बालकृष्ण खाण र टोपबहादुर रायमाझी सहितका अभियुक्तलाई थप तीन दिन हिरासतमा राख्न अनुमति
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझी सहितका अभियुक्तलाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
यस प्रकरणमा पक्राउ परेका सबै जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको जिल्ला सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए। “प्रहरीले अनुसन्धान नसकिएकाले थप तीन दिन आवश्यक रहेको भनेकाले अदालतबाट अनुमति मागिएको हो,” नेउपानेले हिमालखबरसँग भने।
यसअघि अन्तिम पटकका लागि भनेर वैशाख ३१ मा चार दिन हिरासतमा राख्न अनुमति मागिएको थियो। त्यसको समय आज सकिएको थियो।
यो प्रकरणमा प्रहरीले पूर्व उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री रायमाझीलाई वैशाख ३१ मा काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। त्यसअघि वैशाख २७ गते पूर्व गृहमन्त्री खाणलाई निवासबाटै पक्राउ गरेको थियो।
यो प्रकरणमा दुई जना पूर्व मन्त्रीसँगै उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई लगायत १४ जना पक्राउ परिसकेका छन्। पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजितका छोरा निरज राई फरार छन्।
गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो। कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो।
यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्याउन खोजेको हो। जसमा नक्कली भुटानी शरणार्थी बनाएर ८७५ जनालाई अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको पाइएको छ।
यसका लागि प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म असुलिएको उजुरी प्रहरीमा परेको छ। गृह मन्त्रालयले बनाएको कार्यदलको उद्देश्य नै नक्कली भुटानी शरणार्थी खडा गरेर विदेश लैजाने देखिएको भन्दै प्रहरीले कार्यदलका सदस्यमाथि पनि अनुसन्धान गरिरहेको छ।