डिजिटल माध्यमबाट कसरी बढाउने आम्दानी?
‘पाठकको पछाडि दौडँदा हाम्रो विश्वसनीयता खस्किन्छ। विश्वसनीयता खस्किएको पत्रकारिता बच्दैन।’
हिमाल मिडिया मेला २०२३ को दोस्रो दिन वैशाख २२ गते ‘डिजिटल रिडर्स रेभेन्यु: मिडियाको भविष्य’ विषयमा छलफल भएको छ। सेतोपाटी डटकमका प्रधानसम्पादक अमित ढकाल, नेपाल रिपब्लिक मिडियाकी सीईओ समृद्धि ज्ञवाली, अफ द रेकर्डका प्रणय राणा र उकालो डट कमका प्रबन्ध सञ्चालक आमोद प्याकुरेल वक्ता रहेको कार्यक्रममा मधु आचार्य प्रस्तोता थिए।
मिडिया मेलामा भएको छलफलको सम्पादित अंश:
मधु आचार्य: पाठकले मिडिया उपभोग गर्ने प्रवृत्तिमा परिवर्तन आएको छ। त्यसले ‘बिजनेश मोड्युल’ मा प्रभाव पारिरहेको छ। ‘इन्डिभिजुअल कन्टेन्ट क्रिएटर’ ले पैसा कमाइरहेको भन्छन्, संस्थागत सञ्चारमाध्यम सङ्कटमा भइरहेको भन्छन्। एउटा ‘लिगेसी’ बोकेको सञ्चारमाध्यम भएको नाताले मिडियाले आर्जन गर्ने आर्थिक स्रोतको सम्बन्धमा तपाईंले भोगेका चुनौती के के हुन्?
समृद्धि ज्ञवाली: हामीले पत्रिकासँगै ‘डिजिटल प्लेटफर्म’ शुरू गरेका हौं। तर, हाम्रो आम्दानी प्रिन्टबाटै बढी छ। ‘लिगेसी बिजनेश’ का धेरै चुनौती हुन्छन्। आज मिडिया संक्रमणकालमा छ। डिजिटल प्रणालीमा पे-वाल सिस्टम शुरू भइसकेको छैन।
मधु आचार्य: अमितजीको २७ वर्षको अनुभवमा मिडियाको आम्दानीको स्रोतमा तपाईंले देखेका परिवर्तन के के हुन्?
अमित ढकाल: हामीलाई दर्शकदीर्घामा राखेर मिडियाले कसरी कमाउने भन्नेबारे जान्ने मान्छेलाई वक्ता बनाउनुपर्ने हो। यो त गरीबीको रेखामुनि बसेकालाई पैसा कसरी कमाउने भनेर सोधे जस्तो भयो।
हामी कसैसँग आम्दानीको कथा छैन। सेतोपाटीको ११ वर्षको यात्रा सुनाउँछु म। त्यति वेला प्रिन्टका लागि प्रेसदेखि वितरणसम्म सोच्नुपर्थ्यो। त्यसैले डिजिटल मिडियाको प्रस्ताव गरें। २५ लाखको लगानीमा ३६० वर्गफुटको कोठामा सेतोपाटी शुरू भएको हो। शुरूमा ५-६ जना मात्र तलबी थियौं।
तर, आज अवस्था त्यस्तो छैन। डिजिटल मिडिया शुरू गर्ने हो भने सेतोपाटी, अनलाइनखबर जत्तिको टीम चाहिन्छ। अहिले हाम्रो ५५ जनाको टीम छ।
हामीले दुई वर्षसम्म विज्ञापन आउँदैन, त्यसबारे सोच्नु हुँदैन भनेका थियौं। एक वर्षपछि विज्ञापनको प्रस्ताव आयो, तर निकै कम। त्यति पैसामा विज्ञापन लिएको भए अहिले हामी मरिसक्थ्यौं। दुई वर्ष पुग्दासम्म हामीलाई धेरै अप्ठ्यारो पर्न थालिसकेको थियो।
हामीलाई त्यतिखेर ओपन सोसाइटी फाउन्डेशनको एक जना लिडरले ‘अप्रोच’ गर्नुभयो। त्यसको ६ महीनापछि त्यहाँबाट एक लाख अमेरिकी डलर ‘अपरेटिङ कस्ट’ र २५ हजार डलर अरू सहयोग प्राप्त भयो। पछि विज्ञापन पनि आउन थाल्यो।
फेरि अहिले आर्थिक सङ्कटको समय छ। चुनौती झनै थपिएको छ। यसले हामीलाई नयाँ युगमा लग्नेछ। हामी ‘सर्भाइभ’ गर्छौं/गर्दैनौं, त्यो ठूलो प्रश्न हो।
मधु आचार्य: प्रणयजीको अनुभव के छ? रेकर्ड नेपालबाट तपाईंहरूले के सिक्नुभयो?
