टीकापुर घटनाका कैदीले रेशम चौधरीलाई भेट्नै मानेनन्
टीकापुर घटनामा जेल जीवन बिताइरहेका कैदीले रेशम चौधरीलाई भेट्न मानेनन्। बुधबार कैलाली कारागार पुगेका चौधरी आफ्नै सहकर्मीलाई नभेटी फर्किएका छन्।
टीकापुर घटनामा तीनै तहका अदालतले चौधरी सहित नौ जनालाई जन्मकैदको सजाय सुनाएका थिए। चौधरी भने गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि जेठ १५ मा रिहा भएका छन्।
उनीसँगै कैद सजाय पाएका तीन जना कैलाली कारागारमा छन्। टीकापुर नगरपालिका-४, ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका-७, मोतीपुरका हरिनारायण चौधरी र जानकी गाउँपालिका-७ लट्कनियाका प्रदीप चौधरी कैलाली कारागारमा छन्।
उनीहरूलाई भेट्न पूर्व सांसद समेत रहेका चौधरी बुधबार कैलाली कारागार पुगेका थिए। उनीसँगै नागरिक उन्मुक्ति पार्टीका नेताहरू लक्ष्मण थारू, सांसद अरुणकुमार चौधरी, गंगा चौधरी लगायत नेता तथा कार्यकर्ता कारागार पुगेका थिए। तर, कैदीले भेट्न नमानेपछि उनी फर्किएका छन्।
मुद्दाको प्रकृति एउटै, तर कसैलाई कैद माफी, कसैलाई जेल सजाय हुने विभेदपूर्ण व्यवहार देखिएकाले भेट्न नमानेको कैदीले बताएका छन्। न्यायमा पनि पक्षपात गरिएको भन्दै उनीहरू रुष्ट छन्। उनीहरूले आफ्नो परिवार बाहेक कसैलाई नभेट्ने भन्दै कैलाली कारागार प्रशासनलाई निवेदन दिएका छन्।
.jpg)
पूर्व सांसद चौधरी आफू मात्रै कैद मुक्त भएको, तर आफूहरूलाई कैदमुक्त गराउन कुनै पहल नगरेको भनी उनीहरूले गुनासो गरेका छन्। कैदीहरूले नै भेट्न नचाहेकाले चौधरी लगायत नेताले भेट्न नपाएको कैलाली कारागार प्रमुख पदमराज तिमिल्सेनाले बताए। “हाम्रो कसैसँग भेट नगराउनुहोस् भनेर उहाँहरूले निवेदन पेस गर्नुभएको छ,” कारागार प्रमुख तिमिल्सेनाले हिमालखबरसँग भने, “कैदीको हितको सुरक्षा गर्नु मेरो जिम्मेवारी हो।”
कारागारमा भेट्ने समय बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकिएको छ। पूर्व सांसद चौधरीको टोली अपराह्न ४ बजे कारागार पुगेको थियो। कैदीबन्दीले नै भेट्न नमानेपछि प्रशासनले त्यही अनुसार व्यवस्था गरेको कारागार प्रमुख तिमिल्सेनाको भनाइ छ।
यसअघि चौधरीले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका कैदीका आफन्तसँग भेटघाट गरेका थिए। उनले हरिनारायण चौधरीकी आमा सोनियादेवी चौधरीलाई जेठ १६ मा भेटेका थिए।
सोनियाले पनि दुखेसो पोख्दै भनेकी थिइन्, ‘तपाईंको घरमा खुशियाली छ, तर हाम्रो घरमा रुवाबासी। चुनावको वेला नागरिक उन्मुक्ति पार्टीलाई जिताऔं, अनि सबै जना छुट्छन् भन्दै भोट माग्न आए, हामी भोट हालेर जितायौं, तर ठूला मान्छे मात्रै छुटे, साना मान्छे जेलमै सड्ने भए।”
उनी चौधरीसँग कुराकानी गर्दागर्दै डाँको छोडेर रोएकी थिइन्। “हाम्रो घरमा न खाना पुग्छ न त लाउन। एउटै छोरा थियो, कमाउने उमेरमा जेलमा सजाय भोगिरहेको छ,” सोनियाले भनेकी थिइन्, “मेरो छोराले कुनै गल्ती गरेको छैन, तर पनि दुःख झेलिरहेको छ।”
उनलाई चौधरीले सम्झाउन खोजेका थिए। तर, उनले ‘मलाई अरू केही चाहिएन, बस् छोरा जेलबाट कहिले छुट्छ’ भन्दै बारम्बार प्रश्न गरेकी थिइन्।
संविधान लेखनका समयमा चलेको थरुहट आन्दोलनका क्रममा टीकापुर घटना भएको थियो। २०७२ भदौ ७ गते भएको घटनामा आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको ज्यान गएको थियो। त्यसको भोलिपल्ट कर्फ्यूबीच थारू समुदायका ८३ घरटहरा, पसल, एफएम लगायतमा आगजनी भएको थियो।
त्यो घटनामा प्रहरीले रेशम चौधरी सहित २७ जनालाई पक्राउ गरी कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो। त्यसमध्ये जिल्ला र उच्च अदालतले ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। उनीहरूमध्ये दुई जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ।