घोराही सिमेन्टको शेयरमा कर्मचारीकै अविश्वास
घोराही सिमेन्ट लिमिटेडले निष्कासन गरेको शेयरमा न्यून आवेदन परेको छ।
सिमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय, कर्मचारी, सामूहिक लगानी कोष तथा वैदेशिक रोजगारीमा गएका नागरिकका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ)मा माग भए जति पनि आवेदन परेन।
कम्पनीले शङ्कास्पद तथ्याङ्क देखाएर प्रिमियम मूल्यमा शेयर निष्कासनको अनुमति पाएको थियो। तर, कम्पनीको शेयरप्रति कर्मचारीकै अविश्वास देखिएको छ। पहिलो चरणमा निष्कासन गरेको शेयरमध्ये करीब ५४ प्रतिशत मात्रै बिक्री हुने भएको छ।
घोराही सिमेन्टले आफ्ना कर्मचारीका लागि तीन लाख ७७ हजार कित्ता प्राथमिक शेयर निष्कासन गरेकोमा १९ हजार ५३० कित्ता शेयरका लागि मात्रै आवेदन पर्यो। यो मागका तुलनामा ५.१७ प्रतिशत मात्रै हो। कर्मचारीका लागि आरक्षित शेयरमा नै न्यून आवेदन पर्नुले शेयरप्रति कर्मचारीकै अविश्वास रहेको देखाएको छ।
आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि तीन लाख ९७ हजार कित्ता छुट्याएकोमा ७७ हजार कित्ता शेयर किन्न मात्रै आवेदन परेको छ। यो स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयरको १९.४५ प्रतिशत मात्रै हो।
वैदेशिक रोजगारीमा गएका व्यक्तिका लागि निष्कासन गरिएको शेयरमा भने ८० प्रतिशत आवेदन परेको छ। वैदेशिक रोजगारीमा गएका व्यक्तिका लागि सात लाख ५४ हजार कित्ता शेयर बिक्रीमा राखिएकोमा ६ लाख ६ हजार कित्ता शेयर बिक्री हुने भएको छ।
त्यसैगरी, सामूहिक लगानी कोषका लागि तीन लाख ७७ हजार कित्ता शेयर बिक्रीका लागि आरक्षित गरिएकोमा तीन लाख २९ हजार कित्ता शेयर किन्न आवेदन परेको छ। यो मागका तुलनामा करीब ७७ प्रतिशत हो।
कम्पनीले अङ्कित मूल्यमा कम्तीमा प्रतिकित्ता ३०० रुपैयाँ प्रिमियम जोडेर शेयर निष्कासनको अनुमति पाएको थियो। स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा तीन सय प्रिमियम जोडेर प्रतिकित्ता ४०० रुपैयाँमा बिक्रीका लागि राखिएको थियो। अरूका लागि प्रतिकित्ता १०० अङ्कित मूल्यको शेयरको मूल्य प्रिमियम सहित ४३५ तोकिएको थियो।
कम्पनीले वैशाख १८ गतेदेखि स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर बिक्री शुरू गरेको थियो। शुरूको १५ दिनमा माग अनुसार आवेदन नपरेपछि कम्पनीले फेरि म्याद थप गरेर शेयर बिक्री गर्न चाहेको थियो। त्यसो गर्दा पनि मागे गरे जति आवेदन परेन।
कम्पनीले बिक्री नभएको शेयर समेत जोडेर जेठ ३२ गतेबाट सर्वसाधारणका लागि शेयर निष्कासन गर्दै छ। घोराही सिमेन्टले प्राथमिक शेयर निष्कासन मार्फत तीन अर्ब ४५ करोड रुपैयाँ उठाउन खोजेको छ। व्यावसायिक घराना त्रिवेणी र विशाल समूहले प्रवर्द्धन गरेको यो कम्पनीको क्रेडिट रेटिङको स्वच्छतामा प्रश्न उब्जिएको छ।
त्यसैगरी, यो कम्पनीको वित्तीय स्थिति पनि सन्तोषजक देखिंदैन। प्रतिशेयर आम्दानी गत पुसमा ५० पैसा मात्रै छ। यस अनुसार लगानीकर्ताले नाफाबाट प्रतिशेयर ५० पैसा मात्रै प्रतिफल पाउनेछन्। कम्पनीले वित्तीय प्रतिवेदनमा उच्च लागत, ह्रासकट्टी, उत्पादन र बिक्रीको प्रक्षेपण लगायत आँकडा बढाई–चढाई प्रस्तुत गरेको देखिएको थियो।
धितोपत्र बोर्डले यस्तो कम्पनीलाई प्रिमियम मूल्यमा शेयर निष्कासनको अनुमति दिएकोमा आलोचना भइरहेको छ। यो कम्पनीको मूल्याङ्कन गर्दा ‘ओभरभ्यालुएशन’ गरिएको आरोप लागेको छ। बोर्डका अध्यक्ष रमेशकुमार हमालले कमजोर कम्पनीको शेयर नकिनेर सर्वसाधारणले असहयोग गर्नुपर्ने टिप्पणी गरेका थिए।
सार्वजनिक निष्कासन गरे बमोजिमको शेयर बिक्री नभएमा नबिकेको परिणामको शेयर सबै किन्ने गरी नागरिक लगानी कोषले प्रत्याभूति (अन्डरराइटिङ) गरेको छ।