोग गर्नुपर्छ भन्ठान्छु। भारतमा चाहिं पहिलेदेखिको बेलायती शिक्षा प्रणालीका कारण हामी विभिन्न निजी संस्थालाई प्रोत्साहन गरेर प्रजातन्त्रको पक्षमा जोड दिन सक्छौं। भारत र अमेरिकाबीच दार्शनिक विषयमा छलफलको स्वतन्त्रता छ।
तपाईंले मानिसलाई भविष्यप्रति विश्वास राख्न सिकाउनुभएन भने जीवनका अप्ठ्यारा निर्णयहरू गर्ने वेलामा उनीहरू खास समस्या के हो भन्नेमा अलमलिनेछन्।
म सरकारमा छँदा हाम्रा कतिपय नीतिबारे भारतीयहरू आफ्नो दृष्टिकोण बताउन अप्ठ्यारो अवस्थामा थिए। तर, त्यसले हामीलाई भारतको विरोधी कहिल्यै बनाएन। अहिले भारतसँग गठबन्धनको सम्भावना फराकिलो छ। अहिले भारतीयले जसरी विदेश नीति सञ्चालन गरिरहेछन्, त्यसप्रति ममा ठूलो सम्मान छ। उनीहरूले विभिन्न परिस्थितिमा कसरी निर्णय गर्नेछन् त? मलाई थाहा छैन।
भारतसँगको हाम्रो इतिहास जोडिएका कारण हामीले पहिले नै धेरै संवाद गरिसकेका छौं। हामीले प्रजातन्त्र र शक्तिको विषय सँगै राख्दा हामीलाई बुझ्ने सम्भावना ठूलो छ। भारतीयहरू निकै सक्षम छन्। हजारौं वर्षको विदेशी शासनमा पनि आफ्नो सरकार विना उनीहरूले आफ्नो अस्तित्व कायम राखेका छन्। त्यसले निकै ठूलो सामाजिक दृढता प्रदर्शन गर्छ। वास्तवमा त्यो निकै महत्त्वपूर्ण सामाजिक दृढता हो।
अमेरिकाको घरेलु सन्दर्भको कुरा गरौं। कस्तो कस्तो घरेलु परिस्थितिमा अमेरिकी रणनीति तर्जुमा हुँदै आएको छ? तपाईं पदमा हुँदा र अहिले यसमा के परिवर्तन आएको छ? आधुनिक अमेरिकी राजनीतिक जीवनमा दीर्घकालीन रणनीतिक चिन्तनको सम्भावना छ त?
त्यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो जुन जसरी पनि समाधान गर्नुपर्छ। समाधान गर्न सकेनौं भने हाम्रो असफलताको जुन भविष्यवाणी गरिएको छ, त्यो सत्य सावित हुनेछ। अहिले भइरहेका छलफलप्रति म निकै चिन्तित छु। यो निकै लामो समयदेखि भइरहेछ। निक्सनमाथि लगाइएका आरोपसँग तुलना गरेर हेर्नुस् न। उनी कानूनी रूपमा आफ्ना विपक्षी विरुद्ध त लडे, तर कहिल्यै आफ्ना आलोचकका नियतलाई आक्रमण गरेनन्। अहिले त वाटरगेट काण्डको जस्तो समान परिस्थितिले देशलाई गृहयुद्ध जस्तो अवस्थामा डोर्याउन सक्छ।
यसैले मलाई चिन्तित बनाएको छ। म पहिलो पटक वाशिङ्टन आउँदाभन्दा अहिलेको राजनीतिक बहसको प्रकृति निकै फरक छ। तपाईं चिन्नुहुन्छ कि नाइँ, जो एल्पस् (त्यति वेलाका नामी पत्रकार) निकै गजबका पात्र थिए जसले हरेक आइतबार राति द्विपक्षीय डिनर दिन्थे, जसमा दुवै पार्टीका नेताहरू निम्त्याइएका हुन्थे। ती नेताहरू प्रखर थिए, तर कठोर थिएनन्।
