सुक्खा याममा कहाँबाट आयो हितिमा छ्यालब्याल्ती पानी?
सुक्खा याममा पानीको हाहाकार हुने ललितपुरका भित्री बस्तीमा यस वर्ष भने हितिबाट छ्यालब्याल्ती पानी आइरहेको छ। कसरी आइरहेको छ सुक्खा याममा पनि हितिबाट पानी?
यो वर्ष लामो समय खडेरी पर्दा पनि चैत-वैशाखमा हितिबाट पानी आइरहेको देख्दा ललितपुरको बंगलामुखीका स्थानीय बासिन्दा छक्क छन्। विगतमा रातको ३ बजे नै उठेर लाइन बसेर हितिको छेउमै रहेको पानी ट्यांकीमा पानी थाप्ने, इनारबाट पानी भर्ने उनीहरू यस वर्ष त्यो झन्झटबाट मुक्त छन्। अहिले बंगलामुखी क्षेत्रका सबै हितिमा पानी आइरहेको स्थानीय झुमा लिम्बू बताउँछिन्।
“यस्तो खडेरी मौसममा पनि हितिमा पानी देखियो‚ अचम्मै भयो‚” लिम्बूले सुनाइन्‚ “मेलम्चीको पानी आएर यसो भएको भन्छन्। हामीलाई सजिलो भएको छ।”
बंगलामुखी मन्दिर परिसरका मिसा र क्वन्ती हिति (ढुङ्गेधारा) को धार्मिक महत्त्व छ। यी हितिमा प्रत्येक साउनमा पञ्चदान गरिन्छ। साउनमा फूद्योः (अन्तिम देवता) लाई बाजागाजा सहित यहाँ ल्याउने क्रममा सहभागीले बाटोमा भिक्षुहरूलाई पञ्चदान गर्छन्।
त्यही दिन मिसा हितिमा स्नान गर्ने चलन छ। केही दशकदेखि यस क्षेत्रका हितिमा असार, साउन, भदौ र असोजमा मात्र पानी आउने गरेको स्थानीय बासिन्दा बताउँछन्।
यस वर्षको सुक्खा याममा बंगलामुखी मन्दिर परिसरका हितिमा मात्र होइन‚ ललितपुर क्षेत्रका नबिग्रिएका प्रायः सबै हितिमा पानी आइरहेको छ। यहाँका मंग हिति, छाय्बहाः हिति, तापा हिति, च्यासः हिति, नारायण हिति लगायत हितिबाट छ्यालब्याल्ती पानी बगिरहेको छ।
हिउँदमा सधैं सुक्खा रहने हितिहरूमा यस वर्ष पानी नसुक्नुमा मेचम्ची खानेपानी आयोजनाको पानी कारण रहेको शहरी विकास विशेषज्ञ पद्मसुन्दर जोशी बताउँछन्। घर घरमा मेलम्ची खानेपानी आयोजनाको पानी आउँदा काठमाडौंवासीले इनार, ट्युबवेलमा मोटर लगाएर तान्न छाडेका छन्। जसले गर्दा जमीनमुनि पानीको सतह बढेर हितिमा पनि आएको जोशीको भनाइ छ।
“मेलम्ची आयोजनाले पानी कम पठायो र उपत्यकामा जनसंख्या बढ्दै गयो भने हितिहरू फेरि सुक्छन्,” जोशी भन्छन्‚ “त्यसैले हितिहरूमा सदाबहार पानी रहन दिन शहरी योजना बनाएर काम गर्न आवश्यक छ।”
उपत्यकामा हितिहरू करीब ३० वर्षअघि सुकेका थिएनन्। जनसंख्या बढ्दै गएपछि इनार‚ ट्युबवेलबाट भूमिगत पानी बढी निकाल्न थालिएकाले हितिहरू सुक्न थालेको जोशी बताउँछन्। यसका साथै, अव्यवस्थित शहरीकरणले पनि हितिको पानी सुकेको हो।
कतिपय हितिका मुहान घर बनाउने क्रममा पुरिएका छन् भने कतिपय हितिका पाइप फुटेका छन्। जोशीका अनुसार काठमाडौंको सुन्धारा नजिक कर्मचारी सञ्चयकोषको भवन निर्माण गर्ने क्रममा सुन्धारामा पानी ल्याउन बनाइएका पाइप भत्किएका थिए।
“हितिहरूमा पानी नआउनुमा फरक-फरक कारण छन्‚” उनी भन्छन्‚ “तीमध्ये बढ्दो जनसंख्या र अनियन्त्रित शहरीकरण प्रमुख हो।”
हितिहरूमा पुनः पानी आइरहने बनाउन वर्षात्को पानीलाई भण्डारण गरी रिचार्ज गर्न सकिने उनको सुझाव छ। “वर्षात्मा तीन महीना परेको पानीको रिचार्ज गर्न सकिन्छ‚” जोशी भन्छन्‚ “८० प्रतिशतभन्दा पानी बढी यही महीनामा पार्ने भएकाले रिचार्ज पिट बनाएर, इनार भरण गरेर पानीको सतह माथि ल्याउन सकिन्छ।”
