‘विदेश जाने एक लाखको भन्दा देशमै पढिरहेका ७० लाख विद्यार्थीबारे सोचौं’
‘हामीकहाँ जागीर दिने ठाउँ पनि छैन। सरकारी जागीरले एक लाख, गैरसरकारी एक लाख र स्वरोजगार हुने एक लाख होलान्। तर, बर्सेनि बजारमा पाँच लाख जनशक्ति उत्पादन भइरहेका छन्।’
कक्षा १२ वा स्नातक अध्ययन गरिरहेका प्रायः विद्यार्थी विदेश जान खोजिरहेका छन्। गतिलो पढाइ, पढाइ अनुसारको काम र त्यस अनुसारको तलब सुविधा नपाउँदा स्वेदशमा हतोत्साहित हुने विद्यार्थीको संख्या बढ्दो छ। नेपालका शिक्षण संस्थाहरूले विद्यार्थी नपाएको गुनासो पनि गर्न थालेका छन्।
यही सेरोफेरोमा शिक्षाविद् प्रा. विद्यानाथ कोइरालासँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानी:
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिनेको संख्या एक लाख १७ हजार थियो। पहिला पनि पढ्न भनेर यति धेरै नेपाली विद्यार्थी विदेश जान्थे? पहिला र अहिले के फरक छ?
पहिला पहिला अहिले जस्तो कक्षा १२ उत्तीर्ण गर्नासाथ विदेश अध्ययनमा जाने चलन थिएन। कम्तीमा स्नातक, स्नातकोत्तर अथवा विद्यावारिधिका लागि मात्र विदेश जाने चलन थियो।
तरीकामा भने पहिला र अहिले खासै फरक छैन। एउटा, आफैं पैसा तिरेर अध्ययन गर्न जाने, अर्को, छात्रवृत्ति र विश्वविद्यालयमा काम गर्दै पढ्न पाइने अवसर थियो। अहिले यसमा नयाँ के छ भने दलाली। जस्तो- केही समयअघि बेलायतमा नेपाली विद्यार्थी अलपत्र परेका थिए। बेलायतको नाममा अन्य देशका व्यक्तिले फर्जी कलेज चलाएपछि उनीहरू अलपत्र परेका थिए।
अहिले कक्षा १२ वा स्नातक पढिरहेका धेरै विद्यार्थीको योजना नै विदेश अध्ययन गर्न जाने भएको पाइन्छ। यो कत्तिको चिन्ताजनक विषय हो?
यो चिन्ताभन्दा पनि चिन्तन गर्नुपर्ने विषय हो। यी विद्यार्थीलाई विदेश पठाउने कि नपठाउने? स्नातक गरेपछि मात्र पठाउने कि? यसबारे नीतिगत चिन्तन गर्नुपर्छ।
यस्तै, स्नातक पढ्न विदेश जान खोजिरहेका विद्यार्थीले जे पढ्न खोजिरहेका छन्, त्यो शिक्षा यहीं उपलब्ध गराऔं भन्ने अर्को चिन्तन गर्नुपर्छ। जब ती विद्यार्थी गरिखान खोज्छन्, तिनलाई बन्दोबस्त मिलाउनुपर्छ।
अर्को, चीन, भारत, जापान जस्ता मुलुकले पनि अस्ट्रेलिया लगायत मुलुकमा विद्यार्थी पठाइरहेका छन्। तर, उनीहरू ज्ञान, सीप, प्रविधि, पैसा र मान्छे फर्काउने कुरामा सजग छन्। अर्थात् विद्यार्थी विदेशिनु ‘ब्रेन ड्रेन’ मात्र होइन, ‘ब्रेन रिगेन’ पनि हो। तर, हामीकहाँ विदेश गएका विद्यार्थी फर्काउनेबारे चिन्तन भएन।
यस्तै सीप, विदेशीको आधुनिक प्रविधि पनि ल्याउन सकिन्छ। पैसा अर्को पाटो हो। विदेशमा नेपाली विद्यार्थीले दुःख गरेर कमाएको पैसा उपभोक्तावादमा मात्र खर्च भइरहेको छ। त्यसलाई लगानीमा बदल्न नसक्दा देश टाट पल्टिरहेको छ।
उनीहरूले पठाएको पैसा पर्यटन, जलविद्युत् वा अन्य क्षेत्रमा लगानी गर्न सके वा सरकारले त्यो पैसाको निश्चित ब्याज दिएर देश विकास गर्न खर्चेको भए अहिले नेपाल सरकारको टाउकोमा २० खर्बको ऋण पनि नहुन सक्थ्यो।
पूँजीवादी देशमा सुविधा हुने, सुविधाका लागि ऋण चाहिने, ऋणमा फसेपछि त्यो तिर्दातिर्दै आफ्नै देश फर्केर आउन नसक्ने हुन्छ। त्यसैले नेपालको नेतृत्वले विद्यार्थीलाई ऋण दिएर काम गर्न सक्ने वातावरण दिन्छु भन्ने ग्यारेन्टी गर्नुपर्छ। जुन अहिलेसम्म भएको छैन। त्यसैले अहिले चिन्ताभन्दा पनि यिनै विषयमा चिन्तन गर्ने समय हो।
नेपालका कलेजहरूले विद्यार्थी पाइएन भन्न थालिसकेका छन्। यसरी विद्यार्थीले विदेश मात्रै रोज्दै जाने हो भने नेपालको शैक्षिक क्षेत्रमा के के असर पर्न सक्ने देख्नुभएको छ?
यसलाई फरक ढङ्गले हेर्छु। हामी अहिले ‘विश्वग्राम’ को अवधारणमा छौं। अनि संसार नै हाम्रो घर हो भनिरहँदा विदेशी विद्यालयमा नेपाली विद्यार्थी पढ्न हुँदैन र? अस्ट्रेलिया, अमेरिकाका विश्वविद्यालयहरू विदेशी विद्यार्थीले चलेका छन्। मैले क्यानाडामा विद्यावारिधि गर्दा पनि त्यहाँ क्यानेडियन थोरै थिए, धेरै बाहिरका थिए।
विकसित मुलुकहरू थरीथरीका मान्छे भए थरीथरीको सोच र प्रविधि, ज्ञान बन्छ र त्यहाँबाट विकास गर्न सकिन्छ भन्ने चिन्तन गर्छन्। ती विकसित मुलुकले जस्तो चिन्तन हामीले किन नगर्ने? हामी पनि अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने काम गरौं न।
एक समय नर्वेजियन शैक्षिक संस्थाहरूमा पनि विद्यार्थी घटे। जसको कारण जनसंख्या पनि थियो। नर्वेजियनहरूले यस्तो वेला स्कूल-कलेज गएर दिनभरि बसेर पढ्ने शिक्षाको प्रवृत्ति हटाए, प्रविधिबाट पढाए। स्कूल र कलेज थप अध्ययन र संवाद गर्ने थलो बनाए। उनीहरूले सातदेखि आठ जना शिक्षक राखेर चारदेखि पाँच लाख विद्यार्थीलाई प्रविधिबाट पढाए।
त्यसैले, अहिले ठूलाठूला स्कूल-कलेज बनाउनुपर्छ भन्ने दुर्बुद्धि हो। अब त पढ्ने प्रविधिमा हो, विश्वविद्यालय त संवाद गर्ने र ‘मैले यो पत्ता लगाएँ’ भनेर छलफल गर्ने स्थान बन्नुपर्छ।
नेपालको जनसंख्या वृद्धिदर अहिले ०.९२ प्रतिशत छ। यो भनेको दुई जना मिलेर एउटा बच्चा पनि नजन्माएको स्थिति हो। अर्थात् अझै जनसंख्या घट्छ, संरचनाहरू खाली हुन्छन् र विद्यार्थी कम हुन्छन्।
यसको अर्थ नर्वेजियन तरीका अपनाए नेपालका शैक्षिक संस्थामा विद्यार्थी घटे भनेर खासै चिन्ता लिनु पर्दैन भन्न खोज्नुभएको हो?
हो, संस्कृत विश्वविद्यालयको उदाहरण लिऊँ। त्यहाँ विद्यार्थी छैनन् भन्नु एउटा विषय हो। तर, हाम्रा गाउँघरमा पुरोहित नै पुरोहित छन्। तिनलाई पनि पढाउने राम्रो ढङ्ग अपनाए संस्कृत विश्वविद्यालय विद्यार्थीले भरिने थिए।
बुद्धको चिन्तन पनि सरल र सहज रूपमा जीवनमा कार्यान्वयन गर्न सकिन्छ। यसलाई पनि सहज कोर्स बनाउन लुम्बिनी विश्वविद्यालयले चिन्तन गर्नुपर्छ। नेपालमा त संस्कृति, हिमाल, जडीबुटी, कला लगायत विषय पढाउने हो भने धेरै विश्वविद्यालय चल्छन्। त्यस्तै दलितको कला, जनजाति, मुस्लिम, महिलाको परपम्परागत सीपको चिन्तन गर्यौं भने पनि थुप्रै विश्वविद्यालयलाई विद्यार्थी पुग्थे।
स्नातक गरेको मान्छेले यही विषय मात्र पढ्नुपर्छ भन्ने सोच परम्परागत र थोत्रो हो। यस्तै सोचले विश्वविद्यालय खाली हुन्छन्।
अहिले भाषा वा डिप्लोमा गर्न जाने विद्यार्थीलाई एनओसी नदिने भनिएको छ। यो कत्तिको जायज हो?
विद्यार्थी रोकिसकेपछि उनीहरूलाई बाटो पनि दिनुपर्छ। जस्तो- पानीलाई रोकिराखे, त्यसले बाँध भत्काउँछ। कि त त्यसबाट बिजुली निकाल्न सक्नुपर्यो। विद्यार्थीहरूले पढ्न चाहेको विषय हाम्रा क्याम्पसमा हुनुपर्छ। अर्थात् भाषाका कक्षाहरू नेपालमै हुनुपर्यो। नेपालमा १२३ भाषा छन्। भाषाकै अध्ययन गर्ने हो भने अन्तर्राष्ट्रिय विद्यार्थी यहाँ ल्याउन सकिन्छ।
तर, प्रवृत्ति हेर्ने हो भने विद्यार्थीको आशय भाषा सिक्ने मात्र हुँदैन। विदेश गएर कमाउने पनि देखिन्छ। यो अवस्थामा के गर्न सकिन्छ?
यसलाई म सकारात्मक ढङ्गले हेर्छु। हामीले विद्यालय तहदेखि नै विद्यार्थीलाई बचत गर्न प्रेरित गर्नुपर्छ। उसलाई गरिखाने सीप दिनैपर्छ। हाम्रा डाँडा, पोखरी, जङ्गललाई सिंगार्यौं भने पनि पैसा फल्छ। तर, यो सोचलाई हाम्रो शिक्षामा राखेनौं। आन्दोलनकारी चेत भएका विद्यार्थी मात्र उत्पादन गर्यौं।
हामीले सधैं कृषिमा सम्भावना छ भनेर मात्र घोकायौं। तर, विद्यार्थीले कृषि बाहेक कुर्सीमा बसेर गर्ने काम खोजिरहेका छन्। ‘तिमी के गरेर खान्छौ?’ र ‘सपना देख्ने दिन’ भनेर विद्यालय र क्याम्पसमा एक दिन मात्र छुट्याए पनि उनीहरूले आफैं मनन गर्थे। त्यो सपना देख्ने दिन दिनैभरि तिम्रो सोच के हो? के गरेर खान्छौ? पैसा कहाँ छ? बजार कहाँ छ? भन्ने प्रश्नको खोजी गर्न दिए उनीहरूले वेलैदेखि सम्भावना देख्छन्।
अर्को, हामीले विदेशमा दुःख पनि छ भनेर बुझाएकै छैनौं। विदेशको मशिन जस्तो जीवन र स्वदेशको केही परिश्रम गरे आनन्दको जीवनबीच तुलना गर्न आवश्यक छ। विदेशिनु व्यक्तिको अधिकार हो भनिरहँदा आफ्नो देशमा रहनु कर्तव्य हो भनेकै छैनौं। विदेशिए पनि भोलि यो माटाका लागि के गर्ने र स्वदेशमा रहे के गर्ने भन्नुपर्छ। त्यसले पनि उनीहरूको बाटो खोलिदिनेछ।
रोजगारी र शिक्षाका लागि विदेश जाने प्रवृत्तिले नेपाली समाजको भविष्य कस्तो बन्ला?
यताको कुरा उता र उताका कुरा यता आउने हुन्छ नै। हाम्रो पुर्खाहरूले गरेको ‘योग’ लाई पश्चिमाहरूले ‘योगा’ भनेर लगे। तामाङहरूको ढयाङ्ग्रो ‘इन्डिजिनियस हिलिङ’ का निम्ति राम्रो भन्न थालिएको छ। यो भनेको पनि हाम्रो समुदाय संसारभर पुगेर आफ्ना कुराहरू फैलाउन सकेपछि प्रभावित भएका कुरा हुन्।
पश्चिमाहरू हाम्रो संस्कृतिमा जस्तो श्रीमान्-श्रीमतीबीच स्नेह भएन भनेर छटपटाइरहेका छन्। हामीसँग सम्झौताको सीप छ, उनीहरूसँग ‘जिरो टोलरेन्स (शून्य सहनशीलता)’ छ। उनीहरूको शून्य सहनशीलता हामीले पनि अनुसरण गर्न सक्छौं।
तपाईं वेलावेला ‘विदेश जाने एक लाख विद्यार्थीको चिन्ता बढी लियौं, तर नेपालमै भएका ५० लाखभन्दा धेरैको चाहिं कुरै गरेनौं’ भन्नुहुन्छ। किन यस्तो भयो होला?
नेपालमा नर्सरीदेखि माथि ७८ लाख विद्यार्थी होलान्। उनीहरूको कत्ति पनि चिन्ता गरेको देखिएन। ‘७८ सय’ मान्छे विदेश गए भनेर मात्र पीडा व्यक्त गरिरहेका छौं। हामीले अब विदेशिएका विद्यार्थीलाई फर्काउने र यहाँ भएका विद्यार्थीमा आशा र सम्भावना भर्ने काम गर्नुपर्छ।
अहिले राजनीतिज्ञ र अन्य विज्ञ भनिएकाहरूले पनि यहाँ केही छैन, देश यस्तो उस्तो भनेर निराशा छरिरहेका छन्। यो अपराध हो। एउटा पाटोमा देशको अवस्था त्यो होला, तर देशमा भएका सम्भावना पनि त देखाइदिनुपर्यो। चिनियाँहरूले नेपाललाई ‘सुनको कचौरामा बसेर भीख माग्ने देश’ भन्थे। त्यही अवस्था सिर्जना भइरहेको छ।
पहिला इलामको चिया पहाडको भिरालोमा फल्थ्यो, अहिले झापाको मैदानमा पनि फल्न थालेको छ। मुस्ताङको चिसोमा मात्र फल्ने स्याउ बिस्तारै तल तलका भेगमा पनि फल्न थालेको छ। त्यस्ता अनेक सम्भावना देखिएका छन्।
नेताहरूले युवालाई आफ्नो पछि लगाउन पनि निराश बनाउने गर्छन्। मेरो चिन्ता नै यिनै विद्यालय तहदेखिका विद्यार्थीलाई आजैदेखि भएका सम्भावनाको खोजी गराइदिने शिक्षाको डिजाइन गरियोस् भन्ने हो।
तपाईंले सम्भावनाको कुरा गर्नुभयो। तर, विद्यार्थीले ती सम्भावना पर्गेल्न चाहिने अध्ययन, अवसर र अनुभव यहाँ पाउँदैनन्। उनीहरूले परिवार, शिक्षक र राज्यलाई नेपालमै रहनुपर्ने कारण के छन् भनेर सोध्छन्। तपाईंसँग छ यसको जवाफ?
धेरै कमाउने, घर बनाउने, मोटर किन्ने, घुम्ने जस्ता रहर थपिंदै जाने रहेछन्। भौतिक चिन्तनको सबैभन्दा ठूलो पीडा पदार्थमा गएर टाँसिएको छ। पदार्थमा टाँसिएपछि सुख सुविधाका लागि मरिमेटिने रहेछ। तर, सुविधा भए पनि सुख नहुँदो रहेछ। सुख हुँदा पनि आनन्द नहुँदो रहेछ। त्यसैले पैसा हुँदा मात्र सुख हुन्छ, नत्र हुँदैन भन्ने गलत दर्शन चिर्न विद्यार्थीलाई बुझाउनुपर्छ।
हामीकहाँ जागीर दिने ठाउँ पनि छैन। सरकारी जागीरले एक लाख, गैरसरकारी एक लाख र स्वरोजगार हुने एक लाख होलान्। तर, बर्सेनि बजारमा पाँच लाख जनशक्ति उत्पादन भइरहेका छन्। यसरी हेर्दा दुई लाख मान्छेलाई केही दिन सकेका छैनौं।
यो अवस्थामा हाम्रा शैक्षिक संस्थाले ‘तिमी आफैं सोच न’ भनेर सिकाउन सक्नुपर्छ। सोच्न लगाउने बित्तिकै विद्यार्थीले विकल्प खोज्छन्। विदेशमा १८ घन्टा काम गर्नुपर्छ। तर, नेपालमा गुजारामुखी खेती गर्दा पनि पेट भरिन्छ। यही आधारमा थप के गर्न सकिन्छ भनेर विद्यार्थीलाई नै सोचाउने, सिकाउने र कर्मशील बनाउने हो। भएन भनेर कोलाहल मच्चाउनु भनेको थप विदेशिन प्रेरित गर्नु हो।
त्यसैले विद्यार्थीलाई एक पटक विदेशको १८ घन्टाको काम सम्झन र नेपालमा नै के गर्न सकिन्छ भनेर घोत्लन अनुरोध गर्छु। यति गरे उनीहरूले केही जवाफ पाउन सक्छन्। यो संस्कार, शिक्षा र अभ्यास माध्यमिक तहबाट नै बसाल्दा विद्यार्थीले नेपालमा के गर्न सकिन्छ भन्ने जवाफ पाउँछन्। यो अभ्यासको थालनी आजैबाट हुनुपर्छ।