जर्ज म्याकगोर्भन र मबीच मित्रतापूर्ण सम्बन्ध थियो जुन अहिले सुरक्षा सल्लाहकार र विपक्षी पार्टीका क्याबिनेट सदस्यबीच हुने कल्पना पनि गर्न सकिँदैन। म उनीसँग नियमित जस्तो भेट्ने गर्थे। तमाम दुश्मनीका बावजूद निक्सनकालमा पनि एक तहको एकता थियो। त्यसपछिका हरेक राष्ट्रपतिको कार्यकालमा यो घट्दै गयो। तर, मलाई लाग्छ, ट्रम्प र अहिले बाइडेनले यो वैरभावलाई चुलीमा पुर्याएका छन्। अहिले वाशिङ्टनमा त्यस्तो खालको छलफल देखिँदैन।
रणनीतिक दृष्टिकोण निर्माण गर्न तपाईंले आफ्नो देशलाई विश्वास गर्नैपर्छ। केही हदसम्म हाम्रो शिक्षण प्रणालीमा पनि समस्या छ जसले देशका खराबीहरूलाई बढी जोड दिन्छ। पक्कै पनि त्यस्ता खराबी हाम्रा ऐतिहासिक समस्या हुन्। यसबारे मेरो मनमा कुनै शङ्का छैन। तर, तपाईंले मानिसलाई भविष्यप्रति विश्वास राख्न सिकाउनुभएन भने जीवनका अप्ठ्यारा निर्णयहरू गर्ने वेलामा उनीहरू खास समस्या के हो भन्नेमा अलमलिनेछन्।
त्यसको अर्थ १९५० र १९६० को दशकमा अमेरिकाको रणनीतिक चिन्तन अमेरिकी क्षमताबारे आमजनताको धारणामा आधारित हुन्थ्यो, अहिले हुँदैन भन्ने हो?
अमेरिकाको मूल्यबारेको आमधारणामा आधारित थियो।
के अमेरिकाको मूल्यबारेको त्यो धारणा अहिले हराएको छ?
केही हदसम्म।
मलाई प्रविधिको वर्तमान समय छापाखानाको आविष्कार हुनुअघिको समयसँग तुलनायोग्य लाग्छ। त्यति वेला पनि नयाँ प्रविधिले संसारप्रतिको पूर्व स्थापित धारणालाई चुनौती दिएको थियो। यसले सबैलाई प्रभाव पार्नेछ, तर समग्र पाटोमा यसको प्रयोगलाई नियन्त्रण गर्न सक्ने थोरै मात्र हुनेछन्।
बेइजिङमा सुनिने ‘अमेरिका अवनतिउन्मुख शक्ति’ भन्ने त्यही हो?
मशिनसँग कुराकानी गर्न सिकिरहेको विश्वमा सहअस्तित्वका सिद्धान्तहरू सिक्नु अमेरिकी र सबैका लागि अप्ठ्यारो काम हो। अहिले त्यही भइरहेको छ। यो प्रक्रियाबाट हामीले के सिक्नेछौं भन्ने पनि हामीलाई थाहा छैन।
हाम्रो सन्दर्भमा त्यो प्रविधि एउटा यस्तो तत्त्व हो जसले नाटकीय परिवर्तन ल्याएको छ। त्यसबारे फेरि कुरा गरौं। तपाईं १०० वर्षको हुनुभयो र भविष्यमा प्रविधिबारे किताब लेखिरहनुभएको छ। यो साँच्चै नै प्रभावशाली छ। हामीले छलफल गरिरहेको रणनीतिक चिन्तनलाई प्रविधिले अझ जटिल बनाउनेबारे तपाईं कत्तिको चिन्तित हुनुहुन्छ?
