के मनसुनको प्रवृत्ति फेरिएको हो?
मनसुनले आफ्नो स्वरूप परिवर्तन गर्दै जाँदा जनजीवनमा त्यसका घातक असर देखा पर्न थालेका छन्।
पूर्व अनुमानित मितिभन्दा नौ दिन ढिलो गरी यो वर्षको मनसुन २५ असोज (११ अक्टोबर)बाट बाहिरिएको छ। ३० जेठमा भित्रिएको मनसुन १२१ दिनपछि औपचारिक रूपमा बिदा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सामान्यतया मध्य असोजसम्म बाहिरिनुपर्ने मनसुन ढिलासम्म लम्बिंदै गएको प्रस्टै देखिन्छ, पछिल्ला वर्षमा। सन् १९७० र ८० को दशकसँग दाँजेर हेर्दा, सेप्टेम्बरको अन्त्य तिरसम्म मनसुनी वर्षा थामिइसक्नु पर्ने हो। तर, बितेका वर्षको मनसुनी वायु बहिर्गमनको स्थितिले अर्कै तथ्य बताउँछ।
गत डेढ दशकमध्ये सन् २०१२ मात्र यस्तो वर्ष हो, जुन वर्ष सेप्टेम्बरमै (२८ सेप्टेम्बर) मनसुन रोकिएको थियो। त्यस बाहेक हरेक वर्ष मनसुनी वर्षा अक्टोबरसम्मै धकेलिंदै आएको छ। अझ धेरैजसो वर्ष त अक्टोबर दोस्रो सातासम्मै लम्बिएको छ। सन् २०१३ मा नेपालको इतिहासमै (रेकर्ड राख्न थाले यता) सबैभन्दा ढिला अर्थात् १९ अक्टोबरसम्म (२ कात्तिकसम्मै) मनसुन लम्बिएको थियो।
जल तथा मौसम विज्ञान विभागको सन् १९६८ यताको मौसमी तथ्याङ्क केलाउँदा के देखिन्छ भने, सन् १९७० को दशकमा कुनै वर्ष पनि मनसुन अक्टोबरसम्म लम्बिएको थिएन। सन् १९८० र ९० को दशकमा पनि एकाध वर्षलाई छोडेर सेप्टेम्बरको चौथो साताभित्रै देशको वायुमण्डलबाट मनसुन बाहिरिएको थियो।
तर, सन् २००६ यता भने अपवादका रूपमा सन् २०१२ मा मात्रै मनसुन सेप्टेम्बरमा सकिएको छ। गत वर्ष पनि औसत समयभन्दा १५ दिन ढिला गरेर मात्रै मनसुनी वायु बाहिरिएको थियो। यसले बदलिइरहेको मनसुनको चरित्र बताउँछ।
सामान्यतया नेपालमा १० जूनमा मनसुनी प्रणाली भित्रिएर २३ सेप्टेम्बरमा बाहिरिने गर्थ्यो। विभागले यही अवधिबीचको १०६ दिनलाई मनसुनको अवधि मान्ने गर्थ्यो। मनसुनी वायुको चरित्रमा बदलाव देखिन थालेपछि विभागले यो वर्षदेखि १३ जूनमा मनसुन शुरू हुने र २ अक्टोबरमा बाहिरिने भनी संशोधन गरेको छ।
अब मनसुनको अवधि ११२ दिन मानिएको छ। तर, यो वर्ष त्यसभन्दा पनि थप नौ दिन मनसुनी प्रणालीले प्रभाव देखायो। “विश्व मौसम विज्ञान सङ्गठनको सुझाव अनुसार, विगतको प्रवृत्ति हेरी हरेक दशकमा यस्तो मिति अद्यावधिक गरिन्छ, सोही अनुसार यो वर्षदेखि मनसुनको भित्रिने र बाहिरिने मिति संशोधन गरिएको छ,” जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले भनिन्।
फेरिएको चरित्र
गर्मीका महीनामा हिन्द महासागर र बङ्गालको खाडीबाट पानी बोकेर आउने मनसुनी आर्द्र वायुलाई हिमालय पर्वतमालाले छेकेर वर्षाका रूपमा झारिदिन्छ। हाम्रो गोलार्द्धमा गर्मी मौसममा जमीनको सतह तात्दै गएपछि उष्ण वायु माथि–माथि उड्न थाल्छ। किनभने, तातो वायुको चरित्र नै हलुका भएसँगै माथितिर जाने हो।
