नेपाल रहेको समूहबाट ओमन सेमिफाइनलमा प्रवेश
नेपाल रहेको समूह ‘ए’ बाट ओमन पनि एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा साउदी अरबलाई ७२ रनले पराजित गर्दै ओमन सेमिफाइनलमा प्रवेश गरेको हो। नेपाल भने एक खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
ओमनले दिएको ३६७ रनको लक्ष्य पछ्याउने क्रममा साउदी अरब ४६.५ ओभरमा सबै विकेट गुमाएर २९४ रनमै समेटिएको हो। साउदी अरबका लागि अब्दुल वाहीदले ९५, साद खानले ७८, हिसान शेखले ३६ र अब्दुल वाहिदले २५ रन बनाए।
ओमनका लागि बिलाल खानले चार, जय ओडेड्राले तीन, जीसम मक्सूदले दुई र आयान खानले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको ओमनले ६ विकेटको क्षतिमा ३६६ रन बनाएको थियो। ओमनका लागि चार जना ब्याटरले अर्धशतक प्रहार गरेका थिए।
जतिन्दर सिंहले ८८, शोयब आनले ६८, जीसन मक्सूदले ५५ र कस्यप प्रजापतिले ५१ रन बनाए। साउदी अरबका लागि अतिब उर-रेहमानले तीन, अब्दुल वाहिदले दुई र अब्दुल वाहीदले एक विकेट लिएका थिए।
यो जितसँगै ओमन ६ अङ्क जोडर समूह ‘ए’ को शीर्षस्थानमा पुगेको छ। नेपाल पाँच अङ्क सहित दोस्रो स्थानमा छ। नेपालको एक खेल बाँकी छ भने मलेशिया, साउदी अरब र कतार बाहिरिएका छन्। नेपालको खेल बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारसँग हुनेछ।
त्यस्तै, समूह ‘बी’ बाट यूएई सेमिफाइनलमा पुगेको छ। यो समूहबाट सेमिफाइनल प्रवेशका लागि बिहीबार हङकङ र कुवेत मूलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछन्।