मलाई प्रविधिको वर्तमान समय छापाखानाको आविष्कार हुनुअघिको समयसँग तुलनायोग्य लाग्छ। त्यति वेला पनि नयाँ प्रविधिले संसारप्रतिको पूर्व स्थापित धारणालाई चुनौती दिएको थियो। यसले सबैलाई प्रभाव पार्नेछ, तर समग्र पाटोमा यसको प्रयोगलाई नियन्त्रण गर्न सक्ने थोरै मात्र हुनेछन्। त्यो नै वर्तमान संसारका लागि सबैभन्दा ठूलो समस्या हो।
यूरोपले वर्तमानसँग तुलनीय आफ्नो इतिहासबाट सिक्नुपर्ने थियो। छापाखानाको आविष्कारपछि १६औं र १७औं शताब्दीमा रक्तपातपूर्ण र ध्वंसात्मक युद्धबाट यूरोप गुज्रिएको थियो, जतिवेला मध्ययूरोपका हरेक तेस्रो मानिस परम्परागत हतियारबाट मारिएका थिए।
त्यो युद्धपछि नै सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानूनको अवधारणा सर्वव्यापी भयो। केही अमेरिकी चीनलाई हामीले हराउन सक्यौं भने ऊ प्रजातान्त्रिक र शान्तिपूर्ण हुनेछ भन्ठान्छन्। तर, चीनको इतिहासमा यस्तो कुनै नजीर छैन। त्यसले त विभिन्न प्रतिस्पर्धारत समूहबीच गृहयुद्ध शुरू गरिदिनेछ। सिद्धान्तमा टेकेर भएका गृहयुद्धले विध्वंशमा नयाँ तत्त्व थप्नेछन्। चीनलाई विघटनतिर डोर्याउने हाम्रो स्वार्थ होइन।
आधुनिक मिडिया, समाचार चक्र र सामाजिक सञ्जालले अमेरिकी नीति तर्जुमा प्रक्रियालाई कत्तिको जटिल बनाएको छ?
मेरो जोड नै सन्तुलन र मध्यस्थतामा छ। त्यसलाई संस्थाकरण गर। मेरो उद्देश्य त्यही हो। त्यो सधैं सफल हुन्छ/हुँदैन भन्ने बेग्लै कुरा हो। म पहिलो पटक वाशिङ्टन आउँदा पत्रकार सम्मेलनमा भाग लिएको अनुभव नै थिएन। त्यसैले मलाई यो सबै सिक्नुपर्ने थियो।
अर्कातर्फ, मिडिया निक्सनको विपक्षी भएको थियो। तर, प्रिन्ट मिडियामा १५ देखि २० जना मानिसहरू राष्ट्रिय एकताबारे सोच्थे। उनीहरू सधैं मेरो समर्थन त गर्दैनथे, तर भियतनामको विषयमा मैले उनीहरूसँग वार्ता गर्न सकें। म सधैं १५ जना पत्रकारलाई भेट्थे। उनीहरूलाई हरेक दिन एक घण्टा भेट्थें। म कडा प्रश्नको जवाफ त कमै दिन्थें। तर, उनीहरू त्यो सबै कुरा बुझ्थे।
त्यसैले नै स्कटी रेस्टन, वाल्टर रिपम्यान जस्ता निक्सनका सदाबहार आलोचकसँग वार्ता गरिरहन सम्भव भयो। अहिले म उनीहरू जस्ता धेरै देख्दिनँ। चिन्तनशील मिडियाका लागि कुनै पुरस्कार छैन। त्यो नै ठूलो समस्या भएको छ।
अर्थात्, तपाईंले कुरा गरिरहनुभएको शिक्षाको समस्या र अमेरिकाको महत्त्वबारे निराशालाई एकै ठाउँमा राखौं, ती दुवैले संसारमा अमेरिकाको सौम्य शक्ति (सफ्ट पावर)लाई के प्रभाव पारेका छन्? त्यसका परिणतिहरू के हुन सक्छन्?
हामीसँग कस्तो मिडिया छ भन्नेले प्रभाव पार्दैन। अहिले हामी युगकै संक्रमण कालमा छौं। यस्तो वेला मिडियालाई मात्र दोष थापेरेर हुँदैन। हामीलाई महान् नेताहरू वा कुशल नेताहरू चाहिन्छ। गेराल्ड फोर्ड जस्तो जसले विघटनको अवस्थामा रहेको प्रशासन सम्हाले (वाटरगेट काण्डका कारण निक्सनले राजीनामा दिएपछि सन् १९७४ मा ह्वाइट हाउस सम्हालेका फोर्ड अमेरिकाका एक मात्र अनिर्वाचित राष्ट्रपति हुन्)। उनले सही काम गरे। जसले गर्दा उनका विपक्षी पनि त्यस्तै कामका लागि उनमा भर पर्न सक्ने भए। त्यस्ता खालका पात्र अहिले पाउन गाह्रो छ, तर म निराश सुनिन चाहन्नँ।
यति वेला तपाईंले यस्तो खालको नेतृत्व विकासमा खासै राम्रो काम गरिरहनुभएको छैन?
मैले राम्रो काम गरिरहेको छैन भन्ने मलाई थाहा छ। तर, यही नै समाधान गर्नुपर्ने समस्या हो। मलाई विश्वास छ, यही विषयमा केही गर्ने प्रयासमा नै मैले आफ्नो जीवन सुम्पेको छु। यो आजको आजै समाधान हुने समस्या भने होइन। यो कसरी समाधान हुन्छ भन्ने पनि मलाई थाहा छैन।
मेरो पछिल्लो पुस्तक लिडरशिपः सिक्स स्टडिज इन वर्ल्ड स्ट्राटेजीमा मैले ठूला समस्या समाधान गर्न ६ जना नेताहरूले के के गरे भन्ने देखाउने प्रयास गरेको छु। के अहिले हामी त्यसो गर्न सक्छौं त? हामीले गर्नैपर्छ।
यो पुस्तकमा तपाईंले ऐतिहासिक पात्रहरू र नेतृत्वको प्रकृतिबारे विवेचना गर्नुभएको छ। वर्तमान अवस्थालाई विचार गरेर आजका लागि पनि काम लाग्ने विगतका ती नेताका के के गुण तपाईं वर्णन गर्नुहुन्छ?
कुनै दया-माया नराखी विवेचना गर्नुहोस्, तपाईं कहाँ हुनुहुन्छ? यस्तो खालको विश्लेषणले समस्या समाधान गर्न सघाउँछ। त्यसपछि आफ्ना उद्देश्यहरू तय गर्नुहोस्। त्यस्तो उद्देश्य जसले आमजनतालाई समेट्न सकोस्। ती उद्देश्यहरू प्राप्त गर्ने उपाय खोज्नुहोस्। यी सबैलाई आफ्ना घरेलु (आन्तरिक) उद्देश्यहरूसँग जोड्नुहोस् चाहे ती जेसुकै हुन्।
मलाई विश्वास छ, हाम्रा नेताहरू अमेरिकी जनतालाई आफूसँगै डोर्याउने गरी लक्ष्य तय गर्ने साहस जुटाउनेछन्। तर, अन्त्यहीन बहसमा अल्झिरहनु चाहिं दिक्कलाग्दो छ। द्विदलीयतावाद महत्त्वपूर्ण छ। म एकजना सिनेटरलाई चिन्छु, मिसिस्सिपीबाट निर्वाचित, स्टेनिस। उनले मलाई भनेका थिए, हरेक सप्ताहान्तमा उनी कस्ता कस्ता कानून अभ्यास भइरहेका छन् भन्ने जान्न अदालतमा जाने गर्छन् रे। उनको त्यो भनाइले मलाई निकै उत्साहित बनायो। त्यस्तै, अर्का सिनेटर ज्याक्सन छन्, डेमोक्रेटिकका।
हामीलाई निर्णय गर्न सक्ने मानिसहरू चाहिन्छ, यो समयमा बाँचिरहेका र आजको समस्या समाधान गर्न तत्पर। आफैंप्रति दुःखी हुने मानिस होइन।
हेनरी ज्याक्सन?
हो, उनी नै। उनले प्रायजसो मेरो आलोचना नै गर्छन्। तर, उनी अहिले यहाँ हुन्थे भने हामी महत्त्वपूर्ण छलफल गरिरहेछौं भन्ने स्वीकार गर्थे। अचेल राष्ट्रपतिका अधिकांश सल्लाहकारले यस्ता छलफलमा समय खर्च नगर भनेर सुझाउँछन्। हामीले मानिसलाई सही बाटोमा डोर्याउने भाषा खोज्नुपर्नेछ।
एक पटक राष्ट्रपति भएकालाई फेरि राष्ट्रपति हुने चिन्ता छ। तर, कसले एकगठ गर्न सक्छ त? सुरक्षा सल्लाहकारले सक्छन्। त्यसका लागि राष्ट्रपतिले उनलाई आड दिनुपर्छ। विदेशमन्त्रीले सक्छन्, १६० वटा देशमा उनका समकक्षी छन्।
तपाईंले के भन्नुभयो भने, चीन र अमेरिकाबीच सम्बन्ध सुधार गर्न मानिसहरूको एउटा समूह बनाउनुपर्छ जो सँगै बसून्, अध्ययन गरून् र एक-अर्कासँग संवाद गरुन्। तपाईंले त्यस्तो समिति बनाउने मौका पाउनुभयो भने ककसलाई राख्नुहुन्छ? ती जीवित वा मृतमध्ये जो पनि हुन सक्छन्।
यो चिनियाँ बहस तीन जना मानिसले गर्न सक्छन्। समकालीनमध्ये बील बर्न्सलाई रोज्थें। त्यसपछि म केही प्राज्ञिक मानिस खोज्थें। एउटा प्राविधिक व्यक्तिलाई। यसमा योगदान गर्न सक्ने १० जना मानिसको नाम दिन सक्छु म।
तपाईंको अर्थ, प्रविधि बुझ्ने मानिस?
