डढेलो बस्ती पस्दा दुई घर र तीन गोठमा क्षति
जंगल लागेको डढेलो बस्ती पस्दा खोटाङमा दुई घर र तीन गोठमा क्षति पुगेको छ।
डाँडाखर्क सामुदायिक वनमा लागेको डढेलो बस्ती पस्दा बराहपोखरी गाउँपालिका-१ बराहपोखरी‚ डुम्रेबोटेका मानबहादुर राउतकोदुई तले दुई वटा घर र एउटा बाख्राको खोर जलेको छ। यस्तै, सोही ठाउँका तिलकबहादुर बस्नेत र भिमबहादुर दाहालको एक-एक गोठ जलेको छ।
मंगलबार बिहान नापेटार जङ्गलबाट शुरू भएको डढेलो डाँडाखर्क सामुदायिक वन हुँदै बस्तीमा पसेको वडाध्यक्ष ढकबहादुर कार्कीले बताए। डढेलो प्रहरी चौकी बराहापोखरी, इलाका प्रहरी कार्यालय चिसापानी र सशस्त्र प्रहरी बल सुरक्षा बेस चिसापानीको टोलीले राति नियन्त्रणमा लिएको थियो।
यस्तै, रावाबेंसी गाउँपालिका-३ लामीडाँडाको खोटेजुरेली र झाँक्रीथान सामुदायिक वन, रावाबेंसी-४ डुम्रेधारापानीको कालीका भगवती सामुदायिक वन र रावाबेंसी-५ दुबेकोलको रातामाटा हाँडीखोला सामुदायिक वनमा डढेलो लागिरहेको छ। मंगलबारदेखि लागेको डढेलोबाट बस्ती जोगाउन स्थानीय रातभर खटिएको वडा नं ४ का वडा सदस्य गोमा पाण्डेले बताइन्।