सभामुखले दिए सांसद रायमाझी पक्राउ परेको जानकारी*
नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी पक्राउ परेको प्रतिनिधि सभालाई जानकारी दिइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई पक्राउ गरिएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले रायमाझी पक्राउ परेको सूचना सुनाएका हुन्।
कुनै सांसद पक्राउ परेमा प्रहरीले संसद् सचिवालयलाई जानकारी गराउँछ। सांसद पक्राउ परेको जानकारी सभामुखले प्रतिनिधि सभाको बैठकमा सुनाउने व्यवस्था रहेको छ।
पूर्व मन्त्री समेत रहेका रायमाझी गत मंसीर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए।
उनी वैशाख ३१ गते राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए। उनलाई आज प्रहरीले अदालतमा पेश गरेको थियो।
* यसअघि निलम्बनमा परेको भन्ने समाचार प्रकाशित भएकोमा सच्याइएको छ। यसबाट पर्न गएको भ्रमका लागि क्षमाप्रार्थी छौं।