कीर्तिमानी रन बनाएको यूएईको सहज जित
एसीसी प्रिमियर कप अन्तर्गत आइतबार भएको खेलमा यूएईले सहज जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको समूह ‘बी’ को खेलमा यूएईले सिंगापुरलाई २०१ रनले पराजित गरेको हो। यो जितसँगै यूएईले चार अङ्क जोडेको छ।
यूएईले दिएको ४७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले नौ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो। सिंगापुरका लागि मनप्रीत सिंहले सर्वाधिक ६६ रनको योगदान दिए।
त्यस्तै थिलिप उमीदुराईले ५२ रन जोडे भने सुरेन्दर चन्द्रमोहन र कप्तान अरित्र दत्तले ३८-३८ रन बनाए। यूएईका लागि सचित शर्मा, कात्तिक मैयप्पन र आयन अफजल खानले समान दुई-दुई विकेट लिए।
यसअघि ब्याटिङ रोजेको यूएईले सबै विकेट गुमाउँदै ४७१ रन बनाएको थियो। यूएईका लागि युवा ब्याटर भृत्य अरविन्दले सर्वाधिक १७४ रन बनाए।
त्यस्तै यूएईका कप्तान मोहम्मद वासिमले १६० रन जोडे। आयन अफजल खानले ७४ रन बनाए।
सिंगापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे। त्यस्तै, विनोथ भास्करनले दुई विकेट लिंदा मनप्रीत सिंहले एक विकेट लिए।
त्यस्तै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा ओमनले मलेशियालाई आठ विकेटले पराजित गरेको छ।
सोमबार त्रिवि क्रिकेट मैदानमा बहराइन र हङकङ तथा मूलपानी क्रिकेट मैदानमा नेपाल र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ।