नागरिकता विधेयकबारे अदालतले नै टुङ्गो लगाउँछ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता विधेयकका विषयमा अब अदालतलाई नै टुङ्गो लगाउन दिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री दाहालले यो विषय अदालतमा पुगिसकेकाले धेरै बहस गर्न नहुने जिकिर गरे। “सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिइसकेको छ। अब अदालतले नै टुङ्गो लगाउँछ,” प्रधानमन्त्री दाहालले भने।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए। संसद् छलेर नागरिकता विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। त्यसमाथि जेठ २१ गते सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिइसकेको छ।
त्यसैलाई उद्धृत गर्दै प्रधानमन्त्री दाहालले अब अदालतलाई नै नागरिकता विधेयकबारे टुङ्गो लगाउन दिनुपर्ने बताएका हुन्। “अदालतले जे आदेश दिन्छ, त्यो सबैले मान्नै पर्छ, मान्छौं पनि। कसैले मान्दैनौं भन्न सकिन्न,” प्रधानमन्त्री दाहालले भने, “त्यसैले अदालतको आदेश पर्खौं।”
उनले नागरिकता विधेयकको बचाउ गरे। यसअघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशकै व्यवस्थालाई यो विधेयकमा पनि राखिएको उनको भनाइ थियो। त्यति वेला नागरिकताका सम्बन्धमा सबै दलबीच भएको सहमतिकै आधारमा अहिले विधेयक ल्याइएको उनको भनाइ थियो।