हो, प्राविधिक क्षेत्रका कोही मानिस। तीमध्येका मलाई मन पर्ने चाहिं माइक्रोसफ्टका प्रमुख हुन्।
सत्य नडेला?
हो, नडेला। प्रविधिको क्षेत्रमा राम्रो काम गर्न सकिन्छ। हामी त्यस्ता यन्त्रहरूले घेरिएका छौं, जसले त्यस्ता कार्यप्रणालीको भरमा काम गर्छन्, जो हामीले बुझिसकेका छैनौं भन्ने तथ्य मानिसहरूले बुझेपछि यसबारे विस्तृत छलफलको आवश्यकता पनि बुझ्नेछन्।
मलाई थाहा छैन, तपाईंले विन्स्टन लर्डलाई चिन्नुहुन्छ कि नाइँ? हामीले कम्बोडियामा आक्रमण गर्दा, उनी त्यसबाट निस्कन चाहेका थिए। त्यति वेला मैले उनलाई भनें, “तपाईंले छोड्न सक्नुहुन्छ र प्ला कार्ड लिएर विरोध जनाउन पनि सक्नुहुन्छ। वा, तपाईं भियतनाम युद्ध समाधान गर्न सघाउन सक्नुहुन्छ।”
उनले बस्ने निर्णय गरे। उनी ‘पोलिसी प्लानिङ स्टाफ’ को प्रमुख बने। त्यसपछि चीनका लागि राजदूत बने।
मलाई लाग्छ, हामीलाई निर्णय गर्न सक्ने मानिसहरू चाहिन्छ, यो समयमा बाँचिरहेका र आजको समस्या समाधान गर्न तत्पर। आफैंप्रति दुःखी हुने मानिस होइन। यस्तो काम सधैंभरि नाटकीय रूपमा हुन्छ भनेर म भनिरहेको छैन। तर, इतिहासमा हामी सधैंभरि वास्तविक संक्रमण भइरहेको समयमा हुँदैनौं। आजको समय वास्तविक संक्रमण हो। किनभने अनौठा अनौठा परिवर्तन भइरहेका छन्। यसको प्रभाव आममानिससम्म पनि पुगिरहेको छ। यहाँ म प्रविधिको कुरा गरिरहेछु।
यही समयमा तपाईंले सैन्य इतिहास हेर्दा के पाउनुहुन्छ भने विगतमा कहिल्यै पनि आफ्नो विपक्षीलाई पूर्णतः विनाश गर्न सम्भव थिएन। भूगोल र सही निशानाको अभावका कारण त्यस्तो हुन्थ्यो। तर, अहिले त्यो सीमा बाँकी छैन। हरेक पक्ष शतप्रतिशत विनाश हुने जोखिममा छ।
आफ्नो लक्ष्य चिन्न सक्ने हतियारको आविष्कार भएको यो समयमा विध्वंसको कुनै सीमा छैन। मानिस सधैं एउटा सीमामा बस्नुपर्छ भन्ने सिद्धान्त छ। तर, व्यवहारमा यो सधैं सम्भव छैन। सिद्धान्ततः सम्भव छ। तर, यो सबै भइरहेछ। एकपछि अर्का घटना भइरहेका छन् र ध्वंसात्मक हतियार बनाउने क्रम पनि चलिरहेको छ, जसको कुनै सीमा नै छैन।
समस्या के हो भने, संसारका विभिन्न चोकमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी पनि यही कुरा भनिरहेका छन्। तर, उनीहरू आफैंप्रति दुःखी भएर र सरकारलाई दबाब सिर्जना गरेर यसको समाधान खोजिरहेका छन्। उनीहरूमा दुई प्रकारको भ्रम छ। पहिलो, यो प्रविधि उन्मूलन गर्न सकिँदैन। दोस्रो, अन्तर्राष्ट्रिय राजनीतिमा शक्तिको आवश्यकता त पर्छ नै। त्यही नै यो विषयको सार हो।
तपाईंका विभिन्न लेखनमा संयमबारे पनि चर्चा हुने गर्छ। हामी संयमित मानिसहरू भएको संसारमा बाँचिरहेछौं जस्तो त लाग्दैन?
