कीर्तिमानी कामीरिता: कीर्तिमान राख्न चढ्दैनन् सगरमाथा
२७औं पटक सगरमाथा आरोहणको कीर्तिमान बनाएका कामीरिता शेर्पा कीर्तिमानका लागि नभएर काममा लागिरहँदा आफैं सफलता हात लागेको बताउँछन्।
अघिल्लो वर्ष २६ पटक सगरमाथा आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोडेका कामी रिता शेर्पाले यस पटक फेरि सफल आरोहण गरेका छन्। योसँगै ५३ वर्षीय कामीरिता २७औं पटक सगरमाथा आरोहण गर्ने संसारकै एक मात्र आरोही भएका छन्।
अघिल्लो साता २६औं पटक आरोहण गरेर सोलुखुम्बुकै ४६ वर्षीय पासाङ दावाले उनको रेकर्ड बराबर गरेका थिए। अहिले सर्वाधिक सगरमाथा आरोहणको कीर्तिमान राख्ने दौडमा पासाङ दावा प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
कीर्तिमानको होडबाजीभन्दा पनि कामीरिता नियमित काम गर्दै जाँदा आफैं बनेको कीर्तिमानका कारण संसारभर चिनिएका शेर्पा आरोही हुन्।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका कामीरिता विद्यालय जाने उमेरमै गाउँमा पहिलो पटक हिलरी स्कूल खुलेको थियो। थामेकै तेन्जिङ नोर्गे शेर्पासँग पहिलो पटक सगरमाथा आरोहण गरेका न्यूजिल्यान्डका एडमन्ड हिलरीको पहलमा शेर्पाहरूका लागि स्कूल खुलेको थियो।
त्यही विद्यालयमा उनले कक्षा ४ सम्म पढ्न पाए। त्यसपछि उनको पढाइ रोकियो, माथिल्लो कक्षामा पढ्ने विद्यालय टाढा भएकाले। “खुम्जुङको विद्यालय पुग्न एकहोरो तीन घन्टा हिंड्नुपर्थ्यो। पुगेर फर्कंदा ६ घन्टा,” उनले बाल्यकालमा पढ्न नपाएको बाध्यता सुनाए, “त्योभन्दा माथिका कक्षा पढ्न सल्लेरी या त जिरी जानुपर्ने बाध्यता थियो, जुन असम्भव नै थियो।”
पायक पर्ने ठाउँमा विद्यालय नभएका कारण उनले चाहेर पनि पढाइ अघि बढाउन सकेनन्। उसै त टाढाको विद्यालय त्यसैमा पनि बर्खे बाढीपहिरोको डर थियो। छोरा बाँचे केही न केही गरेर त खाइहाल्ला भनेर अभिभावकले पनि विद्यालय पठाउन जोडबल गरेनन्।
गाउँमा आय आर्जनको उपाय थिएन। त्यति वेला वसन्त ऋतुको समयमा सगरमाथा आरोहणका लागि आउने बढीमा चार–पाँच वटा आरोहण समूह हुन्थे। उमेर र अनुभव नभएका कारण उनी आरोहण टोलीमा सहभागी भएर काम गर्न योग्य थिएनन्। अरू काम गर्न अहिले जस्तो लुक्लामा जहाजको चहलपहल र बजार पनि थिएन।
तत्कालीन शाही नेपाली वायु सेवा निगमको जहाज जिरी जान्थ्यो। पर्यटक दोलखाको जिरीबाट हिंडेरै लुक्ला पुग्थे। बाटोमा होटल थिएनन्। आरोहणसँग सम्बन्धित सूचना आदानप्रदान गर्न फोन, इमेल, इन्टरनेट जस्ता प्रविधि त थिएनन्, हुलाकीले गर्थे। पर्यटक पनि भरिया, भान्से र खानपिनकोे व्यवस्था गरेरै त्यहाँ पुग्थे।
सगरमाथा राष्ट्रिय निकुञ्ज घोषणा भएको थिएन। ट्रेकिङमा लागेका युवा त्यही वनबाट दाउरा किनेर ल्याउने, मट्टीतेल र खानेकुरा बोकेर पर्यटकलाई पछ्याउँथे। पर्यटकको भारी बोके बापत पाएको पैसाले घरमा नूनतेलको जोहो हुन्थ्यो।
