सात वर्ष जेल बसेपछि निर्दोष
टीकापुर घटनाको आठ महीनापछि पक्राउ परेका सीताराम चौधरी सात वर्ष जेल बसेपछि निर्दोष सावित भएका छन्।
म जेलबाट मुक्त भए पनि हृदयदेखि खुशी छैन।
कैलाली कारागारबाट बुधबार बाहिरिंदै गर्दा सीताराम चौधरीले भनेको वाक्य हो। कारागारबाट निस्केपछि पत्नी यमुना चौधरीको पछिपछि लागेर घर फर्किएका सीतारामले धेरै बोल्न सकेनन्। केही शब्द बोल्दा पनि उनका आँखा रसाए।
किनकि, उनले बित्थैमा सात वर्ष जेल जीवन भोग्नुपर्यो। त्यो अवधिमा घरपरिवारले खेप्नुसम्म हैरानी खेपे। छोरीहरूले राम्ररी स्कूल लेखपढ गर्न सकेनन्।
टीकापुर घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई २०७३ वैशाख २७ गते पक्राउ गरेको थियो। प्रहरीले किन पक्राउ गर्यो भन्ने पनि उनलाई थाहा थिएन। जब कैलाली कारागार पुगे तब मात्रै टीकापुर घटनामा पक्राउ परेको थाहा पाए।
थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच टीकापुरमा झडप भएको थियो। झडपका क्रममा एक जना नाबालक सहित आठ जना सुरक्षाकर्मीको ज्यान गएको थियो। त्यसपछि प्रहरीले थारू समुदायका व्यक्तिलाई नियन्त्रणमा लिन शुरू गरेको थियो।
टीकापुर घटनाका दिन सीताराम नियमित काममै थिए। कैलालीको भजनी-६ नवलपुरका सीतारामको गाउँमै सानो होटल थियो। मासुको पसल पनि थियो। बिहानै खसी काट्थे, अन्य होटलमा पनि मासु पुर्याउँथे।
त्यो दिन पनि खसी काटेर टीकापुरका होटलमा मासु पुर्याउन गएका थिए। घर फर्किंदा टीकापुर घटना भएको थाहा पाए। त्यो दिन टीकापुर गएको थियो भन्ने आधारमै उनलाई पक्राउ गरिएको थियो।
श्रीमती यमुनासँगै सीताराम चौधरी।
उनी त पक्राउ परे, तर परिवारले भने दोहोरो नामका कारण झन् पीडा खेप्नुपर्यो। गाउँघरमा सीतारामले चिनिने उनको नाम सन्तकुमार थियो। प्रहरीले दुवै जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो। सीताराम त पक्राउ परे, तर सन्तकुमार खोज्न प्रहरी उनकै घरमा पुग्थे। “सन्तकुमार र सीतारामको ठेगाना र बाबुको नाम एउटै थियो,” उनी पत्नी यमुनाले सुनाइन्, “सन्तकुमार खोइ भनेर प्रहरी घरमा आउँथे।”
उनी जेलमा थिए, यमुनालाई दुवै एउटै हुन् भनेर प्रमाणित गराउन झन् सकस भयो। वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय धाएर मुश्किलले प्रमाणित गरेको उनी बताउँछिन्। “टीकापुर घटनामा कसरी जथाभावी मुद्दा चलाइएको थियो भन्ने यसले पनि देखाउँछ,” यमुना भन्छिन्, “सन्तकुमार र सीताराम एउटै मान्छे हो भनेर प्रमाणित गराउन गाह्रो भयो।”
यमुनाले आफ्ना श्रीमान्को नाम त मुश्किलले प्रमाणित गरिन्, तर निर्दोष प्रमाणित गर्न सकिनन्। कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते जन्मकैदको सजाय सुनायो।
त्यस विरुद्ध यमुनाले उच्च अदालत, दिपायलमा निवेदन दिइन्। उच्च अदालतले पनि २०७७ पुस २ गते जिल्लाकै फैसला सदर गर्यो।
तैपनि यमुनाले हार मानिनन्। किनकि, श्रीमान् टीकापुर घटनामा संलग्न नभएको उनलाई थाहा थियो। अनि उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिइन्।
बल्ल जेठ २ मा सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यमुनाको पक्षमा फैसला सुनायो। सर्वोच्चले भन्यो, “प्रतिवादीमध्येका ‘विद्रोह’ भन्ने सीताराम चौधरी र गंगाराम चौधरीको हकमा हेर्दा शुरू अदालतबाट साविक मुलुकी ऐन, ज्यान सम्बन्धीको महलको १३ (३) नंं बमोजिम जन्मकैद तथा ज्यान मार्ने उद्योग तर्फ ऐ. १५ नं. बमोजिम पाँच वर्ष कैद सजाय गरेको मिति २०७५/११/२२ को फैसला सदर गरेको उच्च अदालत दिपायलको मिति २०७७/०९/०२ को फैसला मिलेको नदेखिंदा उल्टी भई निज प्रतिवादीहरूले आरोपित कसूरबाट सफाइ पाउने ठहर छ।”
.JPG)
सर्वोच्च अदालतको यो फैसला आएको भोलिपल्ट जेठ ३ मा सीताराम जेलमुक्त भएका छन्। कैलाली कारागारबाट बाहिर निस्किँदा उनी धेरै बोल्न सकेनन्। निर्दोष भए पनि सात वर्ष जेल बस्नुपरेको पीडा उनको अनुहारमा झल्किन्थ्यो। “म जेलबाट मुक्त भए पनि हृदयदेखि खुशी छैन,” सीतारामले भने।
सीताराम बोल्न नसकेपछि उनकी पत्नी यमुना बोलिन्। आफ्ना श्रीमान्लाई सात वर्ष जेल राखेको आक्रोश थियो। “सर्वोच्च अदालतले निर्दोष ठहर गरेको छ। अब राज्यले क्षतिपूर्ति दिनुपर्छ,” यमुनाले भनिन्।
उनीसँगै निर्दोष सावित गंगाराम चौधरी भने जेलमै छन्। गंगारामलाई पहिल्यैदेखि अर्को मुद्दा पनि लागेकाले रिहा नभएको जेलर पद्मराज तिमिल्सिनाले बताए।