त्यो असंयम त मिडियामा पनि सरिसकेको छ। हामीले आफैंलाई ध्वंस गरेर सक्नेछौं जस्तो लाग्छ। हामी यस्तो बिन्दुमा पनि पुग्न सक्नेछौं, जहाँ मशिनहरू बन्द हुन मान्नेछैनन्। मेरो अर्थ के हो भने, मशिनहरूले एक पटक यस्तो सम्भावना पहिचान गरेपछि उनीहरूले आपत्मा भन्दा पहिले नै आफैंलाई निर्माण गर्न सक्नेछन्। धेरै राम्रा वैज्ञानिक यस्तो हुन सक्छ भन्ने विश्वास गर्छन्। मलाई भन्दा त यसबारे उनीहरूलाई नै बढी थाहा छ।
आउँदा पाँच वर्षमा अरू विभिन्न पक्षसँग जोडिएर प्रविधि झन्भन्दा झन् खतरनाक हुनेछ।
यो जोखिम त अमेरिका र चीन दुवै तर्फबाट छ हैन? ती दुवै असावधानीपूर्ण काम गरिरहेछन्।
तपाईंले चिनियाँलाई पनि यसको दोषी ठान्नुपर्छ। उनीहरूले ठीक गरिरहेका छन् र हामी गलत गरिरहेका छौं र हामी मात्र फेरिनुपर्छ भन्ने होइन।
पक्कै पनि प्रविधिका कारण थुप्रै जोखिम सिर्जना भएका छन्। यस क्षेत्रमा तपाईंले लामो काम गर्नुभएको अनुभवका आधारमा यी जोखिमबाट मुक्त हुन हामीसँग कति समय छ?
शायद यसको जवाफ दिन सक्ने गरी पर्याप्त अनुभव चाहिं छैन। हाम्रो पहिलो कदम, यो जोखिम न्यूनीकरण गर्ने हो। मलाई लाग्छ, आउँदा पाँच वर्षमा अरू विभिन्न पक्षसँग जोडिएर प्रविधि झन्भन्दा झन् खतरनाक हुनेछ।
के भइरहेछ भन्ने बुझ्नेमध्ये एक प्रमुख वैज्ञानिक डेमिस हस्साबीस हुन् (हस्साबीस आर्टिफिसियल इन्टिलिजेन्स सम्बन्धी बेलायती वैज्ञानिक हुन्)। यसबारे अरू वैज्ञानिक पनि सहमत हुनेछन्। वैज्ञानिकहरू रणनीतिकार त होइनन्, तर उनीहरू आफ्नो समयको उथलपुथलबाट प्रभावित हुने गरेका छन्। केही प्रगति गर्नु छ भने प्रचलित बाटो छोडेर अर्को बाटो त हिंड्नैपर्छ। बेग्लै उभिनु र राम्रो गरिरहन चाहिं गाह्रै छ।
इतिहास हेर्दा के पाइन्छ भने मानव जाति प्रगतिउन्मुख त छ, तर लामो र भयानक द्वन्द्वबाट गुज्रेपछि मात्र त्यो प्रगति हासिल हुने गरेको छ।
त्यही त। नेपोलियनका युद्धहरूपछि, ३० वर्षे युद्धपछि (१६१८-१६४८) र दोस्रो विश्वयुद्धपछि मात्र यूरोपमा नवनिर्माण भएको पाइन्छ। तर, त्यसपछि जब यी परिवर्तन विश्वव्यापी भए नयाँ नयाँ पक्षले जटिल बनाए। दोस्रो विश्वयुद्धपछि गजब काम गरेका मानिसहरू पनि तत्कालीन मुद्दाहरूमा रुमल्लिए।
हो, प्रगति भएको छ। यूरोप, चीन र भारत समेत संलग्न हुने शासनमा आधारित विश्व व्यवस्थाको सम्भावना छ भन्ने म ठान्छु। यसरी हेर्दा, विध्वंस विना पनि वर्तमान तनाव टुङ्ग्याउन सकिन्छ। हामी यसबाट पनि प्रगति गर्न सक्नेछौं, तर त्यसका लागि लक्ष्य र प्रतिबद्धता चाहिन्छ।
