बिजुलीको खम्बामा गुजुल्टिएका तार हटाउन १५ दिनको म्याद
काठमाडौं महानगरपालिकाले बिजुलीको खम्बामा रहेका अनावश्यक र प्रयोगविहीन तार हटाउन सेवाप्रदायकलाई १५ दिनको समयसीमा दिएको छ।
पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएका र प्रयोगविहीन तारले शहरको सौन्दर्य बिग्रिएको भन्दै हटाउन निर्देशन दिएको हो। महानगरले सरोकारवाला निकाय र तिनका अधिकारीसँग तार व्यवस्थापन गर्न पटक पटक छलफल र बैठक बसेको थियो। महानगरले सूचना जारी गर्दै ती नियामक निकायसँग छलफल र बैठकको निर्णय कार्यान्वयन गर्न पत्र काटेर ताकेता गरेको जनाएको छ।
तार व्यवस्थापनका लागि महानगरले सेवाप्रदायकलाई आवश्यक पर्ने समन्वय र सहजीकरणका लागि नियामक निकायलाई पनि अनुरोध गरेको थियो। सूचना अनुसार नियामक निकायलाई गरेको अनुरोधबाट पनि कुनै काम नभएपछि महानगरले सेवाप्रदायकलाई ती तार आफैं हटाउन निर्देशन दिएको हो। ‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त तार र केवल नहटाइएमा १६औं दिनपछि महानगरले हटाउनेछ,’ सूचनामा भनिएको छ, ‘यसबाट लाभग्राहीलाई पर्न सक्ने असुविधाको जिम्मेवारी स्वयं सेवाप्रदायकको हुनेछ।’
अहिले सडक किनाराका धेरै पोलहरू विद्युत् प्राधिकरण र नेपाल टेलिकमका हुन्। सेवाप्रदायकसँग प्राधिकरणको भाडा विवाद लामो समयदेखि चर्किएको छ। यसअघि प्राधिकरणले सेवाप्रदायकलाई पोलको भाडा लिएर तार राख्न दिएको थियो।
नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायक कार्यालय तथा संघसंस्थाहरू नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत् प्राधिकरण, केबल प्रसारक संघ लगायतलाई पत्र पठाउँदै तार हटाउन र प्रयोगमा रहेका तार ट्यागिङ गरेर व्यवस्थापन गर्न समय तोकिएको महानगरपालिकाले जनाएको छ।