स्थानीय सरकारले संरक्षणको नाममा रङरोगन गर्ने कामभन्दा हितिमा पानी ल्याउन योजना सहितको कार्यक्रम गर्नुपर्ने जोशी बताउँछन्। यसो नगरे अहिलेसम्म बचेका हिति र तिनका पाइपहरू काम नलाग्ने उनको भनाइ छ।
मेलम्ची आयोजनाले अहिले ललितपुर र काठमाडौंको कोटेश्वर क्षेत्रमा दैनिक एक करोड लिटर पानी दिइरहेको छ। आयोजना कार्यान्वयन निर्देशनालयका महानिर्देशक चन्द्रकुमार श्रेष्ठ भन्छन्, “मेलम्चीबाट नरोकियुन्जेल पानीको मात्रा घट्नेछैन।”
खुमलटारस्थित वितरण केन्द्रबाट अहिले जडान भइरहेको पाइपबाट केही महीनापछि पानी छाडिने श्रेष्ठले बताए। उनले भने, “अहिलेसम्म पुराना पाइपबाट मात्र पानी दिने गरेका छौं। नयाँ पाइपबाट पठाएपछि पानी सबैकहाँ पुग्नेछ।”
‘हितिलाई दुत्कार्नु पुर्खालाई दुत्कार्नु हो’
- पद्मसुन्दर जोशी, शहरी विकास विशेषज्ञ
करीब ३० वर्षअघिदेखि ललितपुर सहित उपत्यकाका हितिहरू सुक्न थालेका हुन्। शुरू शुरूमा कम पानी आयो। त्यसपछि वर्षात्को वेला आउने, हिउँदमा नआउने हुन थाल्यो। त्यसपछि पूर्ण रूपमा सुक्यो।
काठमाडौं उपत्यकामा जनसंख्या बढ्दै गएपछि यहाँ घर बन्ने क्रम पनि बढ्यो। कतिपय हितिको मुहान‚ मुहानसम्म पानी पुर्याउन बनाइएका पाइप घर निर्माण गर्ने क्रममा पुरिए। जसले गर्दा कतिपय हिति सुके।
यस्तै‚ पानी पर्याप्त नभएपछि घर घरमा इनार‚ ट्युबवेल बनाइए। त्यहाँबाट पानी निकाल्दा जमीनमुनिको पानीको सतह बिस्तारै तल जान थाल्यो। जसका कारण हितिमा पानी सुक्न थाल्यो।
अहिले मेलम्ची खानेपानी आयोजनाले पानी वितरण गर्न थालेपछि ती इनार त्यति उपयोगमा ल्याइएको छैन। जसका कारण जमीनमुनि रहेको पानीको सतह माथि आउने मौका भयो। पानीको सतह माथि आउँदा सुक्खा समयमा हितिमा पानी आउन थालेको हो। अहिले यही सिजनमा अन्य वर्षहरूमा सुक्ने मंग हितिमा पानी आइरहेको छ।
काठमाडौं उपत्यकाको जनसंख्या अहिलेकै दरमा बढ्दै जाने हो भने भविष्यमा मेलम्ची, याङ्ग्री, लार्केबाट ल्याउँदा पनि पानी पुग्दैन। त्यसैले जनसंख्या नियन्त्रण र व्यवस्थापन योजना बनाउनुपर्छ।
काठमाडौंको भूबनोट पानीको रिचार्ज गर्न सकिने खालको छ। मनसुनको तीन महीनामा वर्षभरिको ८० प्रतिशत पानी पर्छ। त्यो पानीलाई ‘रिचार्ज पिट’ बनाएर, इनारमा भरेर राख्दा त्यसले पानीको सतह माथि ल्याउन मद्दत गर्छ। त्यसरी केही हदसम्म आन्तरिक पानीको जोहो गर्न सकिन्छ।
हितिको आयु नै पूरा भएपछि त्यहाँबाट पानी आउन बन्द भएको भन्ने गरिन्छ, तर त्यसमा सत्यता छैन। ललितपुर‚ मंगलबजारको मंग हिति १५ सय वर्षदेखि चलिरहेको छ। आयुभन्दा व्यवस्थापन मुख्य विषय हो। आकर्षक डिजाइन र त्यसमा रङ लगाउनुभन्दा हितिबाट पानी आउनु महत्त्वपूर्ण छ।
यहाँका हिति र पोखरीहरू मानव निर्मित भएकाले तिनको व्यवस्थापन गर्नुपर्छ। यहाँका राजकुलो मासिएकाले हिति र पोखरी सुकेका हुन्। हिति र पोखरी संरक्षण गर्न खर्चिलो हुन्छ भन्ने गरेका छन्। काम नै नगरी महँगो हुन्छ भन्छन्। नेताहरू आफ्नो चुनावी घोषणापत्रमा मात्र हिति संरक्षण लेख्छन्। काम गर्दैनन्।
अहिले सुक्खा याममा पनि हितिबाट पानी झर्नु खुशीको विषय हो। यसले विगतमा बिग्रिएको पर्यावरणलाई अब सम्हाल्नुपर्छ भन्ने सन्देश दिएको छ। अहिलेको समयमा हिति किन चाहियो भनेर दुत्कार्ने होइन, हितिलाई दुत्कार्नु भनेको पुर्खालाई दुत्कार्नु हो। हिति हाम्रो सभ्यता हो।