नेपालले फाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्ने
एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ।
वर्षाका कारण नेपाल र कुवेत खेल अवरुद्ध भयो। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाले खेल रद्द भएपछि नेपाल समूह ‘ए’ को विजेताका रूपमा फाइनलमा प्रवेश गरेको हो।
त्यस्तै, मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा ओमनलाई पराजित गर्दै यूएई फाइनलमा प्रवेश गरेको छ। मुलपानीमा पनि वर्षाका कारण खेल हुन नसकेपछि डीएलएस मेथडका आधारमा यूएईले ओमनलाई दुई रनले पराजित गरेको हो।
यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याउने क्रममा ओमनले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाएको थियो। त्यसपछि वर्षाका कारण खेल हुन सकेन। अम्पायरले डीएलएस मेथडका आधारमा हार–जित तय गरेका थिए।
अब फाइनल खेल नेपाल र यूएईबीच सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। विजेता टोलीले एशिया कप खेल्न पाउनेछ।
एशिया कपमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। भारत, पाकिस्तान, श्रीलंका, बाङ्लादेश र अफगानिस्तान छनोट भइसकेका छन्। ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा पाकिस्तान र भारतसँगै एसीसी प्रिमियर कपको विजेता टोली रहनेछ। त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बाङ्लादेश र अफगानिस्तान छन्।