प्रणय राणा: सात-आठ वर्ष रेकर्ड नेपाल चल्यो। संस्थापकहरूले खल्तीबाट पैसा हालेर चलाए। पत्रकारहरूले नै चलाएका थिए। हाम्रो व्यापार नीति पनि थिएन। बजारलाई बेवास्ता गरेर, विज्ञापनतिर जाँदैनौं भनेर खासै हुँदैन रहेछ भन्ने बुझियो।
विज्ञापनको पछाडि दौडिंदा पत्रकारिता कमजोर होला कि भनेर हामी डरायौं। हाम्रो दीर्घकालीन योजना ‘मेम्बरशिप मोडल’मा जाने थियो। डेढ वर्ष अभ्यास पनि गर्यौं। तर, सोचे जति सफल भएनौं। नेपाल अहिले त्यसका लागि तयार नभइसकेको बुझ्यौं।
अर्को, हामी अंग्रेजी माध्यममा भएकाले पनि बाधा भयो। सानो जमातले पैसा तिरेर पढ्दैमा टिकिंदैन रहेछ। मेम्बरशिप मोडलमा जाँदा पनि त्यसबाट २० प्रतिशतभन्दा बढी आश गर्न हुँदैन रहेछ।
मधु आचार्य: हामीले सगरमाथा एफएम शुरू गर्दा नाफा नकमाउने, विज्ञापनरहित, दक्षिणएशियाको पहिलो स्वतन्त्र प्रसारण सेवा भन्ने नारा बनाएका थियौं। बिस्तारै विज्ञापनरहित र नाफा नकमाउने हट्यो र दक्षिणएशियाको पहिलो स्वतन्त्र मात्र रह्यो। अहिले उकालो आएको छ, नाफा नकमाउने भनेर। चार हजारभन्दा बढी अनलाइन मिडिया दर्ता भएको यो समयमा के देखेर आउनुभएको?
आमोद प्याकुरेल: हामीले आधुनिक समाजले आश गर्ने ‘भ्यालु सिस्टम’ का लागि यो जोखिम लिएका हौं। हामीले विज्ञापन नलिने भनेका हौं। हामी पूर्वाग्रही मिडियाबाट आजित छौं। त्यसैले जोखिम लिन खोजेका हौं। राम्रो सामग्री दियो भने केही हुन्छ कि भनेर आँटेका हौं। शुरूका एक-दुई वटा स्टोरीले राम्रो गर्यो। तर, चुनौती पनि थपियो। आखिर सर्वसाधारणले विश्वास गरेको द वायर लगायत मिडिया टिकेको त छ नि!
मधु आचार्य: ‘सिड मनी’ र ‘अपरेशनल कस्ट’बीच द्विविधा भएको देखिन्छ। सिड मनी भएपछि मिडिया चल्छ भन्ने लागेको हो कि? अर्को, हाम्रो सबै मिडिया विज्ञापनमा आधारित भएको देखिन्छ। तर, नेपाली मिडिया आफैं विज्ञापनदाता खोज्दै जानुपर्ने अवस्था छ। यो अभ्यास नेपालमा किन व्यवस्थित र तर्कसङ्गत हिसाबले हुँदैन?
