रेशम चौधरीलाई रिहा गर्न अर्को विकल्प खोजिरहेका छौं: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्व सांसद रेशम चौधरीलाई रिहा गर्न अर्को विकल्प खोजी भइरहेको बताएका छन्।
जनकपुरधाम विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालले चौधरीको रिहाइका लागि पहल भइरहेको बताए। जिल्ला र उच्च अदालतको फैसलालाई सदर गर्दै सर्वोच्च अदालतले चौधरीलाई दोषी ठहर गरेको छ। टीकापुर घटनामा दोषी ठहर भएका चौधरीलाई जन्मकैदको सजाय सुनाइएको छ।
उनलाई जेलमुक्त गर्न सरकार र सत्तारूढ गठबन्धनले पहल गरिरहेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष नेपालले अर्को विकल्प खोजिरहेको बताएका हुन्। “अदालतले निर्दोष सावित गर्ला भन्ने सोचेका थियौं, तर त्यस्तो भएन,” पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, “सर्वोच्च अदालतले दोषी सावित गरिसकेको छ, हामी त्यस बाहेकका विकल्पको खोजीमा छौं।”
टीकापुर घटनामा चौधरी संलग्न नरहेको नेपालको भनाइ थियो। “रेशमजी टीकापुर घटनामा सहभागी पनि हुनुहुन्नथ्यो, त्यसैले उहाँको रिहाइ हुनुपर्छ,” नेपालले भने।
एक अर्को प्रश्नको जवाफमा अध्यक्ष नेपालले अहिलेको राष्ट्रिय समस्याका रुपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु पहिलो प्राथमिकता हुनुपर्ने बताए। “सरकारले मुलुकमा सुशासन कायम गर्नका लागि विभिन्न कदमहरू उठाइरहेको छ। यो राम्रो विषय हो,” नेपालले भने।
सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राम्रो भएको उनको भनाइ थियो। नपालले भने, “आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ।”
यससँगै मधेश प्रदेश सरकारमा वर्तमान नेतृत्वलाई नै निरन्तरता दिने गरी सहमति भएको नेपालले बताए। गठबन्धनको मर्म अनुरूप अन्य दललाई सरकारमा सहभागी गराउने जिम्मा मुख्यमन्त्रीलाई नै दिइएको उनको भनाइ थियो।