मैले गेरुवस्त्र लाउँदिनँ भन्नुको अर्थ थिएन: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरको ‘प्रोटोकल’ अनुसार गेरुवा वस्त्र लगाएको बताएका छन्।
महाकालेश्वर मन्दिरमा सन् २०२२ देखि ‘ड्रेस प्रोटोकल’ लागू भएको र त्यही अनुसार आफूले लगाएको प्रधानमन्त्री दाहालको भनाइ थियो। प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिंदै उनले भने, “मैले गेरु चाहिं लाउँदिनँ भन्नुको केही अर्थ थिएन, मेरो एडीसीले पनि कोर्ट पाईन्टमै पठाउन चाहेका थिए।”
धार्मिक पर्यटन प्रवर्द्धनका लागि पनि आफू महाकालेश्वर मन्दिरमा पुगेको दाहालको भनाइ थियो। भारतले पनि महाकालेश्वर जाओस् भन्ने चाहेको उनले बताए। दाहालले भने, “महाकालेश्वर जाओस् भन्ने भारतको पनि चाहना थियो। त्यसमा लुकाउनुपर्ने केही छैन।”
सांसदहरूले ‘धर्मनिरपेक्ष देशका प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूले गेरुवा वस्त्र लगाउनुको कारण के हो’ भन्ने प्रश्न गरेपछि दाहालले जवाफ दिएका हुन्।