अमित ढकाल: हाम्रोमा विज्ञापन दिने मान्छेले दान गरेको ठान्छ। मैले नदिए पनि हुन्छ भन्ने ठान्छ। विज्ञापन लगानी हो भन्ने ठान्दैन। नेपालमा मिडिया आएको धेरै भएको छैन। शुरूशुरूमा त विज्ञापन दिने चलन पनि थिएन। कान्तिपुरमै पनि विज्ञापन आए समोसा खाने हो भन्थे।
अहिले चुनौती पनि छ, अवसर पनि। अनलाइन मिडियामा खर्च कम छ। तर, कमाइ प्रिन्टमै छ। मानिसहरूलाई विज्ञापन दिंदा प्रिन्टमै दिनुपर्छ भन्ने लाग्छ।
अनलाइनलाई गूगल, सामाजिक सञ्जालको पनि चुनौती छ। त्यहाँ सस्तोमा विज्ञापन भइरहँदा किन महँगो तिरेर अनलाइनलाई दिने भन्ने पनि छ।
एक वर्षअघि एउटा मल्टिन्याशनल कम्पनीबारे अदालतको निर्णय अरूले लेखेनन्, हामीले लेख्यौं। मिडिया, सम्पादक र प्रकाशकहरूले कुनै पनि व्यापारिक घरानाबारे लेख्न नछोड्ने भनेको दिन व्यापारिक घरानाको ‘ब्ल्याकमेल’ पनि सकिन्छ। अहिलेजस्तो विज्ञापन माग्न पनि जानुपर्ने छैन।
मधु आचार्य: समृद्धिजी तपाईंले भोगिरहेका समस्या के हुन्?
समृद्धि ज्ञवाली: मेरा लागि पाठक र विज्ञापनदाता दुवै मिडियाका उपभोक्ता हुन्। विज्ञापनदाताले किन हामीलाई दिने विज्ञापनलाई दानको रूपमा लिन्छ भनेर हामीले आफैंलाई सोध्नुपर्ने हो। हाम्रो सामग्री, पाठक र प्रभाव जहाँ हुनुपर्ने हो, जस्तो हुनुपर्ने हो, त्यस्तो नभएर हो कि? विज्ञापन दिनेले पनि त केही आशा गर्छ।
देश आर्थिक मन्दीमा गइरहेको छ। मिडियाको आय कम भएको छ। तर, कुनै वेला हामी सुनौलो समयमा थियौं। विज्ञापन आफैं आउँथ्यो। त्यति वेला मिडियाको संख्या पनि कम थियो। पत्रकारिता उच्च तहको थियो। त्यति वेलाकै पत्रकारिताले राजनीतिक परिवर्तन आएको हो।
मधु आचार्य: आमोद र प्रणयजीले विज्ञापन नलिने भनिरहँदा नयाँ ‘रेभेन्यु मोडल’ पत्ता लगाउन गरेको प्रयास के के छन्?
प्रणय राणा: अहिले नयाँ पुस्ताको आकर्षण टिकटक र फेसबूकले लिइसकेको छ। अहिले १८ वर्षको कलेज जाने युवाले तिरेर पढ्न सक्दैन होला। तर, उनीहरूले राम्रो सूचना पाइराखे भने पाँच वर्षपछि शायद तिर्न सक्छन्। हामीले उनीहरूलाई ‘कन्टेन्ट कन्ज्युम’ गराएर मात्र ‘मनिटाइजेशन’बारे सोच्नुपर्छ। अहिले फेसबूक पेजहरूले टन्न पैसा कमाइरहेका छन्। उनीहरूको समाचार लाखौंले हेर्छन्। अनि हामी कसैले नपढ्ने पत्रकारिता गरेर पैसा कसरी कमाइन्छ?
