कस्तो छ विद्या चापागाईंको ‘हेर्ने कथा’ को यात्रा?
“कहिलेसम्म हेर्ने कथा चलाउन सक्छौं थाहा छैन। तर, हेर्ने कथाको जस्तो कथाहरू सधैं भनिरहन मन छ। यसमा भोलि कमल र म नरहौंला, नयाँ पुस्ता आएर यी कथाहरू निरन्तर भन्नुहोला भन्ने आशा र विश्वास छ।”
कथा भन्ने कर्ममा छु, तर आफ्नो पृष्ठभूमिको कथा भने फरक छैन। आमनागरिकको कथा जस्तै सामान्य जीवनबाट आएकी हुँ। काठमाडौंको काखमा जन्मिएँ। आमाबुबा कृषि पेशामा नै हुनुहुन्छ। खेतीपाती, गाईगोठसँगै हुर्किएँ।
मैले गोठाटारमा पढें र रत्नराज्य क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर गरें। यसबीचमा विभिन्न सञ्चारमाध्यममा काम गरेँ। बीबीसीमा प्रस्तोता र निर्माता भएर काम गर्दा देशभरि घुम्ने अवसर पाएँ। देशको वास्तविक चित्र देखें। त्यहाँ काम गरिरहँदा जुनसुकै क्षेत्रहरूमा पनि भाले टाउकेहरू नै देखें।
हामीले काम गर्ने मिडियाको विषयवस्तुमा पनि उही अवस्था पाएँ। त्यही समयमा लाग्यो, के साँच्चै हामीले आवाजविहीनहरूको आवाज बोलिरहेका छौं त? यही प्रश्नले घोचिरहेको थियो। यो प्रश्न सुन्दा जति सामान्य सुनिन्छ, यसलाई मिहिन रूपमा बुझ्दा यो त गहिरो प्रश्न रहेछ।
त्यही बीचमा हामीले चिया गफमा, के अब हामी सधैं एउटै व्यक्ति र क्षेत्रलाई उही प्रश्न मात्र गरिरहने हो त भन्ने लाग्यो। हामी बाहिर निस्केर पहिचानविहीन भएकाहरूको कथा कहिले भन्ने त? हामी सधैं घटनाका पछि मात्र कहिलेसम्म लाग्ने त? काठमाडौंमा नै भएका वास्तविक कथाहरू पनि नभन्ने?
घोत्लियौं, यो कुराले पोलिरह्यो। मलाई, सँगै अर्को साथी कमल कुमारलाई पनि यही कुराले पेट पोलेको थाहा पाएँ। त्यसपछि कुनै समय बीबीसीलाई नै आफ्नो सपना बनाएकाहरूलाई त्यही बीबीसीले अर्को सपना देख्ने बनाइदियो। त्यसैले बीबीसी मलाई सपना देख्न सिकाउने कारक भएको लाग्छ। हेर्ने कथा शुरू गर्न बीबीसी नै एक प्रेरणा हो।
त्यसपछि हामीले केही नसोची बीबीसीको काम चटक्कै छाडिदियौं। हामीले बनाएको कथा कसले हेर्लान् वा नहेर्लान् भन्ने पनि सोचेनौं। अब साधारण मान्छेको कथा भन्छौं भन्नेमा प्रस्ट थियौं। त्यही बीचको कुराकानीमा हेर्ने कथाको नाम पनि फुर्यो। माध्यम सजिलो हुन्छ भनेर यूट्यूब नै रोजियो।
विषयवस्तुका हिसाबले भने कठिन भएन। हामीले आममानिसका कथा खोज्न र सोच्न थाल्यौं। मूलधारका मिडियाले कथा नमानेका पात्र खोज्यौं। यस्ता पात्रहरू जसलाई आफू कथा हुँ भन्ने थाहा छैन, उनीहरूका कथा भन्न थाल्यौं। त्यसपछि एक एक कथा आउन थालेपछि दर्शकहरू आफैंले आफ्ना गाउँघरमा पनि यस्ता कथाहरू छन् भनेर भन्न थाल्नुभयो। हाम्रो पनि कथा छन् भनेर प्रतिक्रिया आउन थाले।
कथा भेटिने भनेको आफ्नो ‘कम्फर्ट जोन’ बाट निस्किएपछि भेटिने रहेछ। अनि हाम्रो कथा भन्ने शैलीमा खास फरक छैन। पहिला हामी कथाका पात्रहरूबारे जानकारी लिन्छौं। २४ घन्टादेखि तीन दिनसम्म पनि बिताएका हुन्छौं। पात्र कति सही र गलत भन्ने कुरा त्यही बीचमा थाहा हुन्छ। कथा लिएर आएपछि ‘पोस्टप्रोडक्शन’ मा एक सातासम्म लाग्छ। त्यसमा कार्यक्रमको समयको सीमा नभएकाले खुलेर बनाउँछौं। कुनै कथा १४ मिनेट त कुनै एक घन्टासम्म पनि छन्।