त्यसो भएपछि, जमीनको वायुको चाप पूरा गर्न समुद्रको माथि रहेको वायु, जो तुलनात्मक रूपमा चिसो र आर्द्रता सहितको हुन्छ, जमीनतिर सोहरिन्छ। अर्थात्, दक्षिण-पश्चिमी समुद्रबाट भारतीय उपमहाद्वीपतिर उत्तरतर्फ यस्तो वायु लम्किन्छ। जसले जूनको दोस्रो सातादेखि सेप्टेम्बरसम्मै नेपालमा वर्षा गराउँछ। नेपालमा वर्षभरि हुने वर्षाको करीब ८० प्रतिशत जति वर्षा असार, साउन, भदौ र असोजमा हुन्छ।
जसै पृथ्वीको यो गोलार्द्ध कम तातिन थाल्छ, वर्षा गराउने बङ्गालको खाडीको वायु आउन रोकिन्छ। नेपालमा पूर्वबाट पश्चिमतिर लाग्ने मनसुनी वायु बाहिरिंदा पनि पश्चिममा छिटो र पूर्वमा ढिलो बाहिरिन्छ। तर, यो बादल हिमालय पर्वत श्रृङ्खलाको अवरोधका कारण तिब्बती पठारमा पुग्न सक्दैन। मौसमको यही चक्र चल्दै आएको छ, हजारौं वर्षदेखि।
तर, पछिल्ला वर्षमा मनसुनको यही प्रवृत्तिमा बदलाव देखिन थालेको छ। विज्ञहरूका अनुसार, एक हिसाबले मनसुन अनुमान गर्नै कठिन बनिरहेको छ। “छोटो अवधिमा धेरै पानी पर्ने, असमान वर्षा, उच्च हिमाली क्षेत्रमा मुसलधारे पानी पर्ने, मनसुन भित्रिने र बाहिरिने समयमा बदलाव आदि प्रवृत्ति लगातार दोहरिन थालेको छ,” त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह-प्राध्यापक डा. विनोद दवाडी भन्छन्। यो वर्ष मनसुनको शुरूआतमै सिन्धुपाल्चोक, मनाङ, गोरखा सहितका जिल्लामा आरीघोप्टे पानी पर्दा जनधनको क्षति गरायो।
मनसुन अवधिमा देशभर औसतभन्दा करीब १५.५ प्रतिशत बढी पानी पर्यो। मनसुनको चरित्रमा बदलाव आउँदा जीवनयापनमा पनि बिस्तारै प्रभाव पर्न थालेको छ। डा. दवाडी पछिल्ला वर्षमा मनसुनको प्रकृतिमा आएको परिवर्तनले कृषि लगायतका क्षेत्रमा असर परिरहेको बताउँछन्। “तर, यस्तो फेरिएको प्रवृत्तिको असर कम पार्न आवश्यक तयारी र योजना निर्माण भएको छैन,” उनी भन्छन्।
बजारमा अहिले काउली, साग जस्ता तरकारी अचाक्ली महँगा छन्। अन्य हिउँदे तरकारीको मूल्य पनि घट्नुपर्ने वेला भए पनि घटेको छैन। मनसुनी वर्षा लम्बिएका कारण यी तरकारीको उत्पादन घटेकाले मूल्य घट्न नसकेको कृषि विभागका प्रवक्ता डा. महादेवप्रसाद पौडेलले बताउँछन्। “पानी परेको पर्यै गरेकाले हिउँदे तरकारी पोसाउन पाएनन्, जसले गर्दा उत्पादन घटेकाले बजार मूल्य महँगो भयो,” उनी भन्छन्।
मनसुन लम्बिँदै जाँदाको असर हिउँदे तरकारी बालीमा परेको छ। तर, धानबालीमा भने यसले असर नगरेको उनी बताउँछन्। डा. दवाडी भने मनसुन ढिला सर्दै जाने प्रवृत्तिले भविष्यमा धान रोपाइँ गर्ने समयलाई पनि असर गर्न सक्ने बताउँछन्। मनसुनी वर्षामा आधारित खेती प्रणाली भएकाले नेपाली अर्थ प्रणालीका लागि पनि यसको धेरै महत्त्व छ।
