बहराइनलाई आठ विकेटले हराउँदै यूएई सेमिफाइनलमा
एसीसी प्रिमियर कप अन्तर्गत बुधबार भएको खेलमा बहराइनलाई आठ विकेटले पराजित गर्दै यूएई सेमिफाइनलमा प्रवेश गरेको छ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले दिएको ११७ रनको लक्ष्य यूएईले २७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो। यूएईलाई सहज जित दिलाउन भृत्य अरविन्द र रोहन मुस्तफाले अर्धशतक प्रहार गरे।
अरविन्दले ८४ बलमा ६२ रन बनाए। उनले पाँच चौका र एक छक्का प्रहार गरे।
त्यस्तै, मुस्तफाले ५६ बलमा ५० रन बनाए। उनले पनि पाँच चौका र एक छक्का प्रहार गरे। यूएईका लागि प्रारम्भिक ब्याटर आर्यन लक्राले पाँच र मोहम्मद वासीमले एक रन बनाए।
बहराइनका लागि अब्दुल मजिदले दुई विकेट लिए। अन्य बलरले विकेट लिन सकेनन्।
यसअघि ब्याटिङ गरेको बहराइनले ४०.५ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो। बहराइनका लागि हैदर बट र अली दाउदले १६–१६ तथा मोहम्मद युनिसले १६ रन बनाए।
यूएईका लागि आयान अफजल खानले चार, रोहन मुस्ताफा र कार्थिक मयप्पनले दुई–दुई तथा जहूर खानले एक विकेट लिए।
यो जितसँगै यूएई पाँच अङ्क जोडेर रनरेटका आधारमा समूह ‘बी’ को शीर्षस्थानमा पुगेकोछ। यससँगै यो समूहबाट सेमिफाइनलमा प्रवेश गरेको छ।
यो समूहबाट सेमिफाइनल प्रवेशका लागि बिहीबार हङकङ र कुवेतले प्रतिस्पर्धा गर्नेछन्। दोस्रो स्थानमा रहेको हङकङको पाँच अङ्क छ भने तेस्रो स्थानमा रहेको कुवेतको चार अङ्क छ।
यो हारसँगै बहराइनको सेमिफाइनल यात्रा रोकिएको छ। त्यस्तै, पुछारमा रहेको सिंगापुर यसअघि नै बाहिरिसकेको थियो।
समूह ‘ए’ बाट नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपालको अर्को खेल बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारसँग हुनेछ।