अहिले सामाजिक सञ्जालका विषयवस्तु र त्यसमा पनि छोटा कथाहरू बिकिरहेको भन्छन्, तर हामीलाई हाम्रा दर्शकले कथा छोटो भएको भन्नुहुन्छ। हाम्रा कथाहरू लामा हुन्छन् किनभने हामी पात्र र चरित्रलाई डोरीले जसरी बुन्दै जान्छौं। हामीसँग समयको कुनै सीमा हुँदैन। हामी त कथासँगै उडिदिन्छौं। हामीलाई दर्शकले नै पठाएका धेरै कथाहरू बनाइरहेका हुन्छौं।
मान्छेलाई आफ्ना र आफ्नो भेगको कथा आइरहेको देख्दा उत्सुकता हुँदो रहेछ। हामी त कथा देखाएपछि दर्शकको प्रायः प्रतिक्रिया पनि पढ्छौं। धेरैलाई उत्तर पनि पठाउँछौं । यो गर्नुपर्छ भनेर भन्दा हामी दर्शकलाई साँच्चै सम्मान गर्छौं।
कथा खोज्ने क्रममा धेरै डरलाग्दा ठाउँमा पनि पुगियो। जस्तै- चेफाको कथा। तर, त्यो डरमा उनीहरू हरेक दिन बाँचेका हुन्छन्। हामी त एक दिन न बाँच्ने हो। उनीहरूले बाँचेको जीवन थोरै पनि बाँचेनौं भने त्यो कथा भन्न सकिंदैन। त्यसैले पात्रहरूसँगै खान्छौं, खेल्छौं, रहन्छौं। त्यसले पनि हाम्रो कथा कसरी प्रस्तुत हुन्छ भन्ने कुरामा निखार आउँछ।
यसरी कथा बनाउँदै जाने क्रममा हामीलाई आँसु बेच्ने पनि भन्छन्, तर हामी कर्ममा विश्वास गरेर कर्म नै गर्नेहरूको कथा भन्छौं। त्यसैले केही पैसा दिएर उनीहरूको कर्मलाई हियाउन हुन्छ जस्तो लाग्दैन। हामीले दुई–चार रुपैयाँ दिंदा उनीहरूको नै अपमान हुन्छ। कति स्थानमा एक हातले दिएको अर्को हातले पनि थाहा नपाओस् भन्ने पनि अभ्यास हुन्छ। तर, त्यो दिएको कुरा सामाजिक सञ्जालमा हाल्नुपर्छ भन्ने लाग्दैन।
त्यसैले हामी पत्रकारिताको सीमामै रहेर काम गर्छौं। हामीले ती पात्रहरूको कथा देखाउने हो। हामीले पैसा उठाएर दिने हैन। त्यसमा हामीलाई ‘डलर खानेहरू’ पनि भन्छन्। तर, हामीले विषयवस्तुका हिसाबले कसैको एक रुपैयाँ पनि खाएका छैनौं। डलर कमाउने, आँसु बेच्नेभन्दा पनि कर्ममा विश्वास गर्नेहरू, आफ्नो कर्मबाट खुशी भएकाहरूको कथा दिएका छौं। त्यही नै दिइरहन चाहन्छौं।
हाम्रो आयस्रोतको माध्यम भने सहयोग, विज्ञापन, ‘कन्टेन्ट्स पार्टनरशिप’ र यूट्यूबको नै हो। तर, हामीले अहिलेसम्म कमाइसकेका छैनौं। कार्यालय चलिरहेको छ। फेरि हामीले उत्पात कमाउनेभन्दा पनि कर्मशीलहरूको कथा भन्नु छ भनेर लागिपरेका हौं। त्यसैमा हाम्रो व्यावसायिक दीर्घकालीनताको खोजी गरिरहेका छौं।
अर्को, आँसु बेचे भन्ने कुरामा भने त्यो आँसु हाम्रा पात्रहरूले मन खोल्दा आएको हो। हामीले त्यसलाई बेच्न खोजेका होइनौं।
हामी व्यावसायिक ‘मोडल’ खोजिरहेका छौं। हामी कहिलेसम्म यसरी काम गर्न सक्छौं थाहा छैन, तर हेर्ने कथाको जस्तो कथाहरू सधैं भनिरहन मन छ। यसमा भोलि कमल र म नरहौंला, नयाँ पुस्ता आएर यी कथाहरू निरन्तर भन्नुहोला भन्ने आशा र विश्वास गरेका छौं।
(हिमाल मिडिया मेला २०२३ मा ‘मिडिया कथावाचन’ शीर्षकको बहसमा चापागाईंले राखेको विचारको सम्पादित अंश।)