आमोद प्याकुरेल: ‘नोस्टाल्जिया’ मा मात्रै नअल्झौं। आज हामीले गर्ने रिपोर्टिङमा परिवर्तन ल्यायौं भने प्रभाव बढ्छ। रेभेन्युबारे तीन वटा मोडल सोचेका छौं। एउटा त ठूलो सहयोगकर्ता, जुन बुद्ध एअरले दिन्छु भनेको थियो, तर पछि हट्यो।
त्यसपछि केही सहयोगदाताबाट उठायौं। अर्को, मासबाट ‘क्राउड फन्डिङ’ शुरू गरेका छौं। कन्टेन्ट दिनुपर्यो। मान्छे हामी जस्तै त हुन् नि! दिन्छन् त पैसा। मैले घरको घ्यूतेल किन्न पैसा मागेको होइन। तपाईंको पर्दा पछाडि के भइरहेको छ त्यो देखाउने हाम्रो प्रयास हो भनेर पैसा मागेको हो। हामीलाई पैसा दिनुस्, विज्ञापन होइन भनिरहेका छौं।
मधु आचार्य: मूलधारको मिडियामाथि तीन जनामध्ये एक जनाले विश्वास राखेको पाइन्छ। अनलाइन मिडियामाथिको विश्वास बल्ल एक प्रतिशत पुगेको छ। सामाजिक सञ्जालप्रतिको विश्वास झन् कमजोर छ। विश्वास र आम्दानी जोडिनुपर्ने हो। पाठकको रुचि, विश्वास र आवश्यकता पहिचान गर्न के गर्नुहुन्छ? कस्ता मोडल छन्?
अमित ढकाल: विश्वास, आम्दानी र अडियन्स सबै जोडिन्छन्। ज्याक माले भनेका छन्- व्यवसाय आज अप्ठ्यारो अवस्थामा हुनछ, भोलि झन् अप्ठ्यारोमा अवस्थामा पुग्नेछ, तर पर्सि सुन्दर हुनेछ।
सेतोपाटीले मासिक आम्दानीबाट नाफा गर्न छोडिसक्यो। शतप्रतिशत पैसा बजारले दिने, अनि शतप्रतिशत बफादारी पाठकमा हुने भन्ने हुँदैन। ‘रिडरशिप’ मा शिफ्ट भयो। तर, आम्दानी भइरहेको छैन। ३० प्रतिशत आम्दानी पाठकबाट आएन भने पाठकसँग मिडियाको सम्बन्ध रहँदैन। कुनै न कुनै दिन सेतोपाटी, अनलाइनखबरले पे-वाल राख्छन्। तर, त्यतिले पुग्दैन।
पाठकमा पनि समस्या छ। सेतोपाटीले पहिला लामो रिपोर्टिङ, विचार र विश्लेषण मात्र पस्किन्थ्यो। तर, त्यसो गर्दा पाठक संख्या घट्छ। विज्ञापनदाताले त पाठक हेर्छ। त्यसैले हामीले समाचार पनि छाप्न थाल्यौं। तर, पाठकको रुचिमा मात्र गयौं भने हामीले गर्न खोजेको पत्रकारिता हुँदैन। कन्टेन्ट पाठक हेरेर हुँदैन, इस्यु हेरेर हुन्छ।
आमोद प्याकुरेल: मिडियाले कन्टेन्ट लाद्न पनि भएन। उकालोमा हामीले सामाजिक, राजनीतिक विषयका सामग्री मात्र प्रकाशन गरेका छौं। कन्टेन्टले डोर्याउन सक्नुपर्छ।
समृद्धि ज्ञवाली: अजेन्डा सेटिङमा बोल्न म उपयुक्त मानिस होइन। जीवनका उर्वर समय लगानी गरेकाले मिडिया व्यवसायप्रति भने मलाई लगाव छ।
मधु आचार्य: प्रणयजीको धारणा के छ?
प्रणय राणा: ठूलो लगानी गर्ने मानिस नभई स्वतन्त्र पत्रकारिता टिकाउन गाह्रो छ। त्यसैले रेकर्ड नेपाल बन्द भयो। तर, म साप्ताहिक रूपमा न्यूजलेटर लेखिरहेको छु। सब्स्क्राइबर बढिरहेका छन्, कुनै प्रचार नगरी। अहिले २० जनाले सहयोग गरेका छन्। एक जना भाइले मासिक हजार रुपैयाँ दिन्छु, कफी खानुस् भने, त्यो मेरो लागि खुशीको कुरा हो। पाठकको पछाडि दौडँदा हाम्रो विश्वसनीयता खस्किन्छ। विश्वसनीयता खस्किएको पत्रकारिता बच्दैन।