मनसुन ढिलासम्मै सर्दै जाँदा मनसुनी अवधि पनि बढ्दै गएको छ। एकाध दशक अघिसम्म १०६ दिन हाराहारीमा सीमित रहने मनसुन अहिले लम्बिंदै १२० दिनको हाराहारीमा पुग्न थालेको छ। विभागको अभिलेख अनुसार, २०६५ सालमा त मनसुन सर्वाधिक लामो (१३०) दिनको हुन पुगेको थियो।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल मनसुन बाहिरिने अवधि ढिला हुँदै गएको मात्र नभई विपद् निम्त्याउने आरीघोप्टे वर्षा जस्ता घटना पनि बढिरहेको बताउँछिन्। भदौको दोस्रो साता कपिलवस्तु, नवलपरासी, सिन्धुली, झापा लगायत जिल्लाका विभिन्न स्थानमा आरीघोप्टे वर्षा भयो। १० भदौमा नवलपरासी पूर्वको बसन्तामा २४ घण्टामा ४३४.२ मिलिमिटर वर्षा भयो।
कपिलवस्तुको वाणगङ्गामा ३५०.६ मिलिमिटर वर्षा भयो। सामान्यतया २४ घण्टामा १५० मिलिमिटरभन्दा धेरै वर्षा भएमा भारी वर्षा भएको मानिन्छ। २१ भदौ राति काठमाडौंमा भारी वर्षा हुँदा कैयौं स्थान डुबानमा परे।
नेपाल विपद् व्यवस्थापन प्राधिकरणका अनुसार, यो वर्षायाममा बाढीपहिरोका कारण देशभर १३६ जनाको ज्यान गयो भने ४५ जना बेपत्ता छन्। त्यस्तै, १४४ जना घाइते भएका छन् भने ८४५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
हिमाल उक्लिंदै मनसुन
सामान्यतया तराई, चुरे र मध्य पहाडमा मनसुनले घनघोर वर्षा गराउँथ्यो। उच्च हिमाली क्षेत्रमा यसको कमै प्रभाव पर्थ्यो। तर, यो वर्ष भने मनसुन शुरू हुने बित्तिकै मध्य पहाडी क्षेत्र नाघेर मनसुनी वायुले उच्च हिमाली क्षेत्रमा घनघोर वर्षा गरायो।
जलवायु विज्ञ डा. ङमिन्द्र दाहाल हिमालमा घनघोर वर्षा हुनु अनपेक्षित र नयाँ प्रवृत्ति भएको बताउँछन्। “मनसुनको अवधिमा हिमाली क्षेत्रमा सिमसिम पानी परे पनि भलपहिरो जाने पानी पर्दैनथ्यो। अब त मनसुनी बादल उचाइमा पुग्ने मात्र होइन, आरीघोप्टे वर्षा (क्लाउड ब्रस्ट) नै हुन थाल्यो,” दाहाल भन्छन्। उनका अनुसार, हिमालमा पछिल्लो दुई दशकदेखि नै मनसुनी चरित्र बदलिन थालेको देखिएको थियो। तर, यो वर्ष त अस्वाभाविक घटनाक्रम नै भयो।
यो वर्षको वर्षायाममा हिमाल पारिको जिल्ला भनी चिनिने मनाङ र मुस्ताङ सहित सिन्धुपाल्चोक, गोरखा लगायतका उच्च हिमाली क्षेत्रमा घनघोर वर्षा भयो। कतिपय ठाउँमा ठूलो क्षति नभए पनि मनाङ, सिन्धुपाल्चोक लगायत जिल्लामा छोटो अवधिमा धेरै वर्षा हुँदा बाढीपहिरोले क्षति पुर्यायो।
यस वर्ष मनसुन भित्रिएसँगै मनाङमा विगतभन्दा ठूलो वर्षा हुन थाल्यो। मनाङको हुम्देस्थित वर्षा मापन केन्द्रले १६ जून (२ असार)को २४ घण्टामा ८२.२ मिलिमिटर वर्षा रेकर्ड गर्यो, जुन अहिलेसम्मै उच्च हो। अघिल्लो वर्ष ६ जून २०२० मा ४१.५ मिलिमिटर वर्षा भएको थियो। जबकि, सन् २०१५ देखि २०२० को तथ्याङ्कका आधारमा जूनभरि मनाङमा औसत ४२ मिलिमिटर मात्रै पानी परेको थियो।