तपाईंका पुस्तकहरू अन डिप्लोमेसी’, अन वर्ल्ड अर्डर र अन चाइना पढ्दा के पाएँ भने ती सबै पुस्तकको निचोडमा प्रस्टसँग अमेरिकाको स्वार्थ र यसको मूल्यबीचको सन्तुलनका लागि आह्वान गर्नुभएको छ। अन डिप्लोमेसी पढ्दा के पाइन्छ भने तपाईंले सोभियत संघको विघटनपछि रूसले कस्तो व्यवहार गर्ला भनेर विश्लेषण गर्नुभएको छ। अहिले हेर्दा तपाईं दूरदर्शी देखिनुहुन्छ (उक्त पुस्तक सन् १९९४ मा प्रकाशित भएको थियो, सोभियत संघ सन् १९८९ मा पतन भयो)। रूसले ठ्याक्कै त्यसरी नै आफूलाई प्रस्तुत गर्यो। तपाईंले भविष्यवाणी गरे जस्तै घटनाहरू भएका छन्। त्यसैगरी, चीनसँग सम्बन्ध राख्दा अमेरिकाले कसरी सोच्नुपर्छ र त्यसो नगरे के हुन्छ भनेर दिनुभएको चेतावनी पढ्दा अहिले फेरि त्यस्तै नै हुन थालेको देखिन्छ। अमेरिकाले आफ्ना स्वार्थ र आदर्शको सन्तुलन राख्नुपर्छ भन्नुभएको छ। के अमेरिका त्यसो गर्न सक्षम छ?
त्यो हाम्रो ठूलो चुनौती हो। अमेरिकासँग त्यो सामर्थ्य छ/छैन, मलाई थाहा छैन। अमेरिकाको इतिहासमा जति पनि महान् काम भएका छन्, ती सबै सिद्धान्तमा अडिएर नै भएका हुन्। अर्कातर्फ, एक देशले अर्को देशलाई सुधार गर्ने भन्ने कहिल्यै भएकै छैन। त्यो सम्भव छ भन्ने अमेरिकी आशावाद भने झल्किरहन्छ। त्यो अहिलेको सुडान सङ्कटमा पनि देखिन्छ। प्रगतिशील पत्रिकाहरूले हामीले स्रोत थप्यौं भने त्यो सम्भव छ भनेर लेख्ने नै छन्।
के त्यो सम्भव छ त? वर्तमान प्रमाणहरूको आधारमा म चाहिं छैन भन्छु। तर, भविष्यतिर हेरेर के गर्नुपर्छ भन्नेमा ध्यान दिने हो भने हाम्रा नेताहरूले ससाना समूहलाई प्रेरित गर्न सम्भव छ भन्छु। ती साना समूह विद्यार्थीको समूह पनि हुन सक्छ।
तर, मैले इङ्गित गरेका नेताहरूतिर तपाईं फर्किनुभयो भने उनीहरू त्यो सोच्दैनन्। उनीहरू सोध्छन्, “के त्यो आवश्यक छ?”
मलाई लाग्छ, अमेरिकामा यो सम्भव छ। यूरोपका देशहरूमा पनि सम्भव छ। तर, चीनमा छ त? यी वर्षहरूमा मैले चिनियाँ नेताहरू भेटें। तीमध्ये जसले हामीले भनेको कुरा बुझ्छ र हामीप्रति सहानुभूति राख्छ भन्ने म ठान्छु, उनीहरूले आफ्नो सांस्कृतिक पहिचान समेत समावेश गरेर यसमा छूट दिन सक्छन्। भारतमा भने यो एकदमै सम्भव छ। तर, १० वर्षपछि तपाईं कसरी यी काम शुरू गर्न सक्नुहुन्छ?
