नक्कली शरणार्थी प्रकरणमा स्वतन्त्र छानबिनको माग
सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र छानबिनको माग गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्ने अधिकांश सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि गम्भीर र यथार्थपरक छानबिन हुनुपर्नेमा जोड दिए।
सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै व्यक्तिमाथि छानबिन हुनुपर्ने बताए। यो प्रकरण कसैलाई पनि छोड्न नहुने सांसद खनालको भनाइ थियो।
त्यस्तै, सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानूनी दायराभित्र ल्याइनुपर्ने बताए। यो विषय देशको प्रतिष्ठानसँगै जोडिएको भएकाले गम्भीर हुनुपर्ने उनको जोड थियो।
सांसद सुमना श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सङ्कल्प प्रस्ताव दर्ता गराए पनि संसद् सचिवालयले त्यसलाई अघि बढाउन ढिलाइ गरेको गुनासो गरिन्।
सांसद ज्ञानबहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका भ्रष्टाचारका सबै फाइल अघि बढ्नुपर्ने बताए। कानून सबैका लागि समान हुनुपर्ने धारणा राख्दै उनले अख्तियारमा रहेका भ्रष्टाचारका फाइल नखोलिए सडक र सदन दुवैतर्फ संघर्ष थालिने चुनौती दिए।
शून्य समयमा बोल्ने सांसदहरूले सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा प्रविधिको उच्च प्रयोग, नागरिकता विधेयक प्रमाणीकरण, जातीय विभेद लगायत विषय उठान गरेका छन्।
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंलाई बुझाइसकेको छ। सरकारी वकीलको कार्यालयले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।