नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश
वर्षाले खेल रद्द भएपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो। नेपाल समूह ‘ए’ को विजेताका रूपमा फाइनलमा पुगेकाे छ।
सेमिफाइनल खेलमा कुनै नतीजा नआएमा वा खेल रद्द भएमा समूह विजेता टोली फाइनलमा पुग्ने तय गरिएको थियो। त्यसैका आधारमा समूह ‘ए’ को शीर्षस्थानमा रहेको नेपाल फाइनलमा पुगेको नेपाल क्रिकेट संघले जनाएको छ।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाएको थियो। त्यसपछि भारी वर्षा हुँदा खेल सञ्चालन हुन सकेन। जसले गर्दा अम्पायरले खेल रद्द भएको घोषणा गरेका हुन्।
नेपालका लागि करण केसीले पाँच र सोमपाल कामीले एक विकेट लिए। पहिलो ओभरमा केसीले कुवेतका एड्नान इद्रिसलाई आउट गरे। त्यसपछि अर्को ओभरमा कामीले परविन्दर कुमारलाई एलबीडब्लुको धरापमा पारे।
तेस्रो ओभरमा फेरि केसीले मिट भवसरलाई ललित राजवंशीका हातमा क्याच आउट गराए। राजवंशीले आकर्षक क्याच लिएका थिए।
त्यसपछि पाँचौं ओभरमा रविजा सन्दरुवानलाई आउट गरेका केसीले सातौं ओभरमा सिराज खानलाई आउट गरे। नवौं ओभरमा मोहम्मद अस्लमलाई आउट गरेर केसीले पाँच विकेट पूरा गरे।
कुवेतका लागि मोहम्मद अस्लमले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
यसअघि ब्याटिङ गरेको नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर २८१ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेल र कुशल मल्लले अर्द्धशतक प्रहार गरे। पौडेलले ९५ बलमा ९४ र मल्लले ४४ बलमा ५७ रन बनाए।
त्यस्तै, कुशल भुर्तेलले ४३, आसिफ शेखले ३१, आरिफ शेखले १९, सोमपाल कामीले १३, करण केसीले सात, सन्दीप लामिछानेले पाँच, ललित राजवंशीले दुई र भीम सार्कीले एक रन बनाए।
कुवेतका लागि मोहम्मद अस्लम र अड्नान इद्रिसले तीन-तीन तथा यासिन पटेल र सायद मोनिबले एक-एक विकेट लिए।
नेपालले ब्याटिङ गर्दा पनि वर्षाका कारण खेल रोकिएको थियो। जसले गर्दा आठ ओभर घटाइएको थियो। कुवेतलाई पनि डीएलएस मेथडका आधारमा २८१ रनको लक्ष्य दिइएको थियो।