यो नै ठूलो चुनौतीपूर्ण भएको छ किनभने हामी त सबै अभियोगमा राष्ट्रपतिका छोरालाई मुछ्न तल्लीन छौं। तपाईं यी सबै मानिस खत्तम हुन् भन्न सक्नुहुन्छ। तर, एउटा प्रभावकारी प्रणालीले त उनीहरूलाई एउटा प्रतीकका रूपमा प्रस्तुत नगरीकन बाहिर निकाल्छ। आपराधिक प्रक्रियालाई राजनीतिको हतियार बनाउनु निकै खतरनाक छ।
अहिले हामीकहाँ प्रशस्त समस्या छन्।
विध्वंस विना पनि वर्तमान तनाव टुङ्ग्याउन सकिन्छ। हामी यसबाट पनि प्रगति गर्न सक्नेछौं, तर त्यसका लागि लक्ष्य र प्रतिबद्धता चाहिन्छ।
झन्डै १०० वर्षदेखि तपाईं त्यो संसारमा हुनुहुन्छ जहाँ सन्तुलन, आशा र प्रगति भइरहेका छन्।
तर, केही भयानक क्षण पछि मात्रै।
हो, केही निकै भयानक क्षणपछि। तपाईं आधारभूत रूपमा आशावादी हुनुहुन्छ कि निराशावादी?
हेर्नुहाेस्, मेरो जीवन कठिन छ, तर यसले आशा पनि जन्माइदिएको छ। साथै चुनौती पनि। कठिनाइ सधैं बाधक हुँदैन। त्यसैले मलाई लाग्छ, युवा पुस्तालाई प्रेरित गर्न भविष्यप्रतिको विश्वास दर्शाउन जरुरी छ। त्यो गर्न सकिन्छ। उदाहरण त शार्ल दे गुल नै हुन्। सन् १९६८ मा फ्रान्समा विद्यार्थीको प्रदर्शन भयो। उनीहरूले पेरिस नै कब्जा गरे।
त्यति वेला फ्रान्सका प्रधानमन्त्री जर्ज पम्पिडु थिए, जसलाई शार्ल दे गुलले नियुक्त गरेका थिए। शार्ल डे गुल एक दिनका लागि गायब भएर जर्मनीस्थित फ्रान्सेली सेनाको मुख्यालयमा जाँदा पम्पिडुले राष्ट्रपति को हुने भनेर छलफल थालिसकेका थिए। (मे १९६८ देखि शुरू भएर सात सातासम्म चलेको विद्यार्थी आन्दोलनबीच २९ मेका दिन शार्ल दे गुलले प्रधानमन्त्रीलाई पनि थाहा नदिई सुटुक्क जर्मनी गएर त्यहाँस्थित फ्रान्सेली सेनाप्रमुख जनरल मास्सुलाई भेटेका थिए।)
त्यहाँ उनले अल्जियर्जमा निष्कासन गरेका कमान्डर थिए (अल्जियर्ज- अल्जेरियाको राजधानी, अल्जेरिया सन् १८३० देखि १९६२ सम्म फ्रान्सको उपनिवेश थियो)। त्यसैले ती कमान्डरले उनलाई घृणा गर्न हरेक कारण थिए। उनलाई भेटेर गुलले सोधे, “मैले राजीनामा गरे भनें तपाईंको धारणा के हुन्छ?”
ती कमान्डरले भने, “तपाईंलाई राजीनामा गर्ने कुनै अधिकार छैन। तपाईं चाहिन्छ।”
त्यसको अर्थ हो, ती कमान्डरले उनलाई समर्थन गरे। त्यसैले गुल फ्रान्स फर्किए। ‘प्लास डे ला कनकर्ड’ (पेरिसको एक ठूलो चोक)मा आमसभा आयोजना गरेर चुनावको घोषणा गरे। फ्रान्सको गणतान्त्रिक इतिहासमा उनले मात्रै बहुमत पाए।
त्यसले देखाउँछ, एउटा प्रभावशाली नेताले के गर्न सक्छ? त्यति वेलाको परिस्थिति हेर्दा सब थोक उनी विरुद्ध देखिन्थ्यो। हाम्रो सरकारलाई प्राप्त हरेक टेलिग्रामबाट त उनी सकिए भन्ने बुझिन्थ्यो। ती सबै गरेको एक वर्षपछि विना कुनै दबाब उनले राजीनामा गरे किनभने उनले सबै काम फत्ते भयो भन्ठाने।
(द इकोनोमिस्टको अनलाइन संस्करणमा प्रकाशित पूर्ण अन्तर्वार्ताको भावानुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्। यसको बाँकी अंश आउँदो साता प्रकाशन हुनेछ।)