कीर्तिमानी जितसँगै नेपालको एकदिवसीय वरियता कायम
यूएई विरुद्धको खेलमा कीर्तिमानी जित हासिल गरेसँगै नेपालले एकदिवसीय वरियता कायम राखेको छ।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेको हो। रनका आधारमा नेपालको यो सबैभन्दा फराकिलो जित हो। यसअघि नेपालले पपुवा न्युगिनीलाई १५१ रनले पराजित गरेको थियो।
यो जितसँगै नेपाल ३६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। यसअघि चौथो स्थानमा रहेको अमेरिका पाँचौ स्थानमा झरेको छ। अमेरिकाको ३५ अंक छ।
लिग-२ का शीर्ष पाँच टोलीको एकदिवसीय वरियता कायम रहनेछ। स्कटल्यान्ड ५० अंक, ओमन ४४ अंक र नामिबिया ३९ अंकसहित शीर्ष तीन स्थानमा छन्।
पाँचौ स्थानका लागि अमेरिका र यूएई प्रतिस्पर्धामा छन्। अमेरिकाले सबै खेल खेलिसक्दा ३५ अंक जोडेको छ भने यूएईको ३४ मध्ये १४ खेलमा जित हासिल गर्दै ३१ अंक छ। यूएईका दुई खेल बाँकी छन्।
आजको खेलमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरमा सबै विकेट गुमाएर ७१ रनमै समेटिएको हो। यूएईका लागि अफजल खानले २९, अस्वन्थ वल्थापाले १४ र कार्थिक मयेप्पनले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
यूएईलाई सस्तैमा समेट्न ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गरे। उनले ७.५ ओभरमा २० रन खर्चेर पाँच विकेट लिए।
त्यस्तै, सन्दीप लामिछानेले दुई, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले एक-एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको थियो। नेपाल धरमराई रहेको वेला कप्तान रोहित पौडेलले सम्हालेका थिए। उनले ११२ बलमा ७७ रन बनाए। जसमा नौ चौका समावेश छन्।
त्यस्तै, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४, भीम सार्कीले २९, कुशल मल्लले नौ र कुशल भुर्तेलले आठ रन बनाए।
यूएईका लागि अफजल खान, जवार फरिद,जहूर खान र रोहन मुस्तफाले दुई-दुई, आर्यन लक्रा र जुनैद सिद्दिकीले एक-एक विकेट लिए।
यो जितसँगै नेपालको आईसीसी विश्वकप क्वालिफायर खेल्ने सम्भावना पनि जिवितै राखेको छ। नेपालले बाँकी दुई खेल जितेमा ४० अंकसहि लिग-२ को तेस्रो स्थानमा रहँदै आईसीसी विश्वकप क्वालिफायर खेल्न पाउनेछ।
नेपालको अर्को खेल भोलि बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग हुनेछ।