कीर्तिपुरमा यूएईको कीर्तिमान, दुई खेलाडीको शतकमा ४७१ रन
दुई ब्याटरले शतक प्रहार गरेपछि एसीसी प्रिमियर कपमा यूएईले कीर्तिमान बनाउँदै ४७१ रन जोडेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार सिंगापुर विरुद्धको खेलमा यूएईले १० विकेटको क्षतिमा ४७१ रन बनाएको हो। यो यूएईको अहिलेसम्मकै उच्च स्कोर हो।
यससँगै यूएई एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने तेस्रो टोली बनेको छ। यसअघि गत वर्ष इङ्ल्यान्डले नेदरल्यान्ड्स विरुद्ध चार विकेटको क्षतिमा ४९८ रन बनाएको थियो। यो एकदिवसीय क्रिकेटमा सबैभन्दा उच्च स्कोर हो।
त्यस्तै, दोस्रो उच्च स्कोरको रेकर्ड पनि इङ्ल्यान्डकै नाममा छ। सन् २०१८ मा अस्ट्रेलिया विरुद्ध ६ विकेटको क्षतिमा ४८१ रन बनाएको थियो। यूएई तेस्रो उच्च स्कोर बनाउने टोली भएको छ।
यूएईका लागि प्रारम्भिक ब्याटर मोहम्मद वासीमले १६० र भृत्य अरविन्दले १७४ रन बनाए। वासीमले ८२ बलमा नौ चौका र १६ छक्का प्रहार गरे भने अरविन्दले १३३ बलमा १७ चौका र सात छक्का प्रहार गरे।
त्यस्तै, अजय अफजल खानले ७४ र सचित शर्माले १६ रन बनाए। सिंगापुरका लागि अद्वित्य भार्गवले चार, रमेश कलिमुथुले तीन, विनोद बास्करणले दुई र मनप्रीत सिंहले एक विकेट लिए।
नेपाल रहेको समूह ‘ए’ मा मलेशिया, ओमन, कतार र साउदी अरब छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत, सिंगापुर र यूएई छन्।
यसअघि खेलेका दुवै खेल जितेको नेपालले सोमबार साउदी अरबसँग प्रतिस्पर्धा गर्नेछ। एसीसी प्रिमियर कपको विजेता टोलीले एशिया कप खेल्न पाउनेछ।