अन्यत्र २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा भएमा सचेतता अपनाउनुपर्ने अवस्था मानिन्छ। तर, मनाङ, मुस्ताङ जस्ता उच्च हिमाली क्षेत्रमा ५० मिलिमिटर पानी परेमा त्यसले जोखिम निम्त्याउन सक्ने मौसमविद् बताउँछन्। मनाङमा वार्षिक सरदर ३७५ मिलिमिटर वर्षा हुने गरेकामा मनसुनको अवधिमा २३४ मिलिमिटर वर्षा हुन्छ। यो वर्ष भने वर्षभरि पर्नेभन्दा बढी पानी मनसुनमै पर्यो। मनाङको चामेमा त कहिल्यै नभएको जेठमै पनि बाढी आएको थियो।
अर्को हिमाली जिल्ला मुस्ताङले पनि यो वर्ष अधिक वर्षाको सामना गर्यो। जोमसोमस्थित मौसम केन्द्रको गत तीन दशकको तथ्याङ्कले वार्षिक २८९ मिलिमिटर र मनसुनमा औसत १६० मिलिमिटर पानी पर्ने देखाएको थियो। तर, यो वर्षको मनसुनमा भने ४३० मिलिमिटर पानी पर्यो।
जलवायु विज्ञ डा. दाहाल पृथ्वीको तापक्रमको वृद्धिसँगै देखिएको जलवायु परिवर्तन हिमाली क्षेत्रमा प्रस्टै देखिन थालेको बताउँछन्। “जलवायु परिवर्तनको परिणामका रूपमा जे हुन्छ भनिएको छ, त्यो प्रस्टै देखिन थाल्यो,” उनी भन्छन्, “मनसुनको चरित्र फेरिएको साँचो हो, अब यस्तो खतरा झनै बढ्छ, हिमाली क्षेत्रका नागरिकलाई त्यसको सोझो मार पर्छ।”
कमै पानी पर्ने भएकाले उच्च हिमाली क्षेत्रमा घरका छाना नै माटोले छापिएको हुन्छ। तर, पानी पर्न थालेपछि अब माटोको छानाले नथेग्ने हुन थालेको छ। यसको अर्थ, माटोले छापिएका हिमाली क्षेत्रका घर र बस्ती जोखिममा पर्न थालेको जलवायु विज्ञ दाहाल बताउँछन्।
अर्कातिर, हिमाली भेगको माटोले धेरै पानीको दबाब थेग्न सक्दैन। त्यसैले, घनघोर पानीले माटो नै बगाउँछ, जसले तल्लो तटीय क्षेत्रमा झन् ठूलो क्षति गराउँछ। १ असारमा मर्स्याङ्दी र साना खोलामा आएका बाढीले मनाङका चामे, तालगाउँ, धारापानी लगायतका स्थानीयको घरजग्गा बगायो। मेलम्चीको मुहान क्षेत्र भेमाथाङ लगायतका स्थानमा पनि छोटो समयमा अत्यधिक वर्षा भएकाले गेग्रान बगाउँदा मेलम्ची नदीमा बाढी आएको विज्ञहरू बताउँछन्।
अन्य उच्च हिमाली क्षेत्रमा पनि घरखेत, पुलपुलेसा यो वर्षको वर्षायाममा बगेका छन्। हिमाली क्षेत्रका संरचना पानी धेरै खेप्न नसक्ने गरी बनाइने भएकाले अब वर्षाको प्रवृत्ति परिवर्तन हुँदै जाँदा जोखिम पनि बढ्दै जाने ठम्याइ डा. दाहालको छ।
त्यसो त, यो वर्ष मनसुनमा औसतभन्दा बढी पानी पर्यो। मनसुनको अवधिमा औसतमा करीब एक हजार ३८० मिलिमिटर पानी पर्ने गरेकोमा यो वर्ष करीब एक हजार ५९० मिलिमिटरभन्दा धेरै पानी पर्यो। यो औसतका तुलनामा १५ प्रतिशत बढी हो।
गत तीन वर्षको तथ्यांक अनुसार, जून महीनामा औसतमा २७१.६ मिलिमिटर वर्षा हुने गरेकामा यो वर्ष जुनमा मात्रै ३७९.५ मिलिमिटर वर्षा भयो। यो मनसुनको कुल वर्षाको करीब २७ प्रतिशत हो। जून महीनामा सामान्यतया मनसुनमा पर्ने पानीको १९ प्रतिशत वर्षा हुने मानिन्छ। यसले छोटो अवधिमा धेरै पानी पर्न थालेको सङ्केत गर्छ।