नागरिकलाई सुस्पष्ट विचार निर्माणमा सघाउन तथ्याङ्कमा आधारित पत्रकारितामा जोड
बुम तथ्यजाँच तथा इन्डिया स्पेन्ड सम्बद्ध पत्रकार गोविन्दराज इथिराजले नागरिकलाई सही सूचना दिएर सुस्पष्ट विचार निर्माण गर्न तथ्याङ्कमा आधारित पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
इथिराजले जटिल विषयमा नागरिकलाई विषयवस्तुबारे सुस्पष्ट विचार निर्माण गर्न र नीतिनिर्मातालाई नीतिगत सुधारका लागि तयार बनाउन तथ्याङ्कमा आधारित पत्रकारिताको महत्त्वपूर्ण भूमिका हुने बताएका हुन्। हिमाल मिडिया मेला २०२३ मा तथ्याङ्क पत्रकारिताको अनुभव सुनाउँदै इथिराजले भारतमा पनि तथ्याङ्क सङ्कलन र प्राप्तिमा पर्याप्त जटिलता रहेको बताए।
कोभिड–१९ का वेला शिक्षा, सार्वजनिक स्वास्थ्यमा परेको प्रभावको विषयमा तथ्याङ्क पाउन जटिलता रहेको अनुभव सुनाउँदै उनले सहजै तथ्याङ्क उपलब्ध नभएका विषयहरूमा मिडिया आफैंले तथ्याङ्क सङ्कलनका उपायहरू अघि सारेको बताए। इन्डिया स्पेन्डले वायु प्रदूषण र मिथेन उत्सर्जनको तथ्याङ्क सङ्कलन गरी नागरिकलाई सूचित गर्न परियोजना नै सञ्चालन गरेको थियो।
इथिराजले सन् २०११ मा स्थापना गरेको इन्डिया स्पेन्ड अनलाइनले भारतको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, कृषि तथा राजनीति सम्बन्धी तथ्याङ्कमा आधारित पत्रकारिता गर्दै आएको छ। उनी सम्बद्ध बुम फ्याक्ट चेकले भारतमा सामाजिक सञ्जाल तथा मिडियामा भाइरल बनेका विषयहरूको तथ्य जाँच गर्दै नागरिकलाई सुसूचित गर्दै आएको छ।
इथिराजले नेपालमा पनि भूकम्प सम्बन्धी वा वायु प्रदूषण सम्बन्धी तथ्याङ्कमा आधारित पत्रकारिता मार्फत नागरिकलाई सूचित गर्न जरुरी रहेको बताए। तथ्याङ्क पत्रकार अरुण कार्कीले कार्यक्रमको सहजीकरण गरेका थिए।
हिमाल मिडिया मेलामा पत्रकारिताका विविध आयामबारे छलफल जारी छ। मिडिया मेलामा भारतको द वायर अनलाइनका सम्पादक सिद्धार्थ वरदराजनले प्रमुख वक्ताका रूपमा मन्तव्य राखेका थिए।