विद्यालय नजाने भएपछि गाउँमा कामीरिताको काम भएन। उनका दुई दाइमध्ये एक लाक्पारिता शेर्पा ‘सेभेन समिट’ आरोहण गर्ने पहिलो नेपाली थिए। पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पासँग दार्जीलिङमा गएर ट्रेकिङको काम गरेका उनका बुबा मिङ्माछिरिङ शेर्पा थामे उपत्यकाकै पहिलो सरदार थिए। त्यसैले गाउँका धेरै युवा जस्तै उनी पनि ट्रेकिङको काममा लागे।
पर्यटन पेशामा लाग्न उनको पारिवारिक पृष्ठभूमि पनि महत्त्वपूर्ण थियो। “पढ्न भन्दा पनि ट्रेकिङ गए पैसा कमाइन्छ भन्ने सोच आयो। त्यही कारणले धेरै पढ्न पनि पाइएन। १२ वर्षको उमेरदेखि कुल्ली भएर काम गरेको,” उनी बाल्यकाल सम्झिन्छन्।
त्यसपछि १७ वर्षको उम्मेरसम्म ट्रेकिङ गाइड बनेर काम गरे। उनीभन्दा अघि नै पर्वतारोहण पथप्रदर्शक भएर काम गरिरहेको वेला दाइ लाक्पारिताको सल्लाह अनुसार हिमाल आरोहणमा लागे। १८ वर्षको उमेरमा उनले ६ हजार मिटरभन्दा अग्ला मेरा पिक र आइल्यान्ड पिक आरोहण गरे। सन् १९९२ मा जब उनी २२ वर्षको भए त्यति वेला नै उनका दाइले आठ हजारभन्दा अग्ला हिमाल आरोहणमा उनलाई पठाउन खोजेका थिए, तर सम्भव भएन।
जसोतसो दाइको सम्पर्क प्रयोग गरेर सन् १९९३ मा सगरमाथाको अन्तिम शिविरसम्म जाने अनुमति पाए। एक वर्षपछि अमेरिकी आरोहण दल अल्पाइन एसेन्ट इन्टरन्याशनलका लागि काम गर्ने अवसार पाए। त्यति वेलाको स्थानीय अजेन्सी शेर्पा सांग्रिला (हाल सांग्रिला) मार्फत काम पाएका थिए।
हिमाल आरोहणमा काम पाउन अहिले जस्तो सहज थिएन। थोरै मात्र आरोही आउने भएका कारण काम गर्ने शेर्पाहरूले आरोहण शुरू हुनु तीन महीना पहिले नै आरोहण सञ्चालकको ढोका कुरेर बस्नुपर्थ्यो। शेर्पाबीच पाखुरा जुधाएर शक्ति परीक्षण गरिसकेपछि मात्र काममा लगाउने वा नलगाउने टुङ्गो गरिने जमानादेखि आरोहणमा लागेका कामीरिताले सन् २०१७ सम्म एउटै कम्पनीमा रहेर काम गरे। “त्यो वेलामा मैले तीन लाख जति पाएँ,” उनी भन्छन्।
सन् १९९५ मा सगरमाथा आरोहणमा निस्किएका कामीरिता शिखरमा पुग्न सकेनन्, उनले लिएर गएका विदेशी आरोही ‘साउथ समिट’ मा पुगेको वेला लेक लागेकाले। त्यसपछि उनले आरोहण रद्द गरेर फर्कनुपरेको थियो।
अर्को वर्ष पनि सगरमाथा आरोहणमा गएका उनलाई भाग्यले साथ दिएन। आरोहण दलमा संलग्न एक जनाको मृत्यु भएपछि तेस्रो पटकका लागि गरिएको आरोहण पनि रद्द गर्नुपर्यो।
अहिलेको युवा पिढी जस्तो रोजेको काम गर्ने सुविधा कामीरितालाई थिएन। त्यसैले हिमालमा काम गर्ने बाहेक अरू सोचेनन्। निरन्तर काममा लागिरहँदा उनले सन् २०१७ मा आपा शेर्पा र फुर्वा टासीको सरह २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान बनाए। उनका दुवै प्रतिस्पर्धीले आरोहणबाट अवकाश लिइसकेकाले सन् २०१८ मा २२औं पटक सगरमाथाको आरोहण गरेर सबैभन्दा धेरै पटक सर्वोच्च शिखर आरोहण गर्ने आरोही बने।
त्यसयता ५३ वर्षीय कामीरिताले सगरमाथाको शिखर चुम्दै २७औं पटक आरोहण गर्ने कीर्तिमान बनाएका छन्। कुनै कीर्तिमान बनाउनका लागि गरेको नभई निरन्तर काममा लागिरहँदा यो अमूल्य कीर्तिमान आफैं हात लागेको उनी बताउँछन्।
कीर्तिमानको पछि लागेको भए अहिलेसम्म झन् धेरै पटक चुचुरोमा पुगिसक्थे। कैयौं पटक शिखर नजिक पुगेर पनि फर्किए। हरेक सिजनमा दुई पटक सजिलै शिखरमा पुग्ने अवसर हुँदा पनि कीर्तिमान बनाउने होडबाजीको पछि नलागेको उनलाई चिन्ने शेर्पाहरू बताउँछन्।
उनले आरोहणका क्रममा गत तीन दशकमा सगरमाथा क्षेत्रमा भएका सबैजसो दुर्घटना र परिवर्तनलाई नजिकबाट देखेका छन्। सन् २०१४ मा खुम्बु आइसफलमा आएको हिमपहिरोमा परेर १६ जना शेर्पाले ज्यान गुमाउँदा उनी आधारशिविरमै थिए। दाइ लाक्पारितासँग न्याशनल जिओग्राफिक, क्यानाडा न्यूज र ओस्लो न्यूजको सहकार्यमा सगरमाथाबाट ‘लाइभ टेलिकास्ट’ गर्ने योजनाका साथ सगरमाथा क्षेत्रमा थिए। त्यही वेला उनले चिनेका शेर्पा पनि हिमपहिरोमा परे। “म त्यति वेला गोरकशेपमा सामान स्टोर गरिरहेको थिएँ। त्यो वर्ष मेरो नराम्रो नै भयो,” उनी सम्झिन्छन्।
त्यसको एक वर्षपछि आएको विनाशकारी भूकम्पमा परेर १९ जना आरोही र शेर्पाले ज्यान गुमाए। ती दुवै वर्ष र सन् २०२० मा कोभिड–१९ महामारीका कारण सगरमाथाको आरोहण भएन। कोरोना महामारीका कारण पर्यटकविहीन खुम्बुको दृश्य पनि देखेका छन्, कामीरिताले।
आरोहण नहुँदा सयौं शेर्पा बेरोजगार हुन्छन्। खुम्बु क्षेत्रमा व्यापार व्यवसायमा ठूलो गिरावट आउँछ। नेपालको पर्यटन प्रवर्द्धन मार्फत अर्थतन्त्रलाई सहयोग पुगोस् भनेर पनि उनी पर्वतारोहणमा सक्रिय भइरहेको बताउँछन्। आफ्नो कारणले एक जना आरोही मात्र नेपाल आए पनि राज्यलाई हजारौं डलर आम्दानी हुने र सयौं भरियाले काम पाउने उनको भनाइ छ।
देशमै केही गरौं भन्ने मनसायका कारण भारत, अमेरिका लगायत केही देशले आवासीय सुविधा दिएर उनीहरूको देशमा आउन गरेको आग्रहलाई पनि उनले सुनेका छैनन्। बरु आरोहणमा लागेका शेर्पा एक–दुई पटक सगरमाथा चढिसकेपछि विदेशतिर भासिने प्रवृत्ति देखेर चिन्तित छन्। “शेर्पा नभए विदेशीलाई कसले हिमाल चढाउँछ? युवा पुस्ताले हिमालमा दुःख छ, भविष्य सुरक्षित छैन भन्ने थाहा पायो। हामी जस्तो दुःख खेप्न नसक्ने उनीहरू सजिलो काममा लागे,” उनी आरोहणको भविष्यप्रति चिन्ता व्यक्त गर्छन्।
अहिले पनि ‘जन्मेपछि एक दिन मर्नुपर्छ भने नेपालका लागि केही गरेर मरौं’ भन्ने उनको सोच यथावत् छ। तर, पछिल्लो समय सरकारका तर्फबाट शेर्पा आरोहीलाई गरिएको बेवास्ताका कारण उनको चित्त दुख्न थालेको छ। खासगरी केही वर्ष पहिले १० पटक अक्सिजन विना सगरमाथाको आरोहण गरेका कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा सरकारले गरेको बेवास्तापछि कामीरिताको मन कुँडिएको छ। “मेरो कीर्तिमान कसैले तोड्ला, तर आङरिताको रेकर्ड त कसैले पनि तोड्न सक्दैन। आङरिता जस्तोको त केही सम्मान भएन भने मेरो के होला?” उनी गुनासो गर्छन्, “आफूले राष्ट्रका लागि सोच्यो, राष्ट्रले सोचेन। यसमा दुःख लाग्छ।”
आर्थिक हैसियत सुधारेका शेर्पा नेपालका हिमालमा आरोहण गराउनुभन्दा पनि अन्य व्यापार व्यवसायमा लाग्न थालेका छन् भने धेरैजसो पथप्रदर्शक विदेश पलायन भइसकेका छन्। अमेरिका, क्यानाडा, अस्ट्रेलिया, बेलायत लगायत देशमा आरोहीले सहजै प्रवेश पाउने भएकाले आप्पा शेर्पा लगायत धेरै कीर्तिमानी शेर्पाले पनि देश छाडिसकेका छन्।
पहिलो पटक सगरमाथा आरोहण गरेका तेन्जिङनोर्गे शेर्पा पनि भारतले उनको नाममा पर्वतारोहण प्रतिष्ठान खोलिदिने भएपछि त्यहीं गएर बसेका थिए। कामीरितालाई पनि ‘घरवासको व्यवस्था गरिदिन्छौं, हाम्रो देशमा आऊ’ भन्नेहरू धेरै छन्। तर, कामीरितालाई काम गर्न सक्दासम्म नेपालमै बसेर देशकै लागि सक्दो योगदान गर्नुपर्छ भन्ने लागेको छ।
पर्वतारोहणमा उनको दृढता भए पनि छोरा लाक्पातेन्जिङ र छोरी पासाङडोल्मालाई भने आफ्नो पेशामा लाग्न जोडबल गरेका छैनन्। स्नातक तहमा पर्यटन पढिरहेका लाक्पा र कम्प्युटर साइन्स पढिरहेकी पासाङलाई पर्वतारोहण गाइड बन्ने शोख छैन। कामीरिता आफैंले पनि उनीहरूलाई पर्वतारोहण पेशामा लाग्न बल गरेका छैनन्। “ट्रेकिङमा लगायो भने एक–दुई पैसा देख्छ, अनि बच्चाहरू बिग्रन्छ भनेर पढायो। अब उनीहरू जे गर्छन्, आफनै सोच अनुसार गर्छन्,” कामीरिता भन्छन्।
जोखिमपूर्ण पर्वतारोहण प्रदर्शकको काम शरीरमा तागत छँदासम्म मात्रै गर्न सकिने र भविष्य पनि सुरक्षित नभएका कारण शेर्पाहरूको यस पेशाप्रति आकर्षण कम हुँदै गएको छ। ‘हिमालयन डेटा बेस’ का अनुसार हालसम्म ३१५ आरोहीको निधन भएकोमा एक तिहाइ त शेर्पाहरू छन्। बाँकी मृतक संसारभरबाट आएका आरोहीहरू हुन्।
संसारभर रहेका आठ हजारभन्दा अग्ला १४ मध्ये सर्वोच्च शिखर सगरमाथा लगायत आठ वटा हिमाल नेपालमै छन्। त्यसकारण पनि संसारभरका आरोही नेपालमा आइरहनेछन्, ती हिमशिखरको चुली चुम्ने लक्ष्यका साथ। तर, अहिले जस्तो आरोहीका लागि आवश्यक खाना, अक्सिजन, डोरी र अन्य बन्दोबस्तीका सामान आधारशिविरमा ओसार्नेदेखि आरोहीलाई सुरक्षित ढङ्गले शिखरमा पुर्याएर आधारशिविरमा झार्ने शेर्पाहरू नभए नेपालको पर्वतारोहण के होला? जवाफ सजिलो छ- शेर्पा भएनन् भने पर्वतारोहणको निरन्तरता कठिन छ।
“युवा पुस्ताका लागि हरेक गाउँठाउँमा रक क्लाइम्बिङ, आइस क्लाइम्बिङको तालीम गर्ने व्यवस्था हुनुपर्यो,” कामीरिताले सुझाए, “अहिलेको जस्तो गलत नीति भए त हिमालमा गाइड गर्न कसैको पनि ‘जिरो इन्ट्रेस्ट’ हुन्छ। एक जना गरीब युवा कसरी हुम्दे गएर आइस क्लाइम्बिङको तालीम गर्न सक्छ? सबैका लागि तालीम सहज र सस्तो हुनुपर्यो नि।”