नेपाल तीन ढुङ्गाबीचको तरुल कि गोलभेंडा?
बदलिंदो भूराजनीतिका विषयमा आयोजित एक संवाद कार्यक्रममा वक्ताहरूले नेपाललाई तीन ढुङ्गाबीचको तरुलसँगै ‘गोलभेंडा’ का रूपमा पनि चर्चा गरेका छन्। उनीहरूले चीन, भारत र अमेरिकालाई तीन ढुङ्गाको रूपमा चित्रण गरेका हुन्।
नेपाल अहिले गोलभेंडा बनेको छ। तरुलभन्दा त चनाखोपूर्ण तरीकाले उत्तर र दक्षिणलाई सम्हाल्ने भन्ने बुझिन्छ।
पत्रकार कनकमणि दीक्षितको भनाइमा अर्का पत्रकार सुधीर शर्माले असहमति जनाए। शर्माले भने, “यति धेरै निराश हुनु पर्दैन। हामी तरुल नै छौं, टमाटर भइसकेका छैनौं। टमाटर भन्दा त आजभोलि नै पाक्ने र कुहिने भन्ने हुन्छ। हामी त्यस्तो अवस्थामा छैनौं।”
हिमाल मिडिया मेला २०२३ को वर्तमान भूराजनीतिक उहापोहबीच नेपालको अवस्था के हो भनेर विमर्श गर्दै हिमाल मासिकका प्रकाशक दीक्षित र कान्तिपुर दैनिकका प्रधान सम्पादक शर्माले गरेको तर्क हो। हिमाल साउथएशियाका सम्पादक रोमन गौतमले सञ्चालन गरेको हिमाल मिडिया मेलाको पहिलो दिनको पहिलो सत्र ‘बदलिंदो भूराजनीतिबीच मिडियाको सन्दर्भ’ विषयक संवादमा दीक्षित र शर्माले आआफ्नो धारणा राखे।
“पृथ्वीनारायण शाहले दुई ढुङ्गाबीचको तरुल भनेर नेपाललाई चिनाएका थिए, वर्तमान सन्दर्भमा त्यो पत्थर दुई वटा मात्रै हो कि अरू पनि छन्?” गौतमले यही प्रश्नसँगै शुरू गरेको बहसले करीब एक घण्टा वक्ता र उपस्थित सबैको ध्यान केन्द्रित गरिरह्यो। दुवै वक्ता नेपालमा खासगरी भारत, चीन र अमेरिकाको चासो र सक्रियता बढिरहेकोमा सहमत भए।
“विभिन्न समयमा नेपाललाई हेर्ने भारत, चीन र अमेरिकाको दृष्टिकोण बदलिएको छ। अहिले भने तीन वटै देशको चासो बढेको छ,” शर्माको विश्लेषण थियो।
शर्माका अनुसार २००७ सालदेखि नेपालमा आफ्नो रुचि अनुसारको राजनीति चाहने भारतले नेपाल चीनसँग निकट नहोस् भनेर सक्रियता बढाइरहेछ। पहिला तिब्बत विरुद्ध नेपाली भूमि प्रयोग नहोस् भन्नेमा मात्र चासो राख्ने चीनको सामरिक रुचि बढेको छ। पहिला चीन वा भारतको कोणबाट नेपालमा सक्रियता बढाउने अमेरिका चीनसँग शीतयुद्धमा होमिएसँगै प्रभाव बढाउन थालेको छ। यो भूराजनीतिक तनावबीच नेपाल कमजोर भएकोमा शर्मा चिन्तित देखिए।
“हामी राज्यका रूपमा धेरै कमजोर भएका छौं,” शर्माले भने, “पहिला यस्तो अवस्था आउँदा सामना गर्न सक्ने क्षमता थियो। अहिले निकै कमजोर भएका छौं। नीति बनाउनै नसक्ने भएका छौं। हामीसँग क्षमता नै नभएको होइन, तर त्यसलाई उपयोग गर्ने संयन्त्रको कमी भएको मात्र हो।”
दीक्षित भने शर्माभन्दा बढी चिन्तित देखिए। “नेपाली नेताहरूले आफ्नो स्वार्थका लागि नेपालको भूराजनीति दाउमा राख्छन्,” उनले भने। खासगरी भारतको सक्रियता हस्तक्षेपको तहमा बढेको उनको ठम्याइ थियो। सन् २०२४ को लोकसभा निर्वाचनमा विजय पाउन नरेन्द्र मोदी सरकारले नेपालमा पनि हिन्दूत्वको राजनीति प्रवेश गराइरहेको उनको विश्लेषण थियो।
सेतोपाटी डटकमका प्रधान सम्पादक अमित ढकालले फ्लोरबाट टिप्पणी गर्दै भारतले दबाब दिंदा पनि नेपालका नेताले स्वीकार नगरेको उदाहरण प्रस्तुत गरे। “हाम्रा नेताहरूले आफ्नो स्वार्थ बाझिंदा भारत, चीन, अमेरिकाले नमानेको थुप्रै उदाहरण छन्,” ढकालको टिप्पणी थियो।
ढकालको प्रश्नको जवाफमा दीक्षितले भने, “चुनौती आए, सामना गर्यौं। चुनौती त आएकै रहेछन्, चुनौती चुलिएको छ। विदेशीहरूको हस्तक्षेप बढेको छ।”
नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई जोड दिंदा विदेशीहरूको भूमिका बढेकोमा सम्पादक शर्मा पनि सहमत थिए। “हामी संस्थागत हिसाबले जान सकिरहेका छैनौं, त्यसैले विदेश नीति बलियो बन्न सकेको छैन,” शर्माको विश्लेषण थियो।
दुई दिनसम्म चल्ने मेलामा भारतको द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले मुख्य मन्तव्य राखेका थिए। उनले मिडियाले अभूतपूर्व चुनौतीको सामना गरिरहेको बताएका थिए।