नेपाली क्रिकेट: दुई महीनामा तीन उपलब्धि
एक शताब्दी पहिला शुरू भएको नेपाली क्रिकेटले पछिल्लो दुई महीनामा तीन वटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।
एसीसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गर्दै नेपालले एशिया कपको यात्रा पक्का गरेको छ। वैशाख १९ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यूएईले प्रस्तुत गरेको ११८ रनको विजय लक्ष्य नेपालले ३०.३ ओभरमा पूरा गरेको हो।
सन् १९२० को दशकमा शुरू भएको नेपाली क्रिकेटका लागि यो निकै ठूलो उपलब्धि हो। अब नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुन लागेको एशिया कपमा क्रिकेट महारथी भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
यद्यपि भारतले पाकिस्तानमा हुने प्रतियोगितामा भाग नलिने दाबी गरिरहेको छ। नेपाल सन् २००२ को एशिया कपमा छनोट भएर पनि खेल्न पाएको थिएन। त्यति वेला भारत र पाकिस्तानबीचको कारगिल युद्धका कारण एशिया कप हुन सकेको थिएन।
एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको दिन नेपाली क्रिकेटका लागि अर्को पनि सुखद समाचार थपियो। अर्को सेमिफाइनल मूलपानीस्थित क्रिकेट मैदानमा यूएई र ओमनबीच भएको थियो। वैशाख १६ गते मूलपानीस्थित क्रिकेट मैदानले पनि एकदिवसीय प्रतियोगिता खेलाउनका लागि मान्यता पायो।
यससँगै एकदिवसीय क्रिकेटका लागि दुई वटा मैदान भएका छन्। यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मात्रै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै आएको थियो।
गएको चैत २ मा यूएईलाई नै पराजित गरेर नेपालले क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो। २०७४ चैतमा पहिलो पटक एकदिवसीय देशको मान्यता पाएको नेपालले आगामी चार वर्षका लागि एकदिवसीय मान्यता जोगाइसकेको छ।
त्यसअघिसम्म नेपालको सबैभन्दा ठूलो उपलब्धि सन् २०१४ मा बाङ्लादेशमा भएको टी-२० विश्वकप खेल्नु थियो।
यस हिसाबले पछिल्लो दुई महीना नेपाली क्रिकेटका लागि अविस्मरणीय रह्यो।