आठ पर्वतारोही धौलागिरिको चुचुरोमा
म्याग्दीमा रहेको संसारकै सातौं अग्लो धौलागिरि हिमालको आठ पर्वतारोहीले सफल आरोहण गरेका छन्।
धौलागिरि गाउँपालिका ४ मा पर्ने आठ हजार १६७ मिटर अग्लो हिमालको जेठ ३ मा उनीहरूले सफल आरोहण गरेका हुन्। यस हिमालमा सेभेन समिट ट्रेक्स मार्फत पाँच जना र पाइएर एड्भेन्चर मार्फत तीन जनाले आरोहण गरेका हुन्।
पर्यटन विभागबाट यस वर्ष धौलागिरि आरोहणका लागि ११ जना महिला सहित ३५ जनाले अनुमति लिएका थिए। सेभेन समिट ट्रेक्स मार्फत नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जीतेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पाले सफल आरोहण गरेका हुन्।
त्यस्तै, पायनियर एड्भेन्चरले आफ्नो कम्पनी मार्फत सतीश रवीन्द्र गोगिनेनी, पासाङ शेर्पा र दाबा दोर्ची शेर्पाले धौलागिरिको चुचुरोमा पुगेको जनाएको छ। धौलागिरिमा यो सिजनको पहिलो आरोहण जेठ १ गते बिहान ७ बजे पोल्यान्डका आरोहीद्वय वार्टेक जिम्सी र ओसवाल्ड रोड्रियोले गरेका आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले बताए।
आरोहणबाट फर्केपछि वार्टेकले चार हजार ७०० मिटर उचाइको बेस क्याम्पमा स्की समेत खेलेका थिए।
८४ वर्षीय स्पेनी पर्वतारोही कार्लोस सोरिया फोन्टेनको धौलागिरि प्रथम हिमालको चुचुरो चुम्ने सपना अधुरै रहने भएको छ। जेठ ३ गते बिहान धौलागिरि हिमालको तेस्रो शिविरबाट चुचुरोतर्फ उक्लने क्रममा कार्लोस अचानक दुर्घटनामा परी घाइते भएका छन्।
उनी धौलागिरिको चुचुरोमा पाइला राख्ने १४औं प्रयासमा थिए। दुर्घटनामा परेका कार्लोसलाई शेर्पाको सहयोगमा तेस्रो शिविरमा झारिएको छ। (रासस)