रेशम चौधरीलाई माफी दिने फाइल राष्ट्रपति कार्यालयले गृहमा पठायो
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई माफी मिनाहा दिने फाइल राष्ट्रपतिको कार्यालयले गृह मन्त्रालयमा पठाएको छ।
कानूनी परामर्शपछि राष्ट्रपतिको कार्यालयले चौधरीलाई माफी मिनाहाको फाइल शुक्रबार गृह मन्त्रालयमा फिर्ता पठाएको हो। राष्ट्रपतिको कार्यालयका कानूनी सल्लाहकार बाबुराम कुँवरका अनुसार प्रचलित कानून बमोजिम र अदालतबाट स्थापित नजीर प्रतिकूल नहुने गरी निर्णय गर्नू भन्दै सरकारको प्रस्ताव आजै गृह मन्त्रालयमा पठाइएको हो।
चौधरीलाई टीकापुर घटनामा जिल्ला, उच्च र सर्वोच्च अदालतले दोषी ठहर्याउँदै जन्मकैदको सजाय सुनाएका थिए। कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो।
त्यस घटनामा चौधरी सहित २० जनालाई सर्वोच्चले पनि दोषी ठहर्याएको थियो। दुई जनालाई भने सर्वोच्चले सफाइ दिएको थियो।
चौधरीलाई आउँदो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति कार्यालयबाट सजाय माफी दिएर छुटाउने सरकारको योजना छ। त्यही योजना अनुसार गृह मन्त्रालयले केही दिनअघि चौधरीको फाइल राष्ट्रपतिको कार्यालयमा पठाएको थियो।
अब गृह मन्त्रालयले यस विषयमा राय बुझ्न महान्यायाधिवक्ताको कार्यालयमा पठाउनेछ। महान्यायाधिवक्ताको कार्यालयले माफी मिनाहा हुने राय दिएमा गृह मन्त्रालयले चौधरीको माफी मिनाहाको फाइल मन्त्रिपरिषद्मा पठाउनेछ।
त्यसपछि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर माफी मिनाहाका लागि राष्ट्रपतिको कार्यालयलाई सिफारिश गर्नेछ। सरकारको निर्णयका आधारमा राष्ट्रपतिले माफी मिनाहा दिने व्यवस्था रहेको छ।