नक्कली शरणार्थी प्रकरणमा कसको भूमिका के?
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंलाई बुझाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले संगठित अपराधमा अनुसन्धान गरेर सरकारी वकीलको कार्यालयलाई प्रतिवेदन बुझाएको हो। “हाम्रा तर्फबाट सबै अनुसन्धान पूरा गरेर आज प्रतिवेदन सरकारी वकीललाई बुझाएका छौं,” जिल्ला प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले हिमालखबरसँग भने।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा प्रहरीले अनुसन्धान थालेको थियो। यो प्रकरणमा अनुसन्धानका लागि समय लाग्ने भएपछि प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो। संगठित अपराधमा ६० दिनको म्याद हुन्छ। म्याद सकिन दुई दिनअघि प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा ३२ जनामाथि अभियोग लगाउन सिफारिश गरिएको छ। जसमध्ये १६ जना पक्राउ परिसकेका छन् भने अन्य फरार छन्।
अनुसन्धान प्रतिवेदनमा अभियोग लगाउन सिफारिश गरिएका ३२ जनाको फरक फरक भूमिका रहेको खुलाइएको छ। पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई निर्णयकर्ताका रूपमा राखिएको छ।
त्यसपछि बिचौलियाको भूमिकामा रहेको व्यक्तिलाई छुट्याइएको छ। सानु भण्डारी र केशव दुलाल लगायत बिचौलियाको भूमिकामा रहेको प्रहरीले जनाएको छ। पूर्व उपप्रधानमन्त्री रायमाझी बिचौलियाको भूमिकामा पनि रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।
बिचौलियालाई संरक्षण गर्ने काम पनि केही व्यक्तिले गरेको पाइएको छ। पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, उनका छोरा निरज राई, पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक थापा, पूर्व मन्त्री रायमाझीका छोरा सन्दीप रायमाझीले बिचौलियाको संरक्षकको भूमिका निर्वाह गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
यससँगै प्रहरीले शरणार्थी बनेर अमेरिका जान खोज्नेसँग पैसा उठाउने व्यक्तिलाई एजेन्टका रूपमा राखेको छ। सागर थुलुङ राई, टंक गुरुङ, गोविन्दकुमार चौधरी, गजेन्द्र बुढाथोकी र सन्देश शर्मा लगायतले एजेन्टका रूपमा काम गरेको र उनीहरूले ‘सब-एजेन्ट’ पनि बनाएको जनाइएको छ।
यसरी उनीहरूले ११३ जनाबाट १० लाखदेखि ५० लाख रुपैयाँसम्म असुलेको पाइएको छ। यो प्रकरणमा संलग्न ३२ जनाबाट रु.२७ करोडभन्दा बढी बिगो असुल गर्नुपर्ने प्रहरी अनुसन्धान प्रतिवेदनमा भनिएको छ।
यसमा संलग्न व्यक्तिलाई पाँच वटा कसूरमा मुद्दा लगाउन पनि प्रहरीले सिफारिश गरेको छ। जसमा ठगी, संगठित ठगी, राज्य विरुद्धको अपराध, कीर्ते र प्रमाणनष्ट गरेको उल्लेख छ।
त्यस्तै, केही व्यक्तिमाथि थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाउन पनि भनिएको छ। “हामीले गर्ने अनुसन्धान गरेका छौं, थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पत्राचार गर्नुपर्ने अनुसन्धान प्रतिवेदनमा खुलाएका छौं,” काठमाडौं प्रहरी परिसरका प्रमुख कार्कीले भने।
भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउने भन्दै गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो। कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो।
यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपी मानव तस्करी गरेर अमेरिका पुर्याउन खोजेको हो। जसमा नक्कली भुटानी शरणार्थी बनाएर ८७५ जनालाई अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको पाइएको हो।
यसैमा प्रहरीले दुई जना पूर्व मन्त्री सहित १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको हो। यसमा संलग्न १६ जना भने फरार छन्। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकीलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ।
संगठित अपराधमा अनुसन्धान गरिएकाले ६० दिनभित्र मुद्दा दर्ता गरिसक्नुपर्छ। यो समयसीमा जेठ